काठमाण्डौ । भारतको गोवाबाट नयाँदिल्लीतर्फ उडेको इन्डिगो एयरलायन्सको विमानको इन्जिनमा समस्या आएपछि गोवा विमानस्थलमै आपतकालीन अवतरण गरिएको छ । 

विमानमा करिब २०० जना यात्रु सवार थिए । इन्डिगोको ६ई–३३६ विमान सोमबार बिहान गोवाबाट उड्नासाथ पाइलटले इन्जिनमा समस्या आएको पत्ता लगाएका थिए । पाइलटले तत्कालै उक्त जहाज गोवाकै डाबोलिम विमानस्थलमा फर्काएर आकस्मिक रुपमा सकुसल अवतरण गराएका थिए । इन्डिगोका तर्फबाट जारी गरिएको वक्तव्यमा पाइलटले इन्जिनमा समस्या देखिएपछि तत्कालै गोवा विमानस्थलमा विमान अवतरण गराएका र विमानको जाँच शुरु गरिएको उल्लेख छ । 

वक्तव्यमा सबै यात्रुलाई अर्को विमानमा राखेर गन्तव्यतर्फ पठाइएको पनि जनाइएको छ । - रासस/एएनआई