काठमाण्डौ । पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आजबाट पूर्ण सुधार हुने बताइएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव कम भएपछि आजबाट मौसममा सुधार आउनेछ ।

हाल देशको पूर्वी भूभाग लगायत मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ र उपत्यका तथा तराईका केही स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ९ डिग्री र अधिकतम १६.६ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस शून्य दशमलव १ डिग्री सेल्सियसमा झरेको छ ।

आज देशको पूर्वी भूभागलगायत मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति देशको पूर्वी भूभाग लगायत मध्य तथा पीश्चमी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने औँल्याएको छ । 

आज देशभर आंसिकदेखि सामान्य बदली रही पहाडी तथा तराई भूभागका एक/दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् विभूति पौखरेले बताउनुभयो । उहाँका अनुसार  भोलि पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।

मङ्गलबार पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रही पश्चिमी पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्र्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।