काठमाण्डौ । लगानीकर्ता, उद्योगी र व्यवसायीमाझ सर्वाधिक अलोकप्रिय अर्थमन्त्री डा. खतिवडाले आगामी बजेट समेत बनाउने आश्वासन पाएका छन् । 

आफ्नो राष्ट्रिय सभा सदस्य पदको कार्यकाल सकिन केही हप्ता मात्र बाँकी रहँदा अर्थमन्त्री डा. खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो आश्वासन दिएका हुन् । 

‘एकाङ्की कार्यशैली’का कारण सत्तारुढ पार्टीभित्रै पनि सर्वाधिक विवादमा परेका अर्थमन्त्री डा. खतिवडालाई केही दिनअघिको भेटमा प्रधानमन्त्रीले भरसक अर्थमन्त्रीकै रुपमा पूरा कार्यकालसम्म बस्ने वातावरण बनाउने र पार्टीभित्रको विरोध थेग्न नसकेमा भने आगामी बजेटसम्म बनाउन दिने आश्वासन दिएका हुन् । 

प्रधानमन्त्री निकट उच्च स्रोतका अनुसार विभिन्न पक्षबाट अर्थमन्त्री डा. खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा लैजाने आश्वासन समेत दिइएको थियो । तर, डा. खतिवडाले अमेरिकाका लागि राजदूतमा जान अस्वीकार गरेपछि उनको व्यवस्थापनको विषयमा ओलीले बजेट बनाउन दिने आश्वासन दिएका हुन् । 

‘प्रधानमन्त्रीले डा. खतिवडालाई अर्थमन्त्रीको रुपमा निरन्तरता दिन नसके आगामी बजेट बनाउन दिने र त्यसपछि मन्त्रीको हैसियत कायम हुने गरी आफ्नो प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त गर्ने आश्वासन समेत दिनुभएको छ ।’ उच्च स्रोतले बिजशालासँग भन्यो–‘अरु जे जे भए पनि अबको बजेट पनि डा. खतिवडाले नै बनाउने र प्रस्तुत गर्ने कुरा चाहि निश्चित झै भयो ।’ 

प्रम ओलीले आफू निकटका नेताहरुसँग समेत डा. खतिवडाको विज्ञता सरकारलाई आवश्यक रहेको बताउने गरेका छन् । डा. खतिवडालाई प्रमुख आर्थिक सल्लाहकारमा व्यवस्थापन गरिए सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री बनाउने ओलीको तयारी छ । 

राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएको ६ महिनासम्म पनि क्याबिनेटमा बस्न पाउने व्यवस्थाको फाइदा उठाउँदै डा. खतिवडाले आगामी बजेट समेत बनाउने भन्ने पक्का जस्तै भएको स्रोत दाबी गर्छ । डा. खतिवडाले बनाएको चालु आर्थिक वर्षकै बजेट समेत विवादरहित हुन नसकेको र पार्टीभित्रका कतिपय आर्थिक मुद्धा तथा चुनावी प्रतिबद्धताहरु समेट्न नसकेपछि तीव्र आलोचना भइरहेको समयमा डा. खतिवडालाई नै बजेट बनाउन दिइएको खण्डमा यसले पार्टीभित्रै पनि नयाँ विवादको सिर्जना गर्ने नेताहरु बताउँछन् । 

डा. खतिवडाको पछिल्ला कार्यशैली र अर्काको कुरा नसुुन्ने बानीले निकै ठूलो समस्या निम्त्याइरहेको स्रोत बताउँछ । आफ्ना कुरा मात्र लाद्ने प्रवृति र बालहठका कारण पार्टीको छविमा समेत नकारात्मक असर परेको भन्दै धेरै नेताहरुले उनलाई चाँडो विदा दिनुपर्नेमा जोड दिइरहेका छन् । 

