काठमाण्डौ । सेयरमा लगानी गर्ने सोंचमा हुनुहुन्छ ? त्यसो हो भने पैसा जोहो गर्दै गर्नुुहोस्, निकट भविष्यमै ८ कम्पनीहरुले सर्वसाधारणहरुले समेत लगानी गर्न मिल्ने गरी सेयरको प्राथमिक निश्कासन(आइपीओ) र अतिरिक्त निश्कासन(एफपीओ) गर्दैछन् । चार लघुवित्त संस्था, २ जलविद्युत आयोजना, एक बिमा कम्पनी र एक वाणिज्य बैंकले निकट भविष्यमै आइपीओ र एफपीओ जारी गर्न लागेका हुन् । 

यी ८ कम्पनीहरुले नेपाल धितोपत्र बोर्डमा आइपीओ र एफपीओका लागि आवेदन दिएका छन् । परेका आवेदनहरुमाथि बोर्डले अध्ययन थालेको छ र ती सबै कम्पनीहरुले निकट भविष्यमै कुल ८१ लाख ३ हजार कित्ता सेयरको आइपीओ र एफपीओ गर्नेछन् । 

समता माइक्रो फाइनान्स बित्तीय संस्था, फरवार्ड कम्युनिटी बित्तीय संस्था, स्वदेशी लघुवित्त बित्तीय संस्था, महुली सामुदायिक लघुवित्त बित्तीय संस्था, सिनर्जी पावर कम्पनी लिमीटेड, यूनाइटेड मोदी हाइड्रोपावर कम्पनी लिमीटेडले आइपीओ जारी गर्न लागेका हुन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल एसबीआई बैंकले चाहि एफपीओ गर्न लागेका हुन् । 

कुन कम्पनीको कति आइपीओ आउँदै ?
फरवार्ड कम्युनिटी माइक्रो फाइनान्स बित्तीय संस्था समेत आइपीओको पाइपलाइनमा छ । यो माइक्रो फाइनान्स कम्पनीले ६ लाख कित्ता सेयर आइपीओ गर्ने भन्दै आवेदन दिएको हो । कुल ६ करोड रुपैयाँको आइपीओ धितोपत्र बोर्डबाट समयमै स्वीकृत भए पुसभित्रमा जारी गर्ने कम्पनीको योजना छ । यो संस्थाको सेयर आइपीओका लागि नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । यो संस्थाको केन्द्रीय कार्यालय सुनसरीको दुहबीमा छ । सुनसरी, मोरंग र कोशी अञ्चलका अन्य ६ जिल्लाका गरीब तथा विपन्न वर्गमा सेवा दिंदै आएको यो माइक्रो फाइनान्सले सन् २००२ बाट आफ्नो सेवा थालेको थियो । 

यस्तै, महुुली सामुदायिक लघुवित्त बित्तीय संस्था लिमीटेडले १ करोड २० लाख रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता सेयर आइपीओको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । यो कम्पनीले धितोपत्र बोर्डबाट स्वीकृत भएपछि आगामी फागुनभित्रमा सेयरको आइपीओ खुलाउने तयारी गरेको छ । यो माइक्रो फाइनान्सको आइपीओ जारी गर्न तथा त्यसको व्यवस्थापनका लागि एनसिएम मर्चेन्ट बैकिङ लिमीटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । यो कम्पनीले सन् २००० देखि लघुवित्त सेवाको सुरुवात गरेको हो । 

यसैगरी, स्वदेशी लघुवित्त बित्तीय संस्था लिमीटेडले पनि ३ करोड मूल्यको ३ लाख कित्ता सेयर आइपीओको माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । यो कम्पनीले समेत धितोपत्र बोर्डबाट समयमै स्वीकृत प्राप्त हुने र आगामी माघभित्रमा आइपीओ गर्ने योजना बनाएको छ । यसको सेयर आइपीओका लागि एनएमबी क्यापिटल लिमीटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । 

यो संस्था सुुनसरीको इटहरीमा सन् २०१४ डिसेम्बर २४ का दिन स्थापना भएको हो । यो संस्थाको ५ ठाउँमा क्षेत्रीय अफिस रहेको छ र यो राष्ट्रिय स्तरको लघुवित्त संस्था हो । 

यस्तै, बाराको सिमरामा रहेको समता माइक्रो फाइनान्स बित्तीय संस्था लिमीटेडले समेत ९४ हजार ८ सय कित्ता सेयर आइपीओ गर्ने भन्दै बोर्डमा आवेदन दिएको छ । यो कम्पनीको आइपीओ प्रस्ताव बोर्डमा रिभ्यूूको प्रोसेसमा रहेको र सबै आवश्यक प्रक्रिया पूरा भइसकेको बताइएको छ । मंसिरभित्रै स्वीकृति प्राप्त हुने र पुसबाट आइपीओ जारी हुनसक्ने संभावना रहेको छ ।

