-भक्तराज रसाइली 
काठमाण्डौ । विगत १० वर्षदेखि धितोपत्र व्यवसायी (सेयर ब्रोकर)का रूपमा अनवरत काम गरिरहेका नरेन्द्रराज सिजापती ब्रोकर नम्बर ४६ अर्थात् कालिका सेक्युरिटीज प्रालिका प्रबन्ध संचालक हुन् । 

सिजापती स्टक ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष (२०६८-२०७०) समेत हुन् । 

शंकरदेव क्याम्पसबाट स्नातकोत्तर (वित्तशास्त्र) गरेका सिजापतीले अध्ययनको क्रममै पूँजीबजारमा लगानी गर्न थालेका थिए । उनले निरन्तर लगानी गरिरहे । 

आफू एक लगानीकर्ताको रुपमा रहिरहेको बेला नेप्सेले नयाँ ब्रोकर लाईसेन्स वितरणका लागि भन्दै इच्छुकबाट आवेदन आह्वान गरेको र उसले बनाएको क्राइटेरिया मन परेर आफू ब्रोकर लाइसेन्स लिनतर्फ लागेको बताए । 

नेपाल वायु सेवा निगममा सिनियर अफिसरको रुपमा जागिर खाएका उनले विभिन्न कलेजमा प्राध्यापनको अनुभव समेत सङ्गालेका छन् । उनी हाल  चाहिँ अतिथि लेक्चररका रुपमा विभिन्न कलेजमा प्रस्तुत हुने गर्छन् । 

आफू स्टक ब्रोकर एशोसिएसनको अध्यक्ष हुँदा  दार्चुलादेखि ताप्लेजुङसम्म नियामकहरुसँग मिलेर लगानीकर्ता सचेतना र शिक्षाका लागि देश दौडाहामा हिँडेको विगत कोट्याउँदै लगानीकर्ताको विश्वास कमाउन अझै धेरै गर्न बाँकी रहेको बताए । 

कालिका सेक्युरिटीज प्रालिको २०६४ सालमा स्थापना गरी २०६६ सालदेखि धितोपत्र कारोबार सेवा प्रदान गरिरहेको छ । ३ जना प्रमोटर रहेको कम्पनीका अध्यक्ष कुमार लुइँटेल हुन् । 

कम्पनीको चुक्तापूँजी २ करोड २२ लाख रहेको छ । कम्पनीमा १७ जना कर्मचारी कार्यरत छन् । 

हालसालै कालिका सेक्युरिटीजको कार्यालय काठमाण्डौ २९ हनुमानस्थानमा सरेको छ । हालसालै कार्यालय सरेको हुनाले उनले मोबाइल नम्बर  9851132466 दिए । 

उपत्यकाबाहिर नेपालगञ्ज न्यूरोडबाट समेत ब्रोकरेज सेवा दिइरहेको कम्पनीले सेवा बिस्तारका लागि दाङको तुलसीपुरमा समेत शाखा माग गरेको छ । 

नेप्सेको अनलाइन विस्तार भएसङ्गै ब्रोकर शाखाका लागि नयाँ मापदण्डअनुसार आउने प्रतीक्षा गरेका उनले थप शाखा विस्तार गर्ने योजना रहेको बताए ।

कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा  १ सय ७४ कम्पनीका ५५ करोड ९८ लाख  ६४ हजार रुपैयाँ रकम बराबरको सेयर कारोबार गरेको छ ।  

दैनिक कारोबारी ६०–७० जना रहेकामा दैनिक उपस्थिति२५–३० जनाको हुने गरेको सिजापति बताउँछन् । हालसम्म ९हजार ६ सय ६३   केवाइसी अपडेट गरेका कम्पनीले जनाएको छ । कार्यालय समय बिहान  ९ः४५ देखि बेलुकी ६ः३० सम्म रहेको छ । 

कारोबार रकमका आधारमा मध्यम ब्रोकरका रुपमा चिनाउन चाहेका उनले लगानीकर्तासँगको सम्बन्धको हिसाबले अरुभन्दा उच्च स्थान भएको दाबी गरे । आफ्ना कुल ग्राहकमध्ये  ९५ प्रतिशत सामान्य लगानीकर्ता(लगानीका हिसाबमा) रहेका उनको भनाई छ । 

सरकारी जागिरजस्तो आकर्षक पेशालाई त्यागेर किन ब्रोकर पेशा नै रोज्नुभयो भन्ने बिजशालाको जिज्ञासामा ब्रोकर सेवाको क्षेत्र व्यापक, विस्तार र दायरा फराकिलो समेत भएकाले आफूलाई आकर्षित गरेको प्रष्टीकरण दिए । अर्थतन्त्रकै मेरूदण्ड मानिने पूँजीबजार पारदर्शिता भएकैले समेत ब्रोकर पेशा रोजेको उनले थप प्रष्ट पारे । 

