काठमाण्डौ । छोटो समयका लागि सेयर खरिदबिक्री गर्नेहरुका कारण पछिल्लो समय बजार केही अस्थिरजस्तो देखिएको छ । कहिले थोरै अंकले बढ्ने तथा कहिले थोरै अंकले घट्ने प्रवृति बजारका लागि सामान्य जस्तो भइसकेको छ । तर, राम्रो सिजन मानिएको यो समयमा समेत बजार परिसूचकमा अपेक्षित सुधार हुन नसकेकोमा कतिपय लगानीकर्ता निराश जस्तो देखिएका छन् । परिस्थिति तथा विकसित हुँदै गएका घटनाक्रमबाट अब लगानीकर्ताले निराश बन्नुपर्ने अवस्था नरहेको देखाउँछ । 

आगामी दिनमा बजार बुम हुने प्रशस्त आधारहरु देखिएका छन् । कतिपय विश्लेषकहरुले त बजारले आगामी सातादेखि नै बुल ट्रेण्ड लिनसक्ने दाबी गरिरहेका छन् । केही सकारात्मक सूचक यस्ता छन्, जसलाई हेरेर भन्ने हो भने अब बजार नबढी धरै छैन । 

आगामी दिनमा बजार बढ्नसक्ने कारण के-के हुनसक्लान् ? विश्लेषकहरुले दिएको रायका आधारमा तयार पारिएका बजार बुल हुने केही कारणलाई बुँदागत रुपमा हेरौं :

१.बाली भित्र्याउने बेला
वर्षभरि लगानी गरेर लामो प्रतिक्षापछि बजारका सूचिकृत कम्पनीहरुबाट लगानीकर्ताले बाली भित्र्याउने उपयुक्त समय नै यही हो । यस्तो बेलामा हतारिएर वा कसैको लहै-लहैमा लागेर कुनै पनि लगानीकर्ताले राम्रा कम्पनीको सेयर बिक्री गर्नुहुँदैन । लगभग धेरैजसो बैंक तथा बित्तीय कम्पनीहरुले गत आर्थिक वर्षको
चौथो त्रैमासको विवरण सार्वजनिक गरिसकेका छन् । भदौ लागिसकेका कारण अब ती कम्पनीहरुले आर्जन गर्ने नाफाका आधारमा लाभांश घोषणाको लहर चल्नेछ । केही कम्पनीहरुले त लाभांश घोषणा गरिसकेका छन् । आफ्नो वर्षभरिको लगानीले कस्तो बाली दिन्छ भन्ने कुराको व्यग्र प्रतिक्षा गरेर बसेका लगानीकर्ताहरु हतारिएर सेयर बिक्री गर्ने मूडमा छैनन् । उनीहरुले कि त आफ्नो नामको सेयर होल्ड गरेर राख्छन् वा राम्रो लाभांश दिने संभावित कम्पनीको सेयरमा लगानी थप्नेछन् । राम्रा कम्पनीको सेयर किनेर छोटो समयमै भए पनि लाभांश पाउने लोभमा समेत कतिपय लगानीकर्ताहरुले खरिदारी बढाउनसक्छन्, जसले बजारलाई बुल बनाइदिनसक्छ । 

२.सहज तरलता
अहिले बैंक तथा बित्तीय संस्थामा लगानीयोग्य पूँजीको कुनै अभाव छैन । बैंकहरुले धमाधम ब्याजदर घटाउन थालेका छन् । बजारमा समेत तरलताको अवस्था सहज बन्दै गएको छ । यसले धितोकर्जामा विगतका केही महिना देखिएको सकस कम भएर जाँदैछ भन्ने देखाउँछ । 

लगानीकर्ताले सहज ढंगले कर्जा प्राप्त गरेसँगै दोश्रो बजारमा लगानी बढाउनेछन्, जसका कारण बजारमा खरिदको चाप बढेर बजार बुल हुनसक्नेछ ।  

