-राजु पौडेल
नेपालको पूँजीबजारको इतिहास दुई दशकभन्दा लामो छैन । हामी सँगै सुरु भएका छिमेकी मुलुकका पुँजीबजार धेरै माथि पुगिसकेका छन् । ती मुलुकले पुँजीबजारको बिकासका लागि आवश्यक सम्पूर्ण पूर्वाधारनिर्माण गरिसकेका छ्न् । आज तिनीहरुको पुँजीबजार अन्तर्राष्ट्रिय स्तरको र पूर्ण प्रविधिमैत्री भइसक्दा पनि हाम्रो पुँजीबजार धेरै मन्द गतिमा अगाडि बढ्दैछ । हामी उनीहरुभन्दा धेरै तल छौ  । उनीहरुले सगरमाथाको चुचुरो चुमिसक्दा हामी नाम्चेबजारतिर रुमल्लिदै छौ । हामीभन्दा धेरै पछि सुरुवात भएको म्यानमारको पुँजीबजार पनि आज धेरै माथि पुगिसकेको अवस्था छ । अहिलेसम्म पनि हाम्रो पुँजीबजार न त पूर्ण रुपमा प्रविधिमैत्री हुन सकेको छ न त अन्तर्राष्ट्रिय स्तरको नै हुन सकेको छ । हुन त नेपाल लामो समयसम्म राजनीतिक अस्थिरताबाट गुज्रियो, जसका कारण देशको आर्थिक विकास हुन सकेन । निजीकरणको नाममा देशमा भएका उद्योगधन्दा बेचेर सिध्याइयो । 

भनिन्छ पुँजीबजार अर्थतन्त्रको ऐना हो, जबसम्म अर्थतन्त्र सबल हुँदैन तबसम्म पुँजी बजारको विकास पनि हुँदैन । अर्कोतिर जबसम्म पुँजी बजार बलियो हुँदैन, तबसम्म अर्थतन्त्र पनि सबल हुँदैन । देश लामो राजनीतिक अस्थिरताबाट गुज्रिदा देशको अर्थतन्त्र सबल हुन सकेन । अर्थतन्त्र सबल नहुदा पुँजीबजारको विकास पनि अपेक्षित भएन । नेपालको पुँजीबजारको जुन गतिमा विकास हुनु पर्ने थियो, त्यो गतिमा बिकास हुन नसके पनि केही कुरामा बिकास भएको छ । केही महिना अघिसम्म घण्टौ लाईनमा बसेर आईपिओ र एफपिओ भर्नुपर्ने बाध्यताको अन्त सीआस्वा प्रणालीको सुरुवात सँगै भएको छ भने डिम्याट खाताको  सुरुवातसँगै सेयरका कागजी प्रमाणपत्र बोकेर हिँडनुपर्ने झन्झटबाट लगानीकर्ताले मुक्ति पाएका छन् । 

जसरी नेपालको प्राथमिक सेयर बजारले एउटा छ्लाङ मार्न सफल भएको छ । त्यो गतिमा दोस्रो बजारमा विकास हुन सकिरहेको छैन । अहिले पनि पचासवटा ब्रोकर कम्पनीको सिन्डिकेटमा खरबौको दोस्रो बजार चलिरहेको छ । देशका सीमित ठूला सहरमा मात्र सेयर कारोवार हुँदै आइरहेको छ । अहिलेसम्म पनि सबै नेपाली जनताको पहुँचमा पुँजीबजार पुग्न सकिरहेको अवस्था छैन । नेपाली लगानीकर्ताहरुले आईपिओ र एफपिओ सीआस्वाको प्रयोग गरी जहाँबाट पनि भर्न पाउने भए, तर आइपीओ र एफपीओमा परेको सेयरको दोस्रो बजारमा उचित मूल्य आउँदा पनि बेच्न पाउने सुबिधा अहिलेसम्म पाउन सकिरहेका छैनन् । यस्तो अवस्थामा नेपाल सरकार, अर्थमन्त्रालय, राष्ट्रबैंक, बिमा समिती, धितोपत्र बोर्ड र नेप्सेले समन्वयकारी भूमिका खेल्दै नेपालको पुँजीबजार पुर्वाधारको विकासमा जोड दिने हो भने  हाम्रो देशको पुँजीबजार पनि छिट्टै अन्तर्राष्ट्रिय स्तरको र प्रविधिमैत्री हुनसक्छ । हरेक बादलभित्र चाँदीको घेरा हुन्छ भने जस्तै हाम्रो पुँजीबजारको विकास र विस्तारका लागि धेरै सम्भावना अगाडि आएका छन् । ती संभावनाहरु यथार्थमा परिणत भएका दिन पूँजीबजारका लागि साच्चिकै स्वर्णिम दिन हुनेछन् ।

