काठमाण्डौ। चितवनमा कोरोनाभाइरसको परीक्षण आज शनिबारबाट सुरु गर्ने तयारी भएको छ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा. मदन पाण्डे र चितवन मेडिकल कलेजका डा. ब्रजेश झाको नेतृत्वमा भरतपुरस्थित राष्ट्रिय पन्छीरोग अन्वेषण प्रयोगशालामा कोरोना भाइरस परीक्षण सुरु हुन लागेको हो।

भरतपुर महानगरपालिकाको पहलमा भरतपुर अस्पतालको स्वामित्वमा हुने गरी प्रयोगशाला सञ्चालनमा आउन लागेको बताइएको छ। यो प्रयोगशालापछि भरतपुर अस्पताल परिसरमा स्थानान्तरण गरिने महानगरले जनाएको छ। 

अब बिरामीको स्वाब नमूना परीक्षण गर्न केन्द्रीय प्रयोगशालामा पठाउनुपर्ने बाध्यता अन्त्य भएको छ। 

चितवनमा भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल पनि सञ्चालनमा छ।

कोरोना परीक्षण काठमाण्डौको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालाका साथै धरान, पोखरा, हेटौंडा, जनकपुर, