काठमाण्डौ । संस्थागत र ठूला लगानीकर्ताले ठूलो लगानी गरी कुनै पनि संगठित संस्थाले निश्कासन गरेको प्राथमिक सेयरको ठूलो हिस्सा हडप्ने र साना लगानीकर्ता भगवान भरोसामा बस्नुुपर्ने दिनको अन्त भएको छ । 

नेपाल धितोपत्र बोर्डले धितोपत्र निश्कासन तथा बाडफाँड निर्देशिक लागू गर्दै साना लगानीकर्ता मालामाल हुने व्यवस्था कार्यान्वयनमा ल्याएको हो । 

बोर्डको व्यवस्थाअनुसार अब साना लगानीकर्ताहरुलाई चिठ्ठाको माध्यमबाट  ४० प्रतिशत र ठूला लगानीकर्तालाई ६० प्रतिशत धितोपत्र बाँडफाँड हुने यसअघिको अन्यायी नियम समेत खारेज भएको छ । 

अब आस्वा प्रणाली साउनदेखि अनिवार्य हुने र त्यसपछि आइपीओमा आवेदन दिने सबै आवेदकलाई कम्तीमा १० कित्ता सेयर दिनैपर्ने नयाँ व्यवस्था गरिएको छ । यसबाट आइपीओमा आवेदन दिएका साना लगानीकर्ताले चिठ्ठाको भर पर्नुपर्ने अवस्थाको अन्त भएको छ भने यसले ठूला तथा संस्थागत लगानीकर्ताहरुको दादागिरी र आइपीओ हडप्ने प्रवृतिको समेत अन्त हुने धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले बताए । 

उनले आइपीओमा सर्वसाधारणले मात्र आवेदन दिन पाउने व्यवस्थामा चिठ्ठा प्रणालीको पनि अन्त भएपछि यसले धेरै सर्वसाधारणलाई बजारमा भित्र्याउने दाबी समेत गरे ।