काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमीटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकको ४ लाख ४४ हजार ६ सय २२ कित्ता संस्थापक सेयर बोलकबोलबाट बिक्री गर्ने भएको छ । 

नेपाल इन्स्योरेन्सले मंगलबार एक सूचना प्रकाशित गर्दै कात्तिक २८(आज)देखि एनसीसी बैंकको संस्थापक सेयरको लिलामी प्रक्रिया खुल्ला गरेको हो । इच्छुक लगानीकर्ताले पुस ३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । 

नेपाल इन्स्योरेन्सले एनसीसीको संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८५ रुपैयाँ तोकेको छ । यही आधारमा प्रतिकित्ता १८५ वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने सूचनामा उल्लेख छ । 

इच्छुक लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम जति पनि सेयर खरीदका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ । 

एनसीसीको संस्थापक सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरु, एनसीसीका सेयरधनी लगायतले आवेदन दिनसक्नेछन् । सबैभन्दा बढी बोलकबोल गर्ने आवेदकलाई सेयर बिक्रीमा प्राथमिकता दिइने सूचनामा उल्लेख छ । 

इच्छुकले बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेडको लाजिम्पाटस्थित मुख्य कार्यालयमा आइपुुग्ने गरी गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सकिने बताइएको छ ।