सरकारले कोरोनाका कारण प्रभावित भएको क्षेत्रलाई आवश्यकताका आधारमा राहत उपलब्ध गराएको र समग्रमा हिसाब गर्दा रु ६० अर्ब बराबरको रहेको स्पष्ट पारेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा कर, विद्युत् महसुल छुटलगायतको समग्र पक्षमा मूल्याङ्कन गर्दा उल्लेख्य मात्रामा राहत उपलब्ध गराइएको जानकारी दिनुभयो । उहाँले राहत प्याकेज एउटै मात्र नहुने र त्यसमा नगद मात्रै नभएको भन्दै विभिन्न कार्यक्रममा दिइएको नगद, प्रोत्साहन, छुट, कर मिनाहा, समयावधि बढाउने, कर तिर्ने अवधि बढाउने जस्ता कार्यक्रम पनि राहत नै भएको बताउनुभयो। 
 
उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी नहुनेलाई प्राप्त हुने ज्यालाको एक चौथाइका आधारमा राहत दिँदा झण्डै रु तीन अर्ब बराबरको रकम उपलब्ध हुने बताउनुभयो । यस्तै १० यूनिटसम्म विद्युत् प्रयोग गर्नेलाई छुट, सिँचाइ खानेपानीमा ५० प्रतिशत महसुल छुट तथा उद्योगलाई लाग्दै आएको डिमाण्ड शुल्क हटाउँदा मात्रै रु आठ अर्ब बराबरको राहत उपलब्ध हुने भएको छ । वायु सेवा प्रदायकले बजेटले झण्डै रु सवा अर्ब बराबरको छुट पाउने भएका छन् । 
 
सामाजिक सुरक्षा कोषमा आबद्ध भएकालाई रोजगादरातासहितको रकम सरकारले उपलब्ध गराउँदा रु सवा अर्ब बराबरको राहत उपलब्ध हुने देखिएको छ । यस्तै सहुलियतपूर्ण कर्जामार्फत ब्याजमा दिइएको छुटका आधारमा मात्रै रु १४ अर्ब बराबरको राहत उपलब्ध हुने मन्त्री डा खतिवडाको भनाइ छ । 
 
नेपाल राष्ट्र बैंकले स्थापना गरेको रु एक खर्ब बराबरको पुनरकर्जा कोषबाट रकम लिँदा व्याजलगायतमा झण्डै रु २० अर्ब बराबरको सहजता प्राप्त गर्न सकिन्छ । सहुलितपूर्ण पसल तथा नागरिकको दैनिक उपभोग्य पसलका लागि रकम उपलब्ध गराउँदासमेत झण्डै रु ५० करोड बराबरको सहुलियत प्राप्त हुने भएको छ । 
 
अर्थमन्त्री डा खतिवडाले भन्नुभयो “नगदमा मात्रै राहत हुन्छ भन्ने होइन, अन्य क्षेत्रमा दिइएको छुट पनि राहत हो, राहतको कार्यक्रम भनेको नगदै बाँड्ने मात्र होइन, करछुट, ब्याजदरमा सहुलियतबाट दिन सकिन्छ ।” सबै उपाय अपनाएर राहतको प्याकेज ल्याएको बताउनुभयो । यस्तै  करमा मात्रै रु छ अर्बको राहत प्याकेज दिइएको अर्थमन्त्री खतिवडाको भनाइ छ । 
 
आवश्यकताले बजेटको आकार घट्यो 
अर्थमन्त्रीले चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षको बजेट करिब चार प्रतिशत कम आकारको आएको र यो आवश्यकता भएको स्पष्ट पार्नुभयो । चालु आर्थिक वर्षको तुलनामा आगामी आवको बजेट रु ५८ अर्ब ३२ करोड ७१ लाखले घटेको छ । आगामी आवका लागि आज रु १४ खर्ब ७४ अर्ब ६४ करोड बराबरको बजेट प्रस्तुत गरिएको छ । चालु आवका लागि गत वर्ष जेठ १५ गते प्रस्तुत गरिएको बजेट रु १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रहेको थियो । 
 
सामान्यता हरेक वर्ष १० देखि १४ प्रतिशत बजेट बढ्ने गरेकामा कोरोनाका कारण यस वर्षको बजेटको आकार झण्डै चार प्रतिशतले घटाइएको अर्थमन्त्री डा खतिवडाको भनाइ छ । विषम अवस्थालाई ध्यानमा राखेर बजेटको आकार बढाउन नसकिएको उहाँको प्रष्टोक्ति छ ।  सामान्यता बजेटको आकार हरेक वर्ष बढ्ने भए पनि यस वर्ष घटनुको पछाडि मुलुक सामान्य अवस्थामा छैन भन्ने नै हो ।  “बजेटको आकार सानो हुनु भनेको हामी सामान्य अवस्थामा छैनौं भन्ने बुझिन्छ, सामान्य अवस्थामा मुद्रास्फितीलाई समेत ख्यालमा राखेर बजेटको आकार कम्तीमा १० देखि १४ प्रतिशतसम्म बढ्छ, तर यस पटक हामी असामान्य अवस्थामा भएकाले केही कम हुन गयो”, उहाँले भन्नुभयो । 
 
