काठमाण्डौ । स्टक ब्रोकरहरुले डेटा सेन्टर र ट्रेडिङ मेनेजमेन्ट सिस्टम (टीएमएस) मा लगानी गर्न इक्छुक नहुँदा अनलाइन कारोबार प्रणाली नै दुर्घटनाउन्मुख भइरहेको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) द्वारा हिजो सोमबार प्रकाशित तथ्यांकअनुसार ५ महिनामै १३ हजार नयाँ अनलाइन युजर बढेर ३४ हजार हाराहारीमा अनलाइन कारोबारी पुगेका छन्। आगामी दिनमा यो संख्यामा बढोत्तरी हुने र पछिल्लो समय दोस्रो बजारमा नवप्रवेशी लगानीकर्ताको आगमन पनि निक्कै बाक्लिएको छ। दोस्रो बजारमा सेयर खरिदबिक्री गर्न आउनेको संख्यामा भएको भारी वृद्धिसँगै टीएमएस र डेटासेन्टरको क्षमता नबढेकाले समेत निकट समय दुर्घटनाउन्मुख रहेको हो। 

सेयर खरिदबिक्री आदेश प्रविष्टी गर्न टीएमएसमार्फत दिइएको कमान्ड कार्यान्वयन गर्न पावरफुल डिभाइसका रुपमा सर्भर राख्दामात्रै समस्या हल हुने आईटी जानकारहरु बताउँछन्। पछिल्लो समय लगानीकर्ताको बढ्दो संख्यासँगै अनलाइन कारोबार प्रणालीअन्तर्गतको टीएमएसमा समस्या थप भई ठूलो दुर्घटना हुने देखिएको सेयर बजार सचेतक दीपक दाहाल बताउँछन्। नियामकले डेटा सेन्टर र टीएमएसमा ब्रोकरलाई छाडा छोडिदिँदा सेयर कारोबार गर्न दिनहुँजसो समस्या आइरहेको दाहालको गुनासो छ। 

नियामकले समेत लगानीकर्ताको हितका लागि ब्रोकरलाई अनिवार्य रूपमा आईटीमा थप लगानी गर्न र प्रविधिको अनुगमन तथा निरीक्षणमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) र नेपाल धितोपत्र बोर्ड (सेबोन) चुक्दा ब्रोकरले त्यसको फाइदा उठाइरहेको दाहालको दाबी छ। 

ब्रोकरहरुले नै टीएमएस बनाउनुपर्ने दायित्व भए पनि नेप्सेले नै बनाइदिएको थियो। ब्रोकरहरुले टीएमएस बनाइदिने वाइको प्रालिलाई प्रतिब्रोकर २५ हजार रुपैयाँमात्रै भुक्तानी गर्दै आइरहेका छन्।

टीएमएस बनाउने बेलामा ब्रोकरहरुले आनाकानी गरेपछि नेप्से आफैंले बनाइदिएको नेप्सेका सीईओ चन्द्रसिंह साउद दाबी गर्छन्। मजबुत डेटा सेन्टर बनाउन निर्देशन दिँदा ब्रोकरले १.५ करोड खर्च गर्न पन्छिएपछि सेयर हबकै डेटा सेन्टर मासिक २५ हजार तिर्ने सर्तमा ब्रोकरहरुले चलाउँदै आइरहेका छन्।

सेयर खरिदबिक्री गर्दा नेप्सेको अनलाइन प्रणालीमा नभई ट्रेडिङ मेनेजमेन्ट सिस्टम र डेटा सेन्टरबीच डेटा म्याचिङमा समस्या आइरहेकोले समेत हिजोआज समस्याहरु थप जटिल बन्दै गइरहेका हुन्। 

नेप्सेको अनलाइन प्रणालीको सिस्टम भेन्डर कम्पनी वाइको प्रालिका सीईओ दीपेश प्रधानसमेत ब्रोकरले आफ्नै टीएमएस र डेटा सेन्टर बनाउन जोड दिन्छन्। ‘मैले उहाँहरुलाई नट्समा डेटा म्याचिङ गर्दा बलियो सर्भर राख्न भनेको छु अनि लगानीकर्तालाई सेवा दिन अपग्रेडेड टीएमएस राख्नुपर्नेबारे पनि बताइसकेको छु’, उनले बिजशालासँग भने। 

ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाट अब ब्रोकरहरु आफैँ टीएमएस र डेटा सेन्टर बनाउने दाबी गर्छन्। तर अधिकांश ब्रोकरहरु भने नयाँ टीएमएस र डेटा सेन्टरमा थप लगानी गर्न भने तयार नभएको बताउँछन्। ‘बिजनेस भोलि के हुने हो ? अब सेयर खरिदबिक्री गर्नमात्रै हामी ब्रोकरले किन खर्च गर्ने ?’, एक ब्रोकरले बिजशालासँग आक्रोशित मुद्रामा भने। 

अन्तर्राष्ट्रिय प्रचलनअनुसार टीएमएस र डेटा सेन्टर ब्रोकर स्वयंले बनाउनुपर्ने हुन्छ। तर नेपालका स्टक ब्रोकरहरु भने तदर्थ काम गर्दै सूचना तथा प्रविधिमा लगानी गर्नुपर्दा भने पछि हट्दै आइरहेका देखिन्छन्। 

आईटी जानकारका अनुसार एउटा राम्रो टीएमएस बनाउन मोडालिटीअनुसार औसतमा ३० लाख रुपैयाँ र डेटा सेन्टरका लागि मोडालिटीअनुसार १.५ देखि २ करोड रुपैयाँ लागत पर्दछ। तर आगामी १० वर्षको योजना बनाउने हो भने व्ययभार थपिने बताइन्छ। यति धेरै लगानी गर्न ब्रोकरहरु अहिले हिच्किचाइरहेका छन्। 

उपयुक्त मापदण्डअनुसार ब्रोकरलाई टीएमएस बनाउन नेप्से चाँडै आईटी पोलिसीबाट निश्चित शुल्क लिई दिने योजना छ। नेप्सेका सीईओ साउदका अनुसार यही साता नेपाल धितोपत्र बोर्डबाट आईटी पोलिसी पास भएर आएको भोलिपल्टै एपीआई दिने जिकिर गरे। ‘नेप्सेले तयार गरेको २–३ वटा मोडालिटीअनुसार नै ब्रोकरलाई एपीआइ दिइने र नेप्सेको न्यूनतम मापदण्डलाई मिलान हुने गरी अब ब्रोकरले टीएमएस बनाउनुपर्छ’, साउदले भने। 

ब्रोकरले आफ्नै टीएमएस बनाइसकेपछि हाराहारी ७० वटा बैंक तथा वितीय संस्थाहरुलाई टीएमएसमा इन्ट्रिगेट गर्न सक्नेछन्। आफ्ना लगानीकर्तालाई सुविधा दिन ब्रोकरले नै टीएमएसमा बैंक खाता इन्ट्रिगेट गर्नुपर्ने दायित्व हो। बैंक इन्ट्रिगेसन भइसकेपछि मात्र लगानीकर्ताहरुको बैंक खाता सोझै सिस्टममा आवद्ध हुन्छ। त्यसपछि भनेपूर्ण अनलाइन कारोबार प्रणालीले मूर्त रूप लिन्छ।