काठमाण्डौ । ग्रीनलाइफ हाइड्रोपावर लिमीटेडले आज(माघ २२ गते)देखि आयोजना प्रभावितका लागि १८ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासन गरेको छ ।

कम्पनीको आइपीओमा दोलखा जिल्लाका सर्वसाधारणले फागुन ७ गतेसम्म आवेदन दिन सकिनेछ ।

यो जलविद्युत आयोजना कम्पनीले ३० प्रतिशतले हुन आउने ५ लाख ४० हजार कित्ता गौरीशंकर गाउँपालिका वडानम्बर ७ का बासिन्दाका लागि, गौरीशंकर गाउँपालिका वडानम्बर ५, ६, ८ र ९ का बासिन्दाका लागि ४० प्रतिशतले हुन आउने ७ लाख २० हजार कित्ता र बाँकी रहेको ३० प्रतिशतले हुन आउने ५ लाख ४० हजार कित्ता गौरीशंकर १, २, ४ का बासिन्दा तथा बिगु गाउँपालिकाको वडानम्बर ४ का बासिन्दाका लागि सुरक्षित गरेको छ ।

इच्छुक आवेदकले न्यूनतम २० कित्तादेखि अधिकतम ९ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

यो कम्पनीले गत भदौ ६ गते आयोजना प्रभावितका लागि आइपीओ निश्कासनको माग गर्दै आवेदन दिएको थियो । बोर्डले पुस १७ गते आइपीओ निश्कासनको अनुमति दिएको हो । 

आयोजना प्रभावितपछि कम्पनीले सर्वसाधारणका लागि समेत सेयर निश्कासन गर्ने योजना बनाएको छ । 

केयर रेटिङ्स नेपालले यो कम्पनीको आइपीओलाई ग्रेड फोरको रेटिङ प्रदान गरेको छ । यो भनेको कम्पनीको अवस्था कमजोर छ भन्ने हो । 

ग्रीनलाइफको निश्कासन तथा बिक्री प्रबन्धकमा काठमाण्डौ क्यापिटल लिमीटेड रहेको छ । 

ग्रीनलाइफले दोलखाको मार्बु गाउँपालिकामा ४० मेगावाटको खानीखोला १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

हाल यो कम्पनीको चुक्तापूँजी १ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । आयोजना प्रभावित र सर्वसाधारणका लागि आइपीओ निश्कासनपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ८० करोडको उचाईमा पुग्नेछ । 

कहाँ-कहाँबाट दिने आवेदन ?

  • ग्रीनलाइफ हाइड्रोपावर लिमीटेड
  • सेञ्चुरी कमर्सियल बैंकको सिंगटी र चरिकोट शाखा
  • प्राइम कमर्सियल बैंकको जिरी र बैठेश्वर शाखा