पूँजीबजारसम्बन्धी आवश्यक सूचनामा समान पहुँच नभएको उल्लेख गर्दै धितोपत्र बजारका नियम र प्रविधिको तादम्यता र आपसी तालमेलबीच अभाव खट्किएको बताए । 

ब्रोकरहरुले पनि पोर्ट्फोलियो व्यवस्थापन, परामर्श, क्लियरिङ्ग हाउस लगायतका सेवाहरू विस्तार गर्न पाउनुपर्ने उनको माग छ ।  सेटलमेन्ट ग्यारेन्टी फण्डको प्रभावकारी कार्यान्वयन र कारोबार प्रणाली  पूर्ण अटोमेटिक बनाईनुपर्नेमा उनले जोड दिए । 

सेयर खरिदबिक्रीको सेवा लगायत नेप्से र सूचीकृत कम्पनीले जारी गरेका आधिकारिक सूचनाहरु लगानीकर्तालाई प्रदान गर्ने, अनलाइनका विषयमा छलफल, अन्तरक्रिया, प्यानका विषयमा अन्तरक्रिया गरिरहेको समेत बताए । 

पूर्ण पारिवारिक वातावरणमा मैत्रीपूर्ण व्यवहार र सहयोगी भूमिका खेल्ने ब्रोकर भएकाले सेवा लिन उनले आग्रह गरे । बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोकर्जाका लागि सहजीकरणको व्यवस्था समेत रहेको उनले सुनाए । 

नियामकका कानून र व्यवहारमा असन्तुलन रहेकाले अविलम्ब सुधार हुनुपर्ने बताउँदै उनले नेप्सेको अनलाइन सकारात्मक सुरुवात भएको ठहर गर्दै आम लगानीकर्ताहरुले अनलाइनको सुखद अनुभुति गर्न  नपाइरहेको उनले औंल्याए । निष्पक्ष, न्यायोचित र दीर्घकालीन सोचाइ राखेर अघि बढ्न सेबोनलाई सुझाए । 

निस्क्रिय पूँजीलाई सक्रिय बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने पूँजीबजार राष्ट्रिय लक्ष्य प्राप्तिको सिंढी समेत भएको उनको धारणा छ ।यद्यपि  पूँजीबजारमा नियम र तालमेल अभावले सोचेभन्दा माथि उक्लन नसक्नु दुखद भएको उनको बुझाइ छ । 

हालसम्म एकपटक पनि नियामकको कारबाहीमा नपरेको कालिका सेक्युरिटीजले नियामकको नियम अनुपालनामा अहिलेसम्म नचुकेको उनको दाबी छ । 

देश औद्योगिकरणमा जानुपर्ने तर्क अघि सार्दै सिजापतिले भने–‘नेप्सेमा सूचीकृत कम्पनीहरू सुशासन र पारदर्शितामा चुक्दा समेत नेप्से चुपचाप र मौन सहमति गरेजसरी बस्छ । यसले समेत हाम्रो पूँजीबजार अन्तर्राष्ट्रिय स्तरमा पुग्न सकिरहेको छैन ।’  

नियमन  गर्ने क्षमता नेप्सेसँग नभएको, केबल चेतावनी मात्रै दिएर छाड्ने प्रवृतिले पूँजीबजार विकृत बनिरहेकोमा उनले चिन्ता व्यक्त गरे । 

सेयर बजारमा धितोपत्र कारोबारमा सूचनाले अहम भूमिका खेल्ने तर्क अघि सार्दै उनले एउटै प्लेटफर्मबाट सही सूचना प्रवाह गरेर लगानी जोखिम गर्न नियामकले भूमिका खेल्न जरूरी रहेको बताए । 

सहज लगानीको उपयुक्त विकल्प सेयर बजार रहेको जिकिर गर्दै क्षमता अनुकुल निर्णय गरेर निकै राम्रो प्रतिफल लिन सकिने उनले दाबी गरे । सेयरको प्रतिफल अन्य क्षेत्रभन्दा धेरै भए पनि जोखिम समेत अधिक हुने भएकाले सुझबुझमा लगानी गर्न उनले लगानीकर्तालाई आग्रह गरे । 

लगानीकर्ताको आँखामा कालिका सेक्युरिटीज 
कमलप्रसाद भाट, लगानीकर्ता,कीर्तिपुर 
विगत ३–४ वर्षदेखि सेयर बजारमा सक्रिय रहेकोमा यहाँबाट सेवा लिएको १ वर्ष भयो । यहाँको राम्रो सेवाबाट सन्तुष्ट नै छु । मार्जिन कारोबार यहीँबाट पाउने आशा राखेको छु । म १० नम्बरमा ९ नम्बर दिन्छु । 

सूर्यमान दुवाल ,व्यापारी,मध्यपुर ठिमी 
सेयर बजारमा लगानी गरेको ७–८ वर्ष भएकोमा यहाँ आउन थालेको करिब २ वर्ष भएछ । यहाँको सेवासुविधा ठीकै छ । म १० नम्बरमा ७ नम्बर दिन चाहन्छु ।