काठमाण्डौ । सूर्योदय लघुवित्त बित्तीय संस्थाले खुलाएको १ करोड २० लाख मूल्यको आइपीओमा तेश्रो दिनसम्ममा करिब १ सय ५४ गुणा बढी आवेदन परेको छ । मागभन्दा अत्यधिक बढी आवेदन परेपछि कसलाई कति कित्ता सेयर पर्छ भन्ने बिषय कठीन बनेको छ । 

एकसय रुपैयाँ अंकित मूल्यको १ लाख २० हजार कित्ता आइपीओ खुलाउँदा मंगलबारसम्म ५८ हजार ३ सय ९६ वटा आवेदन परेको हो । यो अवधिमा कुल १ अर्ब ८५ करोड ७५ लाख रुपैयाँ बराबरको आवेदन परेको बताइएको छ । 

आइतबारदेखि आवेदन मागिएकोमा हरेक दिन ठूलो संख्यामा आवेदन परेको हो । 

आइपीओको बिक्री प्रबन्धकको काम गरिरहेको ग्लोबल आइएमई क्यापिटल लिमीटेडका अनुसार आइतबार र सोमबार गरी दुई दिनको अवधिमा करिब ९६ करोड रुपैयाँ बराबरको आवेदन परेको थियो । आइतबार र सोमबार क्रमशः ३७ करोड ४१ लाख र ५७ करोड ९० लाखको आवेदन परेकोमा मंगलबार ९० करोड ६६ लाख बराबरको आवेदन परेको बताइएको छ । 

अन्तिम दिन बुधबार भएकोले अन्तिमसम्ममा निकै धेरै आवेदन पर्नसक्ने देखिएको छ । 

इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने छन् । 

यो माइक्रोफाइनान्स कम्पनीले ४ हजार ८ सय कित्ता सेयर आफ्ना कर्मचारीका लागि, ६ हजार कित्ता ७ वटा सामूहिक लगानी कोषका लागि र बाँकी १ लाख ९ हजार २ सय कित्ता सर्वसाधारणका लागि छुट्याएको छ । 

आइपीओको निश्कासन तथा व्यवस्थापनका लागि ग्लोबल आइएमई क्यापिटल लिमीटेड बिक्री प्रबन्धकको रुपमा रहेको छ । 

यो माइक्रोफाइनान्सले चुक्तापूँजीमा यो आइपीओबाट १ करोड २० लाख रुपैयाँ उठाउने योजना बनाएको हो । हाल यो कम्पनीको चुक्तापूँजी २ करोड ८० लाख रुपैयाँ रहेको छ । आइपीओपछि चुक्तापूँजी ४ करोड पुग्नेछ । कम्पनीको अधिकृत पूँजी ८ करोड रुपैयाँ रहेको छ । 

आइपीओपछि कम्पनीमा प्रोमोटर पब्लिक सेयर अनुपात ७० र ३० प्रतिशतको कायम हुनेछ । 

यो लघुवित्तको मुख्य कार्यालय स्याङ्ग्जाको पुतलीबजारमा अवस्थित छ । यो कम्पनीले बाग्लुङ, म्याग्दी, पर्वत, मनाङ, लमजुङ, मुस्ताङ, गुल्मी, प्यूठान र रोल्पामा समते काम गरिरहेको छ ।