काठमाण्डौ ।  सानिमा माई हाइडोपावर लिमीटेडले आज(शुक्रबार)देखि १ बराबर १ को अनुपातमा हकप्रद सेयरको बिक्री खुल्ला गरेको छ । 

यो जलविद्युत कम्पनीले १ सय रुपैयाँ अंकित दरका कुल १ करोड ५ लाख ५० हजार कित्ता सेयरको बिक्री खुलाएको हो । 

इच्छुक सेयरधनीले भदौ २९ गतेसम्म तोकिएका केन्द्रमा गएर हकप्रद खरीदका लागि आवेदन दिनसक्नेछन् । 

यो कम्पनीले हकप्रद प्रयोजनका लागि साउन १० गतेलाई बुक क्लोजको मिति तोकेको थियो । यसको अर्थ साउन ९ गतेसम्म यो कम्पनीको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र हकप्रदका लागि आवेदन दिनसक्नेछन् । 

हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमीटेडले गर्नेछ । 

सेयरधनीले सनराइज क्यापिटल लिमीटेडको कमलपोखरी, काठमाण्डौस्थित मुख्य कार्यालय, सनराइज बैंक लिमीटेडको इलाम शाखा, उपत्यकाभित्रका चुच्चेपाटी, कलंकी, कुमारीपाटी, महाराजगञ्ज, न्यूरोड र सूूर्यविनाय शाखा तथा उपत्यकाबाहिरका विराटनगर, वीरगञ्ज, विर्तामोड, बुटवल, दमक, धरान, लहान, नारायणगढ, नेपालगञ्ज र पोखराबाट समेत आवेदन दिनसकिनेछ । यस्तै, लक्ष्मी बैंक लिमीटेड इलामबाट समेत आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ । 

सत्प्रतिशत हकप्रदको पूँजीकरणपछि यो कम्पनीको चुक्तापूँजी २ अर्ब १० करोड पुुग्नेछ । यो कम्पनीको अधिकृत पूँजी २ अर्ब ७० करोड रुपैयाँ रहेको छ ।