काठमाण्डौ । चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म आउँदा आइसीएफसी फाइनान्स धराप बनेको छ । यो कम्पनीका कुनै पनि सूचक त्यस्ता  आशालाग्दा छैनन्,  जसलाई हेरेर लगानीकर्ताले चित्त बुझाउन सकून् वा आशावादी बन्न सकून् । 

समीक्षा अवधिमा यो कम्पनीको खूद नाफातर्फ ५३ प्रतिशत भन्दा बढीले पहिरो गएको छ भने संचालन मुनाफा पनि ४१ प्रतिशतले घटेको छ । 

जगेडाकोष २०.३० प्रतिशतले खिइएको छ भने खराब कर्जा पनि बढेको छ । खूद ब्याज आम्दानी घटेर चौपट बनेको छ भने नाफा घटेपछि  प्रतिसेयर आम्दानीमा  ५७.३८ प्रतिशतको भीषण पहिरो गएको छ । 

चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म यो फाइनान्स कम्पनीले ८ करोड  मात्र खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा यस्तो नाफा १७ करोड २३ लाखको उचाईमा थियो ।

अघिल्लो वर्ष यही अवधिमा २६ करोड ५६ लाख रहेको खूद ब्याज आम्दानी घटेर १८ करोड ६७ लाखमा सीमित भएको छ भने १६ करोड १७ लाख रहेको संचालन मुनाफामा पहिरो गई ९ करोड ५३ लाखमा सीमित बन्न पुगेकोछ । 

यस्तै, अघिल्लो वर्ष यही अवधिमा ३३ करोड ३१ लखको उचाईमा रहेको जगेडाकोष घटेर २६ करोड ५४ लाखमा झरेको छ । 

समीक्षा अवधिमा यो फाइनान्स कम्पनीले ८ अर्ब ७ करोड निक्षेप संकलन गरी तथा ६२ करोड ७१ लाख सापटी लिई ६ अर्ब ५१ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष भन्दा निक्षेप २५ प्रतिशतले, कर्जा २१ प्रतिशतले बढेको छ भने सापटीतर्फ भने ३१.२६ प्रतिशतको गिरावट आएको छ ।

यस्तै, ०.५४ प्रतिशतको अनुपातमा रहेको खराब  कर्जा बढेर  ०.५६ प्रतिशतको उचाईमा पुगेको छ भने वार्षिकीकृत प्रतिसेयर आम्दानीतर्फ ५७.३८ प्रतिशतले गिरावट आई २८.६६ रुपैयाँबाट तल झरी १२.२१ रुपैयाँमा सीमित बन्न पुगेको हो । 

कम्पनीको प्रतिसेयर नेटवर्थ १३०.०९ रुपैयाँ र मूल्य आम्दानी अनुपात १४.९८ गुणा कायम भएको छ ।