काठमाण्डौ । नेपाल सरकारले इञ्जिन तथा डिब्बा खरीद तथा जनशक्ति निर्माणको काम समयमै सके आगामी बैशाखदेखि भारतको जयनगरदेखि नेपालको बर्दिबाससम्मको रुटमा आधुनिक रेल गुड्न थाल्नेछ ।

अधिकारीहरुले रेलका इञ्जिन र डिब्बा खरीदबारे नेपालले चाँडै निर्णय लिनुपर्ने र आधुनिक रेलका लागि आवश्यक जनशक्तिको तयारी समेत थाल्नुपर्ने बताएका छन् । यदि नेपालको तर्फबाट तीव्र गतिमा पूर्वतयारीका काम भए आगामी बैशाखदेखि यो रुटमा आधुनिक रेल गुड्नेछ । 

रेल विभागका सूचना अधिकारी तथा सिनियर डिभीजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले जयनगरदेखि नेपालको बर्दिवाससम्म रेल गुडाउन आवश्यक लिक लगायतका पूर्वाधार आफ्नै लगानीमा निर्माण गरिदिने सहमति बमोजिम भारतीय पक्षले कामलाई तीव्र गतिमा अगाडि बढाएको बताए ।

उनका अनुसार यो लिकको कुल लम्बाई ७० किलोमिटरको हुने र त्यसमध्ये ३५ किलोमिटर अर्थात् धनुषाको कुर्थासम्मको लिकको निर्माण आउने फागुन महिनासम्ममा सम्पन्न गरिसक्ने भारतीय लक्ष्य छ। भारतले सन् २०१८ को अप्रीलसम्म परियोजना निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने भनेको र उसले निर्माण सकेलगत्तै नेपालले सो रुटमा रेल गुडाउनसक्ने सूचना अधिकारी उपाध्याय बताउँछन् । 

‘इञ्जिन र डिब्बा खरीदबारे चाँडो निर्णय गर्न सकिए फागुनसम्म जयनगरदेखि धनुुषाको कुुर्थासम्म बनिसक्ने लिकमा बैशाखदेखि रेल गुडाउन सक्छौ ।’ उपाध्यायले बिजशालासँग भने–‘हामीसँग आधुनिक रेल गुडाएको अनुुभव छैन, त्यसका लागि जनशक्ति तयारीको चुनौति समेत बाँकी नै छ।’ 

उपाध्यायका अनुसार नेपालतर्फ बनाइने बाँकी ३५ किलोमिटर लम्बाईको रेल्वे लिकका लागि जग्गा अधिग्रहण गर्ने प्रक्रिया भने अगाडि बढिसकेको छ । अधिग्रहण गरिने जग्गाको मुआब्जा वितरणपछि लिक निर्माणको जिम्मा समेत भारतलाई दिने नेपालको योजना छ ।

यो रुटमा गुडाउन लागिएको ब्रोडगेज रेल हो । ‘ब्रोडगेज रेलको चालक तथा मर्मतसम्भार गर्ने जनशक्ति समेत हामीसँग छैन । हामीसँग कोइलाबाट चल्ने ’न्यारोगेज’ रेल गुडाएको मात्रै अनुभव छ।’ उपाध्यायले भने–‘अन्य क्षेत्रमा रेल्वे लाइन बिस्तारका लागि समेत सुरुवातको यो परियोजनाबाट हामीले धेरै अनुुभव बटुुल्न सक्छौ । यसले रेल्वे लाइनको विकासको आगामी योजनामा महत्वपूर्ण सहयोग हुनेछ ।’