काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सार्वजनिक निश्कासनको आवेदन दिंदा 'ओटीपी'(वान टाइम पासवर्ड)को सट्टा 'पिन कोड'को व्यवस्था गरेको छ ।

'मेरो सेयर' पोर्टलमा रहेको माइ आस्वामार्फत सार्वजनिक निष्कासन भएका धितोपत्र खरिद आवेदन प्रविष्ट गर्दा ओटीपीलाई प्रतिस्थापन गर्दै पिन (पर्सनल आइडिन्टिफिकेसन  नम्बर)को व्यवस्था गरिएको सिडिएससीले जानकारी दिएको छ ।

'मेरो सेयर'मा पहिलो पटक लगइन गर्दा अनिवार्य फोर डिजिटको 'पिन कोड' सेट गर्नुपर्ने सिडिएससीको भनाइ छ । 'मेरो सेयर' प्रयोगकर्ताले अब उप्रान्त सार्वजनिक निष्कासन भएका धितोपत्रको खरिदका लागि आवेदन दिंदा अनिवार्य 'पिन कोड' प्रयोग गर्नुपर्ने सिडिएससीले जनाएको छ ।

नयाँ तथा पुराना प्रयोगकर्ताहरुले 'मेरो सेयर' पोर्टल खोल्ने बित्तिकै 'पिन कोड' सेट गर्नका लागि अनुरोध आउने सिडिएससीका प्रवक्ता सुरेश न्यौपानले जानकारी दिए । 

'ओटीपीभन्दा पिन कोड सुरक्षित हुने भएकाले नयाँ व्यवस्था गरेका हौं',उनले बिजशालासँग भने-'ओटीपीले सिस्टममा समेत अनावश्यक भार परेका कारण हामीले पिन कोडको नयाँ व्यवस्था सुरु गरेका हौं।' 

पिन कोड पनि एक निश्चित समयपछि (१८० दिनपछि) परिवर्तन गर्नुपर्ने उनको भनाइ छ।