काठमाण्डौ । नेपाल ग्रामीण विकास बैंकले आफ्नो स्वामित्वमा रहेको रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमीटेड(आरएमडिसी)को संस्थापक समूहतर्फको ८७ हजार ५ सय ६४.७४ कित्ता सेयर आज(भदौ १५ गते)देखि बोलकबोल प्रक्रियाबाट बिक्री खुलाएको छ । 

ग्रामीण बैंकले बजारमा अन्तिम कारोबार मूल्य प्रतिकित्ता ८ सय २ रुपैयाँ रहेको सेयरलाई न्यूनतम प्रति कित्ता ४ सय १ रुपैयाँ मूल्य तोकी लिलामीबाट बिक्री गर्न लागेको हो । 

ग्रामीण बैंकले एक सूचना प्रकाशित गर्दै आफ्नो स्वामित्वमा रहेको आरएमडिसीको संस्थापक सेयर बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको हो । 

बैंकको सूचना अनुसार आरएमडिसीका हाल कायम संस्थापक सेयरधनी वा इच्छुक जोकसैले लिलामी प्रक्रियामा सहभागी हुन सक्नेछन् । सेयर खरीदका लागि भदौ २३ सम्म आवेदन दिइसक्नुुपर्नेछ । 

न्यूनतम १ हजार कित्ता वा सो भन्दा बढीका लागि १० अंकको गुुणांकमा नेपाल राष्टबैंकले तोकेको प्रति व्यक्ति वा संस्थाको सीमाको अधिनमा रहने गरी अधिकतम ८७ हजार ५ सय ६४.७४ कित्ताकै लागि पनि आवेदन दिनसकिनेछ । 

इच्छुुक लगानीकर्ताले तोकिएको समयभित्र बिक्री प्रबन्धकको काम गरिरहेको एनएमबी क्यापिटल लिमीटेडको काठमाण्डौ नागपोखरीस्थित मुख्य कार्यालयमा गएर गोप्य शिलबन्दी बोलपत्र पेश गर्नसक्नेछन् । 

परेका बोलपत्रहरु भदौ २५ गते बिक्री प्रबन्धकको मुख्य कार्यालयमा आवेदक तथा तिनका प्रतिनिधिको उपस्थितिमा खोलिने बताइएको छ ।