काठमाण्डौ । आठ महिनायताकै सर्वाधिक उचाईमा नेप्से पुगिसकेको छ । सेयर बजारप्रति लगानीकर्ताको मनोबलसमेत बढिरहेको देखिन्छ । बजारले बुल रन समातिसकेको यो अवस्थामा आधारभूत रुपमा बजारको विश्लेषण गर्दै आएकाहरु चाहि के भन्छन् ? आगामी सातादेखि बजारको दिशा कर्ता जाला ? लगायतका विषयमा हामीले केही विश्लेषकहरुलाई सोधेका छौ । हेरौं कसले के भनेः

अनलराज भट्टराई, पूर्व बैंकर तथा सेयर बजार विश्लेषक
सेयर लगानीकर्ताहरुको मनोबल निरन्तर बढिरहेको छ, यो सकारात्मक पक्ष हो । अरु सेक्टरमा कर्जाको माग नबढ्नु र तरलताले समेत सेयर बजारलाई सकारात्मक प्रभाव पारेको देखिन्छ । सेयर कर्जाहरुमा बैंकहरु खुकुलो हुनुले आगामी दिनमा सेयर बजारले सकारात्मक लय समात्नसक्ने प्रबल सम्भावना छ । बजार यस्तै होला भनेर ठ्याक्कै भन्न त सकिन्न, तर समग्रमा बजारले सकारात्मक लय समातिसकेको चाहि ढुक्कले भन्न सकिन्छ । 

हेमन्त बस्याल, विश्लेषक
सेयर बजारमा वियरिस ट्रेण्डको अन्त र बुल रन सुरु भइसकेको छ । तरलता सहजताले समेत बजार बढोत्तरीमा थप बल पुगेको देखियो । नेप्से परिसूचक कन्सिसटेन्ट भएर बुलिस हुने भन्ने ठेगान चाहिँ छैन । यसमा आगामी दिनमा सरकारले लिने नीति र बजारमा उपलब्ध तरलताले नै धेरै कुरा निर्धारण गर्छ । मेरो अनुमानमा आगामी हप्ता बजारमा केही करेक्सन आउन सक्ला । किनकि तल्लो लेभलमा किनेका लगानीकर्ताले नाफा सुरक्षित गर्ने भएकाले सामान्य करेक्सन आउनुपर्छ । पुस मसान्तमा गएको राजश्वको पैसाले कस्तो असर पर्ने हो, त्यो भने हेर्न बाँकी नै छ ।

दिलीप मुनंकर्मी, सेयर बजार जानकार
बैंकहरुका नाफा राम्रो हुनु र पीई रेसियो १० भन्दा कम हुँदा सेयरमूल्य अन्डरभ्यालु भएकै हो । बुल रन सुरु भएको भन्न चाहिँ गाह्रो छ । मेरो विचारमा नेप्से सूचकाङ्क १३५० को विन्दू पार गरेपछि मात्रै बुल रनको कन्फर्मेसन हुनेछ ।

आगामी साता प्रफिट बूकको चटारोले करेक्सन आउन सक्छ । जुन आगामी दिनका लागि राम्रो पनि हो । लगानीकर्ताहरुमा सकारात्मक मनोविज्ञान भएकाले अब भने नेप्से ११०० विन्दूमुनि नआउने निश्चित छ । समग्र सेयर बजार लगानीकर्ताकै सोंचमा चल्ने भएकाले सोही सोच हिजोआज सकारात्मक भएकाले आगामी दिनमा नेप्सेले सकारात्मक लय नै समात्ने देखिन्छ ।

दीपेन्द्र अग्रवाल, ठूला सेयर लगानीकर्ता
सरकारले कर्जामा कडाइ गरिदिनु र बजारमा तरलता थपिनु सेयर बजारका लागि सकारात्मक संकेत हो । अन्य क्षेत्र तहसनहस र धरपकड हुने भयले असुरक्षित रहेकाले समेत हाल सेयर बजारलाई सुरक्षित ठानेर लगानीकर्ताहरुको उपस्थिति बाक्लिएको देखिन्छ ।

बजार बलियो अवस्थामा छ । ब्याजदर निरन्तर घट्दै जाँदा नयाँ बुलको सुरु भइसकेको सेयर बजारको बुझाइ हो । आगामी दिन झन् सकारात्मक देखिन्छ भने आगामी साताबाट कारोबार फुकुवा हुन गइरहेको ग्लोबल आइएमई बैंकले नै समग्र बैंकिङ उपसमूहमा उछाल आउने देखिन्छ । माघ ८ गते वर्तमान अर्थमन्त्री युवराज खतिवडाको निरन्तरता वा बहिगर्मनको टुङ्गो लाग्ने हुनाले समेत लगानीकर्तामा त्यसको सकारात्मक प्रभाव परी बजार झन् बढ्ने नै देखिन्छ ।

टंकप्रसाद गौतम(उपाध्यक्ष)-स्टक ब्रोकर्स एशोसिएसन अफ नेपाल
लगानीकर्ताहरुमा मनोबल बढेर सकारात्मक माहौल सिर्जना भएको पाइन्छ । अर्थतन्त्रका सूचकहरुमा सकारात्मक र ब्याजदर स्थिर हुनुले बजारलाई सकारात्मक प्रभाव पार्दछ । आगामी दिनमा सेयर बजार अझ उज्वल भएर जानेछ ।