काठमाण्डौ । बैंक र डिम्याट इन्टीग्रेसनबिनाको जोखिमपूर्ण अनलाइन कारोबार प्रणाली नेप्सेले आजदेखि कार्यान्वयनमा ल्याउँदैछ ।

सेयर कारोबार पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली कार्यान्वयनको ग्राण्ड लञ्च गरिएको एक महिना ३ दिनपछि ब्रोकरले पत्याएका केही सीमित लगानीकर्ताहरुले मात्र चलाउन पाउने गरी प्रणालीको कार्यान्वयन गर्न खोजिएको हो । 

लगानीकर्ताको हातमा आजदेखि अनलाइन कारोबार प्रणालीको सम्पूर्ण साँचो पुग्ने प्रचार गरिए पनि अपूरो प्रणाली मात्र उनीहरुले पाउनेछन् । किनभने यो प्रणालीमा अझै पनि सेयर खरीदका लागि गर्नुपर्ने भुक्तानी भने अनलाइन छैन । यसलाई कतिपय विश्लेषकले नूनबिनाको तरकारीजस्तो खल्लो र अपूरो अनलाइनको संज्ञा दिएका छन् । 

नेप्सेले अनलाइनको ग्राण्ड लञ्चलगत्तै देखिएका सानातिना समस्याको समाधान गरिसकेको दाबी गरेको छ । तर, अनलाइन सेयर कारोबार प्रणालीको महत्वपूर्ण कडी मानिएको बैंक तथा डिम्याट इन्टीग्रेसनको काम भने अझै भद्रगोल अवस्थामै छ । यो काम नभई पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली मान्न नसकिने विश्लेषकहरु बताउँछन् । 

यसको अर्थ हो बैंक खाताबाट शेयर बिक्रीकर्ता वा खरीदकर्ताले भुक्तानी गर्ने रकमका सम्बन्धमा तयारी अझै पूर्ण छैन । कारोवार अनलाइन प्रणालीबाट भए पनि भुक्तानीका लागि भने अझै केही समय धितोपत्र दलाल व्यवसायीमै पुग्नुपर्ने लगानीकर्ताको बाध्यता ज्यूँका त्यू नै छ । 

बैंक इन्टीग्रेसनको यही कुरा बुझेको नेप्सेले सबै लगानीकर्ताका लागि अनलाइन कारोबार प्रणाली खुल्ला गर्ने मिति भने जनवरी १ लाई तोकेको छ । तर, बैंक तथा डिम्याट इन्टीग्रेसनमा भइरहेको चलखेलले जनवरी १ बाट समेत लगानीकर्ताले पूर्ण रुपमा तयार स्वचालित अनलाइन सेयर कारोबार प्रणाली पाउने संभावना केही पर धकेलिने संभावना देखिन्छ । 

गत कात्तिक २० गतेदेखि अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याएको भए पनि प्राविधिक कठिनाइ र प्रयोगमा देखिएको समस्याका कारण पूर्ण कार्यान्वयनमा आउन सकेको थिएन । नेप्सेको अपूरो तयारी र हतारोका कारण बजार समेत प्रभावित भएको र करोडौंको सम्पत्ति गुमेको भन्दै लगानीकर्ता आन्दोलनमा उत्रिँदै आएका छन् । नेप्सेले पूर्व निर्धारित तालिका अनुसार नै आजदेखि बैंक इन्टीग्रेसनबिनाको अपूरो अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएकै दिन लगानीकर्ताले भने नेप्से परिसरमै रिले अनसन समेत सुरु गरेका छन् । 

सबै पक्षको गुनासो सम्बोधन हुने गरी आवश्यक तयारी गरिएको नेप्सेको दाबी छ । नेप्सेका अधिकारीहरुले आइतबारदेखि पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली सञ्चालनमा ल्याउन स्टक, धितोपत्र दलाल व्यवसायी र लगानीकर्ता सहमत भएको बताएका छन्।

पूर्ण  अनलाइन प्रणाली सञ्चालन गर्न धितोपत्र दलाल व्यवसायी र लगानीकर्ताबीच हुने सम्झौतापत्र तयार पारिएको छ ।

सबै लगानीकर्ताको हात हातमा पुर्याउने लक्ष्य राखिएको छ । त्यसबाट शेयर खरीद बिक्रीको प्रक्रियामा रहेको जोखिम तथा अन्य कठिनाइ व्यवस्थापन गर्न सहज हुनेछ । 

सम्झौतापत्रमा दुवै पक्षले पालना गनुपर्ने शर्त समावेश छन् ।