काठमाण्डौ । आकाशबाट वर्षा हुनु नौलो कुरा होइन । हामी कहिलेकाहीँ उल्का वर्षा भएको  देखेका छौँ अनि सुनेका पनि छौँ । तर आकाशबाट प्लास्टिकका कणहरु पनि वर्षा भइरहेको छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । किनकि हामीले अहिलेसम्म आकाशबाट प्लास्टिकका कर्ण वर्षा भएको देखाएका छैनौँ । यो सम्भव छ त ?

हालै अमेरिकी भूगर्भीय सर्वेक्षण र अमेरिकी विभागका वैज्ञानिकहरुले गरेको अध्ययनबाट आकाशबाट पानीसँगै प्लास्टिकका कण पनि वर्षा भएको प्रमाणित भएको हो । ती प्लास्टिकका कणलाई नाङ्गो आँखाले भने देख्न सकिँदैन । त्यसैले पानी परेका बेला त्यस्ता कण देख्नका लागि माइक्रोस्कोप वा डिभिटल क्यामेरा प्रयोग गर्नुपर्ने वैज्ञानिकहरुले निष्कर्ष निकालेका छन् ।

वैज्ञानिकहरुले माइक्रोस्कोप र डिजिटल क्यामेराका माध्यमबाट गरेको अनुसन्धानका क्रममा आकाशबाट पानीसँगै अति सूक्ष्म प्लास्टिक कणहरु पनि पर्न थालेको फेला परेका हुन् । उनीहरुको सर्वेक्षणमा ९० प्रतिशत प्लास्टिकका करण भेटिएका थिए, जसमा फाइबरको मात्रा बढी पाइएको थियो ।

वैज्ञानिक अनुसन्धानमा यस्ता सूक्ष्म प्लास्टिकका कण विशेष गरी वर्षाममा ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी मात्रामा पर्ने गरेको देखिएको छ । पहाडी क्षेत्रमा पनि समुद्री सतहबाट १० हजार ४०० फिट उचाइमा संकलन गरिएको पानीमा प्लाष्टिकका सूक्ष्म कणहरु भेटिएको अनुसन्धानका क्रममा पत्ता लागेको छ ।

यसरी वर्षामा पानीसँगै प्लास्टिकका कणहरु किन परिरहेको छ भन्ने विषयमा अझै वैज्ञानिकहरुले निक्र्यौल निकाल्न सकिरहेका छैनन् । विश्वमा बढ्दो प्लास्टिकको प्रयोग नै यसको प्रमुख कारण हुन सक्ने अनुमान गरिए पनि निष्कर्षमा भने पुग्न सकेका छैनन् । वातावरण प्रतिकूल मानिने प्लास्टिकको प्रयोगमा विभिन्न देशमा रोक लगाइए पनि अझै पनि यसबाट उत्पन्न हुन सक्ने खतराबाट मुक्ति मिलिसकेको अवस्था भने छैन ।

त्यसो त वातावरणीय चक्रलाई नै चुनौती दिने यो अनुसन्धानमाथि विभिन्न खाले प्रश्नहरु पनि उठिरहेका छन् । यो अनुसन्धानले हावा, पानी र माटोमा कति प्लास्टिक मौजुदा रहेको निष्कर्ष निकाल्न नसकेको आरोपहरु पनि लागेका छन् ।

यसअघि दक्षिणी फ्रान्सका वैज्ञानिकहरुले पनि वर्षाको पानीसँगै प्लाष्टिकका सूक्ष्म कणहरु खसेको देखेका थिए । त्यतिखेर समुद्रमा ससाना प्लास्टिकका टुक्राहरु तैरिरहेका भेटिएका थिए । त्यतिखेर यो विषयलाई खासै चासो नदिएपछि अहिले भने वैज्ञानिकहरुले यसलाई चुनाती र अवसर दुवै रुपमा अनुसन्धान गरिरहेका छन् ।

निकट भविष्यमै वर्षाको पानीसँगै सूक्ष्म रुपमा झिरिरहेका प्लास्टिकका कणको वास्तविकता बाहिर आउने उनीहरुको दाबी छ । – एजेन्सी