हामीले धेरै लामो समयदेखि सेयर बजार पूर्ण प्रविधिमैत्री हुनुपर्ने र छिट्टै अनलाइन कारोबार प्रणालीको सुरुवात हुनुपर्ने माग उठाउँदै आएका छन् । हरेक नेपालीको पहुँचमा सेयरबजार पुग्नुपर्ने अर्को माग समेत हाम्रो रहिआएको छ । आजको दिनमा हाम्रा महत्वपूर्ण यिनै दुई माग पूरा हुने क्रममा छन् । साउन १ गतेदेखि नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको सफलतापूर्वक परीक्षण गदैृछ भने मौद्रिक नीतिमार्फत बैंकहरुले चाहेको खण्डमा सहायक कम्पनी स्थापना गरी धितोपत्र दलालको काम गर्न पाउने नीतिगत व्यवस्था भएको छ । 

यी दुई कुराहरूको कार्यान्वयन सँगै नेपालको सेयर बजारले एउटा छ्लाङ मार्न सफल हुनेछ भन्ने आशा हामीमा छ । अनलाइन कारोबार प्रणालीको सुरुवात र बैंकलाई ब्रोकर लाइसेन्स दिनु भनेको नेपाली पुँजीबजारको विकासका लागि कोषेढुङ्गा सावित हुनु हो । 

भारतीय सेयर बजारमा सन २००० को दशकबाट अनलाइन कारोबार प्रणालीको सुरुवात भएको देखिन्छ । अनलाइन प्रणालीको सुरुवात सँगै भारतीय सेयरबजारले ठूलो फड्को मारेको देखिन्छ । भारतमा अनलाइन प्रणालीबाट सेयर कारोवार सुरु भएपछि कारोवारमा आवद्ध हुने लगानीकर्ताहरुको संख्या तथा कारोवार रकममा भारी वृद्धि भएको देखिन्छ । अनलाइन प्रणालीबाट कारोवार सुरु भएको पहिलो वर्षमा त्यहाँको बजार सूचक झण्डै ६० प्रतिशतले वृद्धि भएको देखिन्छ । अहिले भारतीय सेयरबजार  विश्वकै टप पाँच सेयरबजारमा पर्छ । भारतीय सेयरबजारले अनलाइन कारोबार प्रणाली कार्यान्वयनसँगै निकै ठूलो फड्को मार्न सफल भएको देखिन्छ । अहिले भारतको एनएसइ र बिएसइको सूचक ३६००० माथि पुगिसकेको छ ।  यसबाट के देखिन्छ भने नेपालको सेयर बजारमा समेत अनलाइन प्रणालीको सुरुवात भएपछि बजार बढ्ने सुनिश्चित छ । 