३.घाम लाग्यो तराईमा
विगत केही दिनको बजार
को प्रवृति हेर्दा कारोबार रकम घटेको छ । नेप्से परिसूचक पनि घटिरहेको देखिन्छ । यसको मूख्य कारण तराईमा आएको बाढी तथा त्यसबाट डूूबानमा परेका शहरी इलाका  र त्यहाँ ठप्प बनेको सेयर कारोबार पनि हो  यी क्षेत्रमा ब्रोकरहरुले शाखा खोलेका छन्, जहाँबाट मोफसलका लगानीकर्ताहरुले समेत सेयरमा लगानी गर्ने क्रम बढेर गएको छ । विगतमा धेरै दिनसम्म कारोबार रकम १ अर्ब तल नओर्लिनुुको कारण समेत मोफसलका लगानीकर्ताको बढ्दो लगानी नै मुख्य थियो । अब डूूबानमा परेका तराईका शहरहरु साबिकको अवस्थामा फर्किसकेका छन् । डूूबानमा परेका कतिपय लगानीकर्ताहरुको जनजीवन समेत सामान्य बन्दै गएको छ । यसले ती लगानीकर्ताहरु बिस्तारै पुनः बजारतर्फ केन्द्रीत हुनेछन् । यसले मोफसलका ब्रोकर शाखामार्फत हुने सेयरको खरिदारीको रफ्तार पनि बढ्नेछ, जसले आगामी दिनमा बजारलाई बुल गराउन निकै ठूलो सहयोग गर्नेछ । 

४.हकप्रदको बाढी 
अहिले बजारमा हकप्रदको बाढी छ । पछिल्लो समय बिमा कम्पनीहरु पूँजीवृद्धिको चटारोमा छन् । उनीहरुले आकर्षक बोनससहित हकप्रदको समेत बाढी ल्याउँदैछन् । जसका कारण सेयरधनी बाहेकहरुले समेत आकर्षक कम्पनीको लगानी बढाउनेछन् । यसले खरिदको चाप बढी बजारलाई सपोर्ट पुुग्नेछ । तर, यो सँगै नयाँ बिमा कम्पनीहरु समेत धमाधम संचालन भइरहेका र तिनका लगानीकर्तामध्ये अधिकांश दोश्रो बजारका समेत लगानीकर्ता रहेकोले भएको सेयर बेचेर नयाँ कम्पनीका लागि पैसा जुटाउनेहरु पनि उत्तिकै सक्रिय छन् । यस्तो प्रवृतिले कथमकदाचित बजारलाई प्रभाव पार्यो भने त्यसलाई अनौठो रुपमा लिनुहुुन्न । 

५.कम हुँदै विकल्पहरु
धितोपत्र बोर्डले सार्वजनिक निश्कासनका पुराना प्रक्रियाहरुमा केही भए पनि कस्ने काम गरेको छ । जथाभावी रुपमा मनलाग्दी एफपीओ निश्कासन गर्ने क्रम धितोपत्रको नयाँ नियमावली लागूू भएसँगै कम भएर गएको छ । बजारमा केही साना कम्पनीहरुको आइपीओ पाइपलाइनमा भए पनि ठूला कम्पनीहरुको ध्यान पनि यतातर्फ छैन । जसका कारण सार्वजनिक निश्कासनको साटो लगानीकर्ता दोश्रो बजारमै लगानी गरेर बढी भन्दा बढी रिटर्न चाहन्छ । यसले समेत आगामी दिनमा बजारलाई बुल बनाउन सहयोग पुुग्नसक्छ । 

६.म्युुचुुअल फण्ड
पछिल्लो समय हेर्ने हो भने देशमा संचालित सामूहिक लगानीकोषहरुले इकाईधनीहरुलाई राम्रो रिटर्न दिइरहेका छन् । बजारमा थप स्किमहरु आउने
क्रममा त छन्, तर त्यसबेलासम्म कतिपय लगानीकर्ताहरुले म्युुचुुअल फण्डको इकाई खरीदारी समेत राम्रै परिमाणमा बढाउने देखिन्छ । यसले समेत बजारलाई सपोर्ट गर्न सक्छ । 

तर, बजार बुल हुने प्रशस्त आधार र कारण हुँदा-हुँदै पनि बजारलाई घट्न दवाब दिने कारण पनि उत्तिकै छन् । अहिले सेयर बजारमा मागभन्दा आपूर्ति अत्यधिक छ । बजारलाई व्यापक बनाउने, एनआरएनहरुलाई समेत लगानी गर्ने वातावरण बनाउने, सेयरको उच्च आपूर्तिअनुसार बजारमा माग कायम राखिराख्ने अन्य रणनीति बनाउने बिषयमा समेत नियामकहरुको ध्यान छैन । यसले बजारलाई दवाब पुुग्नसक्छ । अर्कोतर्फ, सेयर बजारलाई नै हातमुख जोड्ने माध्यम बनाएका सर्टटर्म कारोबारीहरुले मौका हेरेर सेयर खरिदबिक्रीको निर्णय लिने गर्छन् । उनीहरुले थोरै नाफाका लागि छिटो छिटो सेयर खरीद-बिक्रीको निर्णय गरिरहने हुँदा यस्तो प्रवृतिले समेत बजारमा केही नकारात्मक प्रभाव पार्नसक्छ ।