उहाँले उच्च आर्थिक वृद्धिदर हासिल गर्नका लागि अत्यन्त धेरै लगानी आवश्यक रहेको, निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने गरी सार्वजनिक क्षेत्रको लगानीलाई पनि अगाडि बढाउनुपर्ने भएकाले त्यसलाई सामान्य सिद्धान्तका रुपमा उल्लेख गर्नुभयो । निजी क्षेत्रको लगानीलाई परिपूरक भूमिका निर्वाह गर्ने गरी ‘क्राउड आउट’ नगरी ‘क्राउड इन’ गर्ने गरी सरकारको खर्च र लगानी बढाउनुपर्नेमा जोड दिँदै उहाँले यस्तो विधिले हामीलाई उच्च आर्थिक वृद्धिको बाटोमा लैजाने स्पष्ट पार्नुभयो । 
 
कोरोनाका कारण  नयाँ परिस्थितीमा आइपुगेको र जीवन रक्षा नै पहिलो प्राथमिकतामा हुन पुगेकाले स्वास्थ्य, शिक्षा र कृषिमा बढेज बढोत्तरी गरिएको उहाँले बताउनुभयो । उहाँले स्वास्थ्यको क्षेत्रमा पछिल्ला दुई वर्षको तुलनामा झण्डै दोब्बर बजेट वृद्धि भएको र शिक्षा क्षेत्रमा पनि औसतमा बजेट बढाइएको स्पष्ट पार्नुभयो । स्वास्थ्य क्षेत्रमा रु एक खर्ब २२ अर्ब बराबरको बजेट विनियोजन भएको छ । 
 
यस्तै, कृषिमा पनि सिँचाइ तथा अन्य स्रोत तथा रोजगारीको अवस्थालाई ध्यान दिएर उल्लेख्य बजेट वृद्धि गरिएको उहाँले जानकारी दिनुभयो । कोरोना कहरसँग जुध्दै जनजीवनलाई सामान्य राख्दै आगामी वर्ष तीव्र आर्थिक वृद्धि गर्ने लक्ष्यका साथ बजेट शक्ति सञ्चयमा केन्द्रित गरिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो “यो शक्ति सञ्चय गर्ने बेला हो, त्यसैले कहिलेकाहीँ दुई फड्को अघि बढ्नका लागि एक फड्को पछि हट्नुपर्ने अवस्था आएको छ ।”
 
आफूले धेरै  संयमताका साथ आगामी वर्षको बजेट चालु आवको बजेटभन्दा करिब चार प्रतिशत कम विनियोजन गर्ने प्रस्ताव गरेको र त्यसका पछाडि केही ठोस कारण भएको समेत उहाँको भनाइ छ । कोरोनाका कारणले अहिले हामी अत्यन्तै तरल अवस्थामा रहेको तथ्य पेश गर्दै उहाँले मुलुकभित्र मात्रै नभई, अन्तर्राष्ट्रिय लगानी, व्यापार, पर्यटकको आवगमन, श्रम बजारबाट उत्पन्न हुनसक्ने आर्थिक परिसूचक विश्वव्यापी, क्षेत्रीय तथा राष्ट्रिय र त्यसको आधारबाट अर्को वर्ष कस्तो हुन्छ भनेर पूर्वानुमान गर्न कठिन भएको धारणा राख्नुभयो । 
 
  उहाँले विश्व परिवेशको समेत सन्दर्भ जोड्दै विश्वका ठूला अर्थशास्त्रीले कोरोनाको अर्थतन्त्रमा असर यति लामो समयसम्म आइपुग्ला भनेर जानकारी दिइरहेको बताउनुभयो । “हामीले पनि चैत १० गतेदेखि जेठ १६ गतेसम्म आइपुग्दा धेरै परिवर्तन भएको छ”, उहाँले भन्नुभयो, “त्यसो हुँदा आगामी वर्षको बजेट बनाउँदा अत्यन्तै सतर्कताका साथ, तत्कालै गरिहाल्नुपर्ने काम र जीवन रक्षा गर्दै, आर्थिक क्रियाकलापलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्षका लागि दरिलो जग बसाल्ने गरी बजेट निर्माण गरिएको हो ।” 
 
उहाँले बजेटमा छिटो प्रतिफल दिने आयोजना समेटेको बताउँदै राष्ट्रिय गौरवका आयोजना, मुलुकलाई दूरगामी प्रभाव पार्ने र खासगरी गेम चेञ्जर आयोजनालाई निरन्तरता दिनका लागि बजेट व्यवस्थापन गरेको बताउनुभयो ।