जब-जब नेपाली पुँजीबजारमा नयाँ-नयाँ  प्रविधिको प्रयोग भएको छ, तब तब बजारले एउटा नयाँ इतिहास रचेको छ । जस्तै २०६४ सालमा ओपन क्राइ प्रणालीबाट नेपाली पुँजीबजार कम्प्युटर प्रणालीमा प्रवेश गर्यो, तब बजारले २०६५ साल भाद्र १५ गते नेप्से सुचक ११७५ पुगेर नयाँ इतिहास रच्यो । यसैगरी, २०७३ साल श्रावण १ देखि उपत्यका र २०७३ माघ १ देखि देशभरी डिम्याट प्रणालीलाई अनिवार्य गरियो, तब नेपालको सेयर बजारले २०७३ साल श्रावण १२ गते १८८१ अंकको ऐतिहासिक उचाई चुम्यो । यसरी नयाँ प्रबिधिको प्रयोगसँगै नेपाली सेयर बजारले एउटा नयाँ इतिहास रचेको देखिन्छ ।

अब २०७५ श्रावण १ देखि अनलाइन प्रणालीको सुरुवात हुँदैछ । माथिको इतिहास र त्यसपछि बजारको अवस्थालाई नै आधार मान्ने हो भने  अबको एक वर्ष भित्रमा नेपालको सेयर बजारले फेरि अर्को इतिहास निर्माण गर्न सफल हुनेछ भन्ने बलियो आधार हामी सामुन्ने छ ।

अहिलेसम्म नेपालको सेयर कारोवार अफलाइनबाट हुँदै आएको थियो भने अब श्रावण १ गतेदेखि अनलाइनबाट सुरु हुँदैछ । यो प्रणालीको सुरुवात सँगै नेपाल अधिराज्यभर र संसारको जुनसुकै कुनाकाप्चामा बस्ने नेपाली नागरिकले त्यही बसी बसी ब्रोकर कम्पनीले लगानीकर्तालाई उपलब्ध गराउने सफ्टवेर, युजर नेम र पासवर्डको प्रयोग गरी कम्प्युटर तथा मोबाईलको सहायतामा ईन्टरनेट मार्फत दोस्रो बजारमा सेयरको कारोवार गर्न सक्नेछ्न् । यो कुरा भनेको जुनसुकै कुनामा बस्ने नेपाली नागरिकका लागि अति खुशीको कुरा हो । 

नेपाली पुँजीबजारको अर्को महत्त्वपूर्ण उपलब्धि भनेको बैंकलाई ब्रोकर लाइसेन्स दिने कुरा हो । भर्खर प्रस्तुत भएको मौद्रिक नीतिमा सम्बन्धित बाणिज्य बैंकको सहायक कम्पनी स्थापन गरी सेयर कारोवार गर्नसक्ने व्यवस्था मिलाइनेछ भनिएको छ । यसको अर्थ बाणिज्य बैंकले सेयर कारोबार गर्न खुल्ला गरिएको छ । बाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिने बित्तिकै अहिले भएका ५० ओटा ब्रोकर कम्पनीको सिन्डिकेट तोडिनेछ र ब्रोकर कम्पनीबीचमा स्वस्थ् प्रतिस्पर्धा वृद्धि भर्इ लगानीकर्ताहरुले गुणस्तरीय सेवा पाउनेछ्न् । बैंकले ब्रोकर लाइसेन्स पाउँदा साथ नेपालको सेयरबजार ७५३ स्थानीय तहमा पुग्नेछ । त्यस पछि नेपालको सेयर बजार पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, हिमालदेखि तराईसम्मका जनताको पहुँचमा पुग्नेछ ।  बैंकसँग पर्याप्त स्रोत साधन र पहुँच रहेका हुँदा दुर्गम स्थानसम्म सेयरबजारलाई पुर्याउन सजिलो हुनेछ, जुन काम गर्न ब्रोकर कम्पनीलाई कठिन हुनेछ । यसरी अनलाइन प्रणालीको सुरुवात र बैंकलाई ब्रोकर लाइसेन्ससँगै नेपालको सेयर बजारले ठूलो छलाङ मार्न सफल हुने विश्वास गर्न सकिन्छ ।

