काठमाण्डौ । बुधबार पनि बजारमा सामान्य सुधार भएको छ । नेप्से परिसूचक ०.९८ अंकले बढेको छ भने कारोबार रकम पनि लगभग स्थिर अवस्थामै देखिएको छ ।

नेप्सेले कार्यान्वयनमा ल्याएको पूर्ण स्वचालित अनलाइन प्रणालीको समस्या समाधान हुँदै गर्दा बजारमा लगानीकर्ताको सहभागिता बढ्दै गएको हो । 

यो दिन बजारका समूहहरुतर्फको प्रदर्शन मिश्रित रह्यो । ३ वटा समूहको सूचकमा बढोत्तरी भयो भने बाँकी समूहको सूचक घटे । 

बैंकिङ समूह २.७८ अंकले बढेको यो दिन विकास बैंक समूह ३.५ अंक र निर्जीवन बिमा समूहको सूचक ३३.४९ अंकले बढेको छ । 

यो दिन होटल समूह ७.९६ अंकले घटेको छ भने जलविद्युत समूह १.६२ अंक, बित्त समूह ३.७९ अंक, माइक्रोफाइनान्स समूह २.१५ अंक, जीवन बिमा समूह ४४.३९ अंक तथा अन्य समूह १.५८ अंकले घटेका छन् । 

यो दिन बजारमा १ सय ४४ कम्पनीका ७ लाख ८५ हजार ९ सय ९३ कित्ता सेयर १७ करोड ८३ लाख ८० हजार ९ सय ३७ रुपैयाँमा किनबेच भयो । 

यो दिन पनि सबैभन्दा बढी प्रभू बैंकले नै कारोबार गर्यो । यो बैंकले आकर्षक लाभांश दिने सूचना बजारमा प्रवाह हुँदा लगानीकर्ताले निरन्तर यसतर्फ लगानी खन्याइरहेका छन् । लगानीकर्तामाझ प्रभू बैंकले १० प्रतिशत भन्दा बढी नै लाभांश घोषणा गर्दैछ भन्ने हल्लाले काम गरेको देखिएको छ । यहीकारण प्रभू बैंकले यो दिन ३ करोड ८ लाख बढीको कारोबार गर्यो । 

कुमारी बैंकले १ करोड ६ लाख बढीको कारोबार गरेको यो दिन नेपाल बैंकले १ करोड ४ लाख, मेगा बैंकले ६२ लाख, सेञ्चुरी बैंकले ६० लाख, एनएमबी बैंकले ५६ लाख, एनसीसी बैंकले ४५ लाख, एभरेष्ट बैंकले ४२ लाख, सानिमा बैंकले ४० लाख र नवील बैंकले पनि ४० लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा यूनाइटेड इन्स्योरेन्स र समता माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यी दुवै कम्पनीको सेयरमूल्यमा ४ प्रतिशतको हाराहारीमा बढोत्तरी भयो । 

एभरेष्ट इन्स्योरेन्सले निकै ठूलो पहिरो व्यहोर्यो । सबैभन्दा बढी यही कम्पनीका लगानीकर्ताले गुमाए ।