काठमाण्डौ । स्थानीय विकास मन्त्रालयले दाताहरुको सहयोगमा संचालन गरिरहेको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम(एलजिसीडीपी)का लागि देशभरबाट २ सय ९२ अधिकृतका लागि दरखास्त आह्वान गरेको छ ।  

निकै आकर्षक तलब, सेवा सुविधा पाइने यो कार्यक्रमका लागि दोश्रो चरणमा यति धेरै अधिकृतहरु माग गरिएको हो । माग गरिएका अधिकृतहरुले देशभरका २१७ नगरपालिका र ७५ वटा जिल्ला विकास समितिमा कार्यक्रमको फोकल पर्सनको रुपमा कार्य गर्नुपर्नेछ ।    

सूचना प्रकाशित गर्दा अधिकृतहरुले मासिक ३० हजार बेस तलब पाउने, काम गरेको नगरपालिका वा जिविसबाट अन्य सेवासुविधाको सम्झौता हुने र भत्ता तथा अन्य सुविधा समेत गरी मासिक ५० हजार भन्दा बढी पुग्नेछ ।    एलजिसिडीपी कार्यक्रमका लागि देशभरका सबै २१७ नगरपालिका र ७५ वटा जिल्ला विकास समितिमा एकजनाको दरले कार्यक्रम अधिकृत(फोकल पर्सन)का लागि दरखास्त आह्वान गरिएको हो । करार सेवामा काम गर्न इच्छुक र योग्य उम्मेद्वारहरुल्े सम्बन्धित कार्यालयमै गएर दरखास्त फारम भर्न सक्ने र फागुन १९ गतेसम्म दरखास्त दिन सकिने मन्त्रालयले प्रकाशित गरेको सूचनामा उल्लेख छ । फारम भर्दा उम्मेद्वारले एकहजार रुपियाँ शुल्क बुझाउनुपर्नेछ ।    

परीक्षार्थीहरुले लिखित र अन्तरवार्ताको सामना गर्नुपर्नेछ । उम्मेद्वारको योग्यता र अन्य शर्तहरुको बिषयमा एलजिसिडीपी कार्यक्रम कार्यविधि अनुरुप हुने र सोही कार्यविधि अध्ययन गर्न समेत भनिएको छ ।    

उम्मेद्वारहरुले थप जानकारीका लागि सम्बन्धित नगरपालिका वा जिल्ला विकास समितिको कार्यालयबाट पाउने समेत बताइएको छ ।