यी दुई प्रमुख परिवर्तन बाहेक पुँजी बजारको विकासका लागि धितोपत्र बोर्डले आगामी आर्थिक बर्षको आफ्नो नीति तथा कार्यक्रममा धेरै राम्रा कुराहरू ल्याएको छ । यी प्रमुख कुराहरु बाहेक अब नेपालको सेयर बजार सुनौलो युगमा प्रवेश गर्ने अन्य विविध आधारहरु पनि छ्न् । जस्तै: गैरआवासीय नेपालीहरुलाई नेपाली पुँजी बजारमा स्वागत गर्ने ऐन नियम बन्दैछ । सेयर बजारको प्रमुख दुश्मन ब्याजदर घटाउन भर्खर प्रस्तुत मौद्रिक नीतिमा धेरै राम्रा कुराहरु आएका छ्न् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना मन्त्री तथा सचिवहरुलाई साउन १ गतेदेखि  बजेट कार्यान्वयन गर्न निर्देशन दिइसकेका छन् । सुरुवातदेखि नै हुने बजेट कार्यान्वयन सँगै बैंकहरुमा तरलताको समस्या समाधान भर्इ ब्याजदर घट्न सुरु हुनेछ । ब्याजदर घट्न सुरु हुनु भनेको सेयरबजार बढ्न सुरु हुनु हो । मार्जिन कलको सीमा बढेको छ । सामान्य रुपमा हेर्दा मौद्रिक नीतिले मार्जिन कलको सीमा ५० प्रतिशत नै राखेको बुझिन्छ , तर २० प्रतिशत मूल्य घट्दा समेत बैंकहरुले लगानीकर्तालाई मार्जिन कल गर्न नपाउने व्यवस्थाले मार्जिन कलको सीमा एकहिसाबले ६० प्रतिशत नै पुगेको महसुस भएको छ । मलाई लाग्छ आगामी दिनमा नेप्से अहिलेको अवस्थाबाट २० प्रतिशत घट्ने अवस्था छैन र आउने छैन । 

बजार निर्माताले छुट्टै विन्डो पाएपछि मात्र  बजारमा प्रवेश गर्ने भनेकोमा अनलाइन कारोबार प्रणाली आएपछि यो कुरा पनि संभव हुने भयो । अब बजार निर्माताको रूपमा नागरिक लगानीकोषलाई भित्राउने अन्तिम तयारी हुँदैछ । अक्सन ट्रेडिङ र सेटलमेन्ट फन्ड शुरु हुने कुरा आएको छ । भ्याट र प्यानको हौवा सधैंका लागि समाप्त भएको छ । यस्ता विविध सकारात्मक काम नेपाली पुँजीबजारमा छिट्टै नै सुरु हुँदैछ्न् । यस्ता विविध सकारात्मक कुराहरू हुने भएपछि लगानीकर्ताको मनोबल बढ्ने नै छ ।

त्यसकारण अब नेपाली पुँजीबजारले एउटा नयाँ इतिहास रच्ने सम्भावना छ । यो प्राबिधिक काम अनलाइन कारोबार प्रणाली र बैंकलाई ब्रोकर लाइसेन्स वितरणसँगै नेपाली सेयर बजारमा एउटा  ब्रेक थ्रु हुनेछ र अबको  एक बर्ष भित्र नेप्सेले नयाँ उचाई बनाउने सुनिश्चित छ । तसर्थ, लगानीकर्ताहरुले अरुको लहैलहैमा तथा केही आधारहीन समाचार पस्किने अनलाइनहरुको पछि नलागी  आफ्नो विवेक प्रयोग गरी कारोबारमा सहभागी हुनुपर्छ । नेपाली सेयर बजारका अबका दिनहरु अति नै सुनौला छ्न् । एउटा कुरा यत्ति हो, बजारको बिषयमा अर्थमन्त्रीले नकारात्मक टिप्पणी वा अभिव्यक्ति व्यक्त नगरिदिए काफी छ । 
(लेखक नेपाल पुँजीबजार लगानीकर्ता संघका कोषाध्यक्ष हुन् ।)