काठमाण्डौ । नेपाल राष्ट्रबैंकले सर्वसाधारणका लागि भदौ २८ गते (आज)देखि दशैंका लागि नयाँ नोट सटही थालेको छ । 

संवैधानिक निकाय, नेपाल सरकारका कार्यालय, संस्थान, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी अन्य संघ संस्थाले भने यो सुविधा भदौ २१ गतेदेखि पाइरहेका छन् ।

सर्वसाधारणलाई रु. ५, १०, २०, ५० र १०० दरका नयाँ तथा सफा/सुकिलो नोटहरु प्रति व्यक्ति अधिकतम रु. २०,०००।– का दरले सटही सुविधा दिन थालिएको हो । 

केन्द्रीय बैंकले सरकारी लगानीका तीनवटा बैंक र तिनका शाखाबाट नयाँ नोट सटही हुने व्यवस्था गरेको छ । अब राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकबाट मात्र नयाँ नोट सटहीको सुविधा प्राप्त हुनेछ । 

सर्वसाधारणले कहाँ कहाँबाट पाउँछन् त नयाँ नोट साट्न ? यो सूचि हेरौं:

नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका सटही काउण्टरहरुबाट पनि सर्वसाधारणले आजदेखि नै रु. ५, १०, २०, ५० र १०० दरका नयाँ तथा सफा÷सुकिलो नोटहरु साटिरहेका छन् । यो ठाउँबाट भने प्रति व्यक्ति अधिकतम रु. २७,०००।– का दरले सटही सुविधा पाइनेछ ।

सटही सुविधालाई सहज ढङ्गबाट सम्पादन गर्न भन्दै प्रत्येक दरका नोटको खुद्रा संख्या १०० को प्याकेटका आधारमा मात्र सटही गरिने भएकोले सोही बमोजिम नोट सहटीको माग गरी नोट सटही कार्यलाई सहयोग गर्न समेत राष्ट्रबैंकले सर्वसाधारणलाई आग्रह गरेको छ । 

संवैधानिक निकाय, नेपाल सरकारका कार्यालय, संस्थान, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी अन्य संघ संस्था लगायत कार्यालयहरुलाई सम्बन्धित निकायको पत्रको आधारमा नयाँ, सफा/सुकिलो नोटको उपलव्धता हेरी सटही गर्ने कार्य मुद्रा व्यवस्थापन विभाग, थापाथलीको काउण्टरबाट २०७४ भाद्र २१ गतेदेखि ३० गतेसम्म नोट सटही सुविधा उपलव्ध गराइनेछ । 

राष्ट्रबैंकका उपत्यका बाहिरका कार्यालयहरु र यस बैंक मातहत संचालित नोटकोष रहेका वाणिज्य बैंकहरुले समेत २०७४ भाद्र २८ गतेदेखि सर्वसाधारणहरुलाई नयाँ सफा/सुकिलो नोट सटहीको सुविधा उपलब्ध गराउनुपर्ने सूचनामा उल्लेख छ ।

कति बाँडिएला ?
केन्द्रीय बैंकले यो वषृ १५ अर्ब रुपैयाँसम्मको नयाँ नोट सटहीको व्यवस्था गरिदिनेछ । गत वर्ष १० अर्ब ३१ करोडको नयाँ नोट वितरण गरिएको थियो । सोमबारसम्म केन्द्रीय बैंकले ५ अर्ब ८४ करोड ५५ लाखका नयाँ नोट संवैधानिक निकाय, नेपाल सरकारका कार्यालय, संस्थान, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी अन्य संघ संस्थालाई वितरण गरिसकेको छ । अघिल्ला वर्षको दशैंमा ७ दिन मात्र नयाँ नोट सटहीको सुविधा दिइने गरिएकोमा यो वर्ष त्यसलाई लम्ब्याएर १० दिन पुर्याइएको छ ।