यसैबीच, दोलखामा १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको सिनर्जी पावर कम्पनी लिमीटेडले २१ करोड रुपैयाँको २१ लाख कित्ता सेयर आइपीओका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीका एक अधिकारीका अनुसार पुस दोश्रो साताभित्र यो जलविद्युत कम्पनीको आइपीओ सर्वसाधारणका लागि खुल्ला गरिनेछ । सानिमा क्यापिटल लिमीटेड यो कम्पनीको आइपीओ जारी तथा व्यवस्थापनमा बिक्री प्रबन्धक तोकिएको छ । 

यसअघि यो कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ७ करोड रुपैयाँको ७ लाख कित्ता सेयरको आइपीओ गरेको थियो । 

यसैगरी, पर्वत जिल्लामा १० मेगावाटको तल्लो १ तथा १०.५ मेगावाटको तल्लो २ मोदी जलविद्यूत आयोजना निर्माण गरिरहेको यूनाइटेड मोदी हाइड्रोपावर लिमीटेडले समेत निकट भविष्यमै १७ लाख २५ हजार कित्ता सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्दैछ । धितोपत्र बोर्डबाट स्वीकृत भएको २ हप्तामै आइपीओ जारी गर्ने कम्पनीको तयारी छ । यो कम्पनीको आइपीओका लागि एनआइबिएल क्यापिटल मार्केट लिमीटेड बिक्री प्रबन्धक तोकिएको छ । यसअघि यो कम्पनीले ११ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आइपीओ गरेको थियो । यूनाइटेड मोदी हाइड्रो पावर लिमीटेडले यसअघि तल्लो मोदी १ जलविद्युत आयोजना निर्माण गरिसकेको छ । 

आउँदैछ एफपीओ पनि
आइपीओ झै एफपीओका लागि समेत सूचिहरु थपिने क्रम जारी छ । हालसम्म दुुई कम्पनीले एफपीओ जारीका लागि स्वीकृति खोज्दै धितोपत्र बोर्डमा आवेदन दिएका छन् । 

तीमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले ३० लाख ९६ हजार ४ सय २९ कित्ता सेयरको अतिरिक्त निश्कासन(एफपीओ) गर्न लागेको छ ।

नेपाल लाइफको एफपीओका लागि बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । कम्पनीको बोर्ड बैठकले एफपीओको प्रिमियम मूल्य तोकिसकेको र बोर्डबाट स्वीकृति पाएलगत्तै एफपीओ जारी हुने बताइएको छ । 

२०७३ जेठ २६ गते बसेको कम्पनीको बोर्ड बैठकले प्रतिकित्ता २९५१ रुपैयाँ प्रिमियम मूल्यमा एफपीओ गर्ने निर्णय गरेको थियो । तर जेठ २८ गते बोर्डले नियामकको अनुमति बिना नै कम्पनीले प्रिमियम मूल्य तोकेको भन्दै नेपाल लाइफको सेयर कारोबार नै रोकेको थियो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ८९ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको छ । यो कम्पनीको चुक्तापूँजी २ अर्ब १६ करोड रुपैयाँ रहेको छ । 

यसैगरी, नेपाल एसबीआई बैंक लिमीटेडले ६७ हजार ७ सय ६७ कित्ता सेयर एफपीओ गर्दैछ । कम्पनीले एफपीओका लागि प्रतिकित्ता सेयरको प्रिमियम मूल्य ९८४ रुपैयाँ तोकेको छ । 

एनएमबी क्यापिटलले एसबीआई बैंकको एफपीओमा बिक्री प्रबन्धकको काम गर्नेछ । हाल एसबीआईको एफपीओ धितोपत्र बोर्डमा रिभ्यूू प्रक्रियामा रहेको र बोर्डबाट स्वीकृत भएको २ हप्ताभित्रै एफपीओ जारी गर्ने योजना रहेको बताइएको छ । 

बैंकले कम्पनीमा रहेको संस्थापक तथा सर्वसाधारण सेयरधनीको सेयर संरचना नेपाल राष्ट्रबैंकको नीति अनुसार मिलान गर्न सर्वसाधारणको नाममा एफपीओ गर्न लागेको हो । हाल बैंकमा संस्थापक सर्वसाधारण सेयर संरचना अनुपात ७०.१२ : २९.८८ प्रतिशत रहेको छ । प्रस्तावित एफपीओ जारी भएपछि सेयर स्वामित्व अनुपात ७०ः ३० प्रतिशत हुनेछ ।