काठमाण्डौ । आगामी साता पनि सेयर बजारको बुल रन यथावत रहने सेयरका प्राविधिक विश्लेषकहरुले प्रक्षेपण गरेका छन् । 

केही समययता नेप्से परिसूचकमा भएको वृद्धि र दैनिक कारोबार रकमसमेत पौने २ अर्ब पुग्दा लगानीकर्ताहरुमा उत्साहको बहार छाइरहेको छ ।

बजारले लिएको गतिलाई हिजोआज बियरिस ट्रेण्डको अन्त र बुलिस ट्रेण्डको सुरुवातीमा भएको चर्चा चल्न थालिसकेको छ । 

गत मे महिनाको अन्तमा नेप्से परिसूचक १३२१ विन्दूलाई नै पछ्याउँदै सोही विन्दूको हाराहारीमा पुगिसकेको छ । आम लगानीकर्ताहरुमा अब बजारको गतिले स्थायीत्व लिन्छ वा पुनः करेक्सन आउला भन्ने जिज्ञास रहेको छ । प्राविधिक विश्लेषकहरुको दाबीलाई आधार मान्ने हो भने आगामी साता पनि बजारको बुलिस ट्रेण्ड यथावत रहनेछ । त्यसपछिको सातादेखि भने बजारमा सामान्य करेक्सन आउन सक्छ । बजारको आगामी यात्राको विषयमा कुन विश्लेषकले के भने त ? हेरौं:

विष्णुु बस्याल
बजारले बुल रन समातिसकेको छ । यद्यपि पहिलो हल्ट कहाँ हो भन्ने कुरा भने अलिक रहस्यमय बनिरहेको देख्छु । हामी के आशा गर्न सक्छौं भने पहिलो हल्ट १३५० देखि १३९० को विन्दूमा आउनेछ । एक डेढ महिनापछि करेक्सन आएर १०० अंकको गिरावट आइसकेपछि भने बुलिसको यात्रा अझ बलियो बन्ने देखिन्छ । म ठोकुवासाथ भन्न सक्छु,सन् २०२१ को पहिलो क्वार्टरमा नेप्से परिसूचक अलटाइम हाईमा हुनेछ ।

पछिल्ला केही दिनयता वाणिज्य बैंकको बलियो उपस्थितिले बुलिसमा मुभ गरिराखेको छ, यो भनेको आगामी दिनका लागि बजारलाई सकारात्मक सन्देशको संकेत हो । आउने साता पनि बुलिस यात्राले निरन्तरता पाउने मेरो प्रक्षेपण हो ।

सूकराम पाण्डे
समग्र रुपमा भन्नु पर्दा माइक्रोफाइनान्सको सेयरमूल्यमा अत्यधिक उछाल आइसकेकाले करेक्सन आउने सम्भावना देखिन्छ । नेप्सेको र्याली सुरु भएकाले मुमेन्ट सुरु भइसकेको छ । बजारमा करेक्सन आएर छिर्छु भन्नेका लागि अहिले उपयुक्त समय पनि हो । तपाईँ हामीले नसोचेको विन्दूमा नेप्से टाढा जाने प्राविधिक रुपमा देखिन्छ । कथम्कदाचित करेक्सन  ५–६ दिनको आए पनि आत्तिनुपर्ने छैन ।

चाँडै नेप्से परिसूचक १३७० पुग्ने र एउटा करेक्सन आउनसक्ने सम्भावना छ । यस्तो करेक्सन आए पनि बजार १२८५ को बिन्दूभन्दा तल आउँदैन । बजार समग्र रुपमा ग्रोथ नै हुने र २–३ महिना चाहिँ बजारले पृथक गतिशीलता देखाउनसक्छ ।

हामीले आगामी अप्रिल २२ अघि नसोचेको र्यालीले गर्दा कम्तीमा नेप्से परिसूचक १५५० को विन्दू पार गर्दै १७५० को विन्दूलाई चूम्ने प्राविधिक रुपमा प्रक्षेपण गर्न सकिन्छ ।

आगामी साताको हकमा भने साताको सुरुवाती तीन दिन बढ्ने र सप्तान्ततिर झिनो करेक्सन आउनसक्ने सम्भावना छ । बैंकिङ समूह भने आगामी साता ४० अंकले बढ्ने पक्का हो भने बजारमा थप मुमेन्ट सिर्जना हुने देखिन्छ ।