काठमाण्डौ । दोश्रो बजारमा पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली स्थापना तथा संचालनको मिति केही महिना पछि सरेको छ । 

नेपाल स्टक एक्सचेञ्जले बिहीबार एक विज्ञप्ति जारी गर्दै आगामी आर्थिक वर्षको प्रथम त्रैमासमा लगानीकर्ताहरुले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको सुविधा पाउने स्पष्ट पारेको हो । 

यसअघि धितोपत्र बोर्डका अधिकारीहरुले भने नयाँ वर्षको पहिलो महिना अर्थात बैशाखबाटै पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली संचालन गर्ने गरी गृहकार्य थाल्न नेप्सेलाई निर्देशन दिएका थिए । बोर्डले दाबी गर्दै आएको मितिभन्दा काम सक्न केही महिना ढिलो हुने भएको हो । 

कारोबार प्रणालीलाई पूर्ण स्वचालित अनलाइनमा रुपान्तरण गर्नका लागि आह्वान गरिएको टेण्डर हात पारेको वाइको कम्पनीले नयाँ प्रणाली निर्माणको कार्य द्रूत गतिमा अगाडि बढाइरहेको छ । प्रणाली स्थापनाका लागि जुटेको कम्पनीसँगको समेत सल्लाहमा नेप्सेले पूर्ण स्वचालित कारोबार प्रणाली संचालनको मिति आगामी आर्थिक वर्षको पहिलो त्रैमासलाई तोकेको हो । 

सेयरको दोश्रो बजारमा पूर्ण अनलाइन कारोबार प्रणाली सुरु भएपछि यसले बजारमा आमूल सुधार गर्ने आशा गरिएको छ । पूर्ण स्वचालित कारोबार प्रणाली स्थापनापछि काठमाण्डौ र ठूला शहर केन्द्रीत लगानीकर्ताको एकाधिकार अन्त हुनेछ भने सेयर दलालको कार्यालयमै पुुगेर सेयर खरीदको अर्डर दिने बाध्यता समेत हटेर जानेछ । पूर्ण स्वचालित प्रणालीपछि बजारमा चलखेल गरेर घटाउने र बढाउने समूह निस्क्रिय हुने, ठूला लगानीकर्ताहरुको चंगुुलमा साना लगानीकर्ता पर्ने अहिलेको भयावह अवस्था समेत अन्त हुने दाबी गरिदै आएको छ ।