काठमाण्डौ । सार्वजनिक निश्कासनमा अब न्यूनतम १० कित्ताका लागि आवेदन गरे पुग्नेछ । 

यसअघि न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था परिमार्जन गर्दै धितोपत्र बोर्डले न्यूनतम कित्तालाई न्यूनतम सेयर पाइने कित्ताकै बराबरीमा झारेको हो । 

सार्वजनिक निश्कासनमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था भए पनि धेरै आवेदन परेको खण्डमा गोलप्रथाबाट प्रति आवेदक १० कित्ता मात्रै सेयर पाउँथे । न्यूनतम आवेदन दिने कित्ताको सीमा र न्यूनतम सेयर पाउने सीमाबीच तालमेल नमिलेको भन्दै लामो समयदेखि यो व्यवस्था परिमार्जनको माग उठ्दै आएको थियो । 

बोर्डले न्यूनतम १० कित्ताको व्यवस्था लागू गरेसँगै यसबाट कम पूँजी हुने विद्यार्थी र विपन्न वर्गहरुले समेत सेयरमा लगानी गर्न सक्नेछन् । किनभने आइपीओमा लगानी गर्दा रु. १ हजार रुपैयाँ भए पुग्नेछ । 

बोर्डका प्रवक्ता निरज गिरीले स–साना पूँजी भएका वर्गको पूँजीबजारमा पहँुच बढाउने र यसलाई समावेशी बनाई यो बर्षको ‘एक नेपाली एक डिम्याट खाता’ अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले सार्वजनिक निश्काशनमा न्यूनतम १० कित्ता पनि आवेदन गर्न पाउने व्यवस्था गरिएको प्रष्ट्याएका छन् । 

बोर्डले यो व्यवस्थालाई तत्काल कार्यान्वयन गर्न सम्बन्धित सबै निष्काशन तथा बिक्री प्रबन्धक मर्चेन्ट बैंकरहरुलाई परिपत्र समेत गरेको छ ।

बोर्डले यसअघि उपलब्ध भएसम्म सबै आवेदकहरुले १० कित्ता शेयर पाउने समावेशी वितरण प्रणाली र आश्वा व्यवस्था २०७३ साल देखि लागू गरेको थियो । यो व्यवस्थापछि काठमाडौं बाहिर सहित देशैभर साना तथा आम लगानीकर्ताको सहभागिता बढ्दै गएको गिरीको दाबी छ ।