-भक्तराज रसाइली 
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले आगामी बिहीबारदेखि अनलाइन ट्रेडिङमा बैंक इन्ट्रीगेसनको सुरुवात गर्ने भएको छ । 

नेप्सेका आइटी प्रमुख निराञ्जनसिंह नायकले अहिले पहिलो फेजको टेस्ट सकिए पश्चात् अन्तिम फेजको टेष्टिङ्ग भइरहेको उल्लेख गर्दै संभवत आगामी बिहीबार बैंक इन्टीग्रेसनको औपचारिक थालनी हुने जानकारी दिएका हुन् ।

बैशाखभित्रै यो कामको सुरुवात गर्ने भनिए पनि सुरक्षा आवश्यकताले त्यसमा काम गर्नुपरेकोले केही समय पछि धकेलिएको उनको दाबी छ । 

एनसीएचएलका सीइओ नीलेशमान सिह प्रधानका अनुसार क्लियरिङ हाउसका तर्फबाट गर्नुपर्ने सम्पूर्ण तयारी भइसकेको छ । बैंक इन्टीग्रेसनका लागि अधिकांश ब्रोकर कम्पनीहरुको आवश्यक डकूमेन्ट आइसकेको र हाल दोश्रो फेजको टेष्टिङ्ग नेप्सेले गरिरहेकोले त्यहाँबाट अगाडि बढेपछि आफूहरु समेत तयार अवस्थामा रहेको प्रधानको भनाई छ । 

बजार सञ्चालक नेप्सेले सञ्चालनमा ल्याएको आधुनिक अनलाइन कारोबार प्रणाली अन्तर्गत धितोपत्र कारोबार राफसाफका लागि बैंक इन्ट्रीगेसन मार्फत हुने गरी एनसीएचएलमा आबद्ध बैंक तथा वित्तीय संस्थालाई सिस्टमभित्र जडान गरी यो कार्यको सुरुवात गर्न लागिएको हो ।

एनसिएचएलको कनेक्ट आइपीएसमा दैनिक १ लाखसम्म र आइपीएसमार्फत दैनिक २० करोडसम्मको सेयर खरिदबिक्री गर्न सकिने बताउँदै सीइओ प्रधानले बिजशालासँग भने–‘सुरुको फेजमा सेयर खरिदमा लागू गरिने र त्यसपछि बिक्रीमा ब्रोकरहरुले नेप्सेको टीएमएसमार्फत नै भुक्तानी व्यवस्था गर्न लागेका छौं ।’

उता, नेप्सेको सफ्टवेयर भेण्डर कम्पनी वाइको प्रा.लि.का सीइओ दीपेश प्रधानले बैंक इन्ट्रीगेसनका लागि नेप्सेलाई सिस्टम हस्तान्तरण गरिसकिएको प्रष्ट्याएका छन् । नेप्सेले अन्तिम परीक्षण गरिसकेकोले अब इन्टीग्रेसनलाई लाइभ गर्न केही दिन मात्र लाग्ने उनको भनाई छ । 

नेप्से अनलाइन ट्रेडिङ सिस्टममा बैंक एकीकृत भएको खण्डमा लगानीकर्ताहरुलाई संसारको जुनसुकै स्थानबाट पनि दोस्रो बजारमा भएको खरिदबिक्रीको भुक्तानी लिन वा दिन सहज हुनेछ । नेप्सेको अनलाइन लगइन लिई सहज रुपमा सेयर खरिदबिक्री गरिरहेका भएतापनि बैंक इन्ट्रीगेसन भएपछि  इन्टरनेट पुगेका संसारका जुनसुकै स्थानबाट नेपालीहरुले सजिलै सेयर कारोबार गर्न सक्नेछन् ।

बैंक इन्ट्रीगेसन अनलाइन प्रणालीमा जोडिएपछि नेपालको सेयर बजारको आधुनिकतामा महत्वपूर्ण इँटा थपिने जानकार बताउँछन् ।

यो व्यवस्था भएसँगै नेपालको पूँजीबजार स्वदेश तथा बिदेशमा समेत विकास र विस्तार भई मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विज्ञहरुको मत छ ।