डा. खतिवडाकै अलोकप्रिय नीतिका कारण पार्टीको छवि तल्लो तहसम्म नकारात्मक बनेको, उनकै गलत कर नीतिका कारण पार्टीलाई हालै सम्पन्न उपनिर्वाचनमा नमीठो धक्का लागेको, व्यवसायिक वातावरण कमजोर बन्दै गएको, स्वदेशमा लगानी गर्नेहरु समेत निराश भई पलायन हुने अवस्था सिर्जना भएको र यसले पार्टीकै राजनीतिमा समेत दीर्घकालीन क्षति पुग्ने नेताहरुको विश्लेषण छ । उनीहरुले यस्तो अवस्थामा डा. खतिवडालाई जति चाँडो पदमुक्त गर्यो, उति चाँडो जनतामा फैलिएको निराशा रिकभर गर्नसक्ने तर्क समेत गरिरहेका छन् । 

तर, अर्थमन्त्री डा. खतिवडा भने अर्थतन्त्रमा रुपान्तरणको समयमा र अनौपचारिक अर्थतन्त्रलाई औपचारिकमा परिणत गर्ने महत्वपूर्ण अवस्थामा यस्ता प्यानिक अवस्था आउनसक्ने भन्दै आगामी दिनको अर्थतन्त्रमा आमूल सुधार आउने भन्दै प्रधानमन्त्री ओलीलाई कन्भिन्स गर्न सफल हुँदै आएका छन् । 

अर्थमन्त्री डा. खतिवडालाई सफल अर्थमन्त्रीको रुपमा स्थापित गर्न र प्रधानमन्त्रीलाई कन्भिन्स गर्ने वातावरण बनाइदिने कार्यमा प्रमका प्रमुख सल्लाहकार विष्णु रिमालको निकै ठूलो भूमिका छ । रिमालकै जोडबलमा प्रम ओलीले डा. खतिवडालाई पार्टीका कतिपय जननिर्वाचित नेतालाई पाखा लगाएर भए पनि अर्थमन्त्री बनाएका हुन् । राष्ट्रिय योजना आयोगबाट विदा भएपछि डा. खतिवडालाई रिमालले जिफन्टको महत्वपूर्ण मिसन जिम्मा लगाउने गरेका थिए । उनीहरुबीच धेरै वर्षअघिदेखि राम्रो दोस्ती र सहकार्य चल्दै आएको छ ।

डा. खतिवडाको अबको बाटो कुन मोडतर्फ सोझिन्छ भन्ने बिषय रिमालले प्रधानमन्त्री र पार्टीभित्र कुन तहको दवाब सिर्जना गर्नसक्छन् भन्ने कुरामा समेत केन्द्रीत रहेको स्रोत बताउँछ । 

अर्थमन्त्री र स्वयम् रिमालले समेत प्रधानमन्त्रीसँग पैसाका लागि अमेरिकाको राजदूत वा अन्य कुनै नियुक्ति खान आफू(खतिवडा) तयार नभएको स्पष्ट सन्देश दिने गरेका छन् । ‘म दैनिक ३ हजार डलर कमाउनसक्ने मान्छेलाई पैसाको केको लोभ ? पैसाकै मुख हेरेर किन जानू अमेरिका ? मलाई पैसाको लोभ छैन ।’ डा. खतिवडालाई उद्धृत गर्दै स्रोतले भन्यो  । 

डा. खतिवडाले अहिलेको अर्थतन्त्रलाई बच्चाहरुको दाँत आउनुअघिको ज्वरोको संज्ञा दिएका छन् । उनले तीव्र आर्थिक वृद्धिदर संभव रहेको र यसका लागि निर्मम बनेर अगाडि बढ्नुपर्ने तर्क गर्ने गरेका छन् । ६० प्रतिशत अनौपचारिक अर्थतन्त्र हाबी भएको मुलुकमा औपचारिक अर्थतन्त्रलाई बढावा दिने विषय सहज नभएको भन्दै आफूलाई काम गर्ने वातावरण बनाइदिन उनले प्रधानमन्त्रीसँगको प्रत्येक भेटमा भन्ने गरेका छन् ।