काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले आज (साउन १५ गते)देखि एफपीओको बिक्री खुलाएको छ । 

बैंकले १०० रुपैयाँ अंकित मूल्यमा रु. १०० प्रिमियम थपी रु. २०० प्रतिकित्ताका दरले ४ लाख ६३ हजार ८ सय २६ कित्ता एफपीओ निश्कासन गरेको हो ।

इच्छुक लगानीकर्ताले छिटोमा साउन १८ गतेसम्म आवेदन दिन सक्ने बताइएको छ । सो बेलासम्म पनि सबै कित्ता बिक्री नभए ढिलोमा भदौ १४ गतेसम्म आवेदन दिन सकिने छ ।

इच्छुकले न्यूनतम ५० देखि अधिकतम २ हजार ३ सय कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

एफपीओको निश्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमीटेड रहेको छ । 

थप सार्वजनिक निश्कासन(एफपीओ) गरी बाँडफाँड गरेपछि बैंकमा संस्थापक समूहको सेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम हुनेछ । 

सिटिजन्स बैंकको एफपीओलाई इक्रा नेपालले (इक्राएनपी) आइपीओ ग्रेड ३ को प्रमाणपत्र प्रदान गरेको छ । यसको अर्थ कम्पनीको अवस्था औसत छ भन्ने हो । यस्तो कम्पनीमा लगानी गर्दा जोखिम कम हुन्छ । 

इच्छुक लगानीकर्ताले सीआस्वा सदस्य बैंक तथा बित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट दरखास्त दिन सक्ने व्यवस्था मिलाइएको छ । 

१.०२ अर्ब लाभांश दिने, शाखा बिस्तारमा मरिहत्ते नगर्ने !
एफपीओ निश्कासनको तरखरमा रहेको सिटिजन्स बैंक इन्टरनेशनलले आर्थिक वर्ष २०७६/७७ सम्म नाफालाई बढाएर १ अर्ब ७० करोडको हाराहारीमा पुर्याउने प्रक्षेपण  गरेको छ । 

बैंकले आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ४० करोडको हाराहारीमा खूद नाफा आर्जन गरेको छ । यसलाई आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब ४५ करोड र २०७६/७७ मा १ अर्ब ७० करोडको हाराहारीमा पुर्याउने बैंकले लक्ष्य लिएको हो । 

बैंकले २०७४/७५ को सञ्चित मुनाफाबाट सेयरधनीलाई १ अर्ब २ करोड रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै, आ।ब। २०७५/७६ मा पनि १ अर्ब २ करोड बराबरकै लाभांश वितरण गर्ने उसको प्रस्ताव छ । आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चाहि लगानीकर्तालाई १ अर्ब २७ करोड बराबरको लाभांश वितरण गर्ने बैंकको प्रक्षेपण छ । 

आ।ब। २०७४/७५ को वितरणयोग्य मुनाफाबाट बैंकले १२.६३ प्रतिशत लाभांश वितरण गर्नेछ, आ.ब. २०७५/७६ मा यही अनुपातमा वितरण गरिने बताइएको छ । ०७६/७७ मा भने १५.७९ प्रतिशत लाभांश लगानीकर्ताले पाउनेछन् । 

यो बैंकले आर्थिक वर्ष २०७६/७७ सम्मै चुक्तापूँजी बढाउन नपर्ने भएकोले नगद लाभांश वितरणमै जोड दिएको छ ।

बैंकले २०७४/७५ सम्म १ अर्ब ७६ करोडमा सीमित जगेडाकोषलाई बढाएर ०७५/७६ सम्म २ अर्ब १६ करोड तथा ०७६/७७ सम्म २ अर्ब ५७ करोडको उचाईमा पुर्याइने समेत प्रक्षेपण गरेको छ । 

आ।ब। २०७४/७५ मा १४.४७ प्रतिशत रहेको नेटवर्थमा प्रतिफल आ.ब. २०७५/७६ मा भने घटेर १४.२१ प्रतिशतमा सीमित हुने र ०७६/७७ मा बढेर १५.९४ प्रतिशतको उचाईमा पुग्ने बैंकको प्रक्षेपण छ । 

यो बैंकको विगत ३ वर्षको नेटवर्थमा भएको औसत प्रतिफल १७.०५ प्रतिशत रहेको छ । 

बैंकले ०७५/७६ र ०७६/७७ मा निक्षेपतर्फ क्रमशः २२ र २१ प्रतिशतको वृद्धि गर्ने लक्ष्य लिएको छ भने कर्जातर्फ १९ र १८ प्रतिशतको वृद्धिको लक्ष्य लिएको छ । 

यो बैंकले शाखा बिस्तारलाई अझै पनि प्राथमिकतामा नराखेको उसको प्रक्षेपण रिपोर्टले देखाउँछ । आर्थिक वर्ष २०७६/७७  सम्ममा पनि बैंकले शाखा संख्या ८९ वटा मात्र पुर्याउने प्रक्षेपण गरेको छ । हाल यो बैंकको शाखा संख्या ७९ वटा रहेको छ । हाल ३७ वटामा सीमित एटीएम संख्या चाहि बढाएर २०७६/७७ सम्म ८५ वटा पुर्याउने बैंकको लक्ष्य छ । 

आर्थिक वर्ष २०७४/७५ मा १७.६३ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी आ.ब. २०७५/७६ मा १८.०३ रुपैयाँ र ०७६/७७ मा २१.०३ रुपैयाँको उचाईमा पुर्याउने बैंकको प्रक्षेपण छ ।