काठमाण्डौ । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले आज(असोज २६ गते)देखि १ बराबर १ः२ को अनुपातमा हकप्रद सेयरको निश्कासन गरेको छ । 

यो बैंकले एकसय रुपैयाँ अंकित मूल्यका कुल २६ लाख ४३ हजार ५ सय ३८.८० कित्ता सेयर निश्कासन गरेको हो । 

निश्कासित हकप्रद खरीदका लागि बैंकका सेयरधनीले अबको ३५ दिनभित्र अर्थात आगामी कात्तिक २९ गतेसम्म आवेदन दिनसक्नेछन् । 

हकप्रदका लागि बैंकले गत असोज १८ गतेलाई बुक क्लोजको मिति तोकेको थियो । यसको अर्थ असोज १७ गतेसम्म यो बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन् । 

हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल मार्केट लिमीटेड रहेको छ ।

इच्छुक सेयरधनीले बिक्री प्रबन्धकको मुख्य कार्यालय(लाजिम्पाट, काठमाण्डौ), नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकका सबै शाखा कार्यालयबाट हकप्रदका लागि आवेदन दिन पाउनेछन् । 

हाल यो बैंकको चुक्तापूँजी २२ करोड रहेको छ । १२० प्रतिशत हकप्रदको निश्कासनपछि यो बैंकको चुक्तापूँजी वृद्धि भई ४८ करोड ४६ लाखको उचाईमा पुुग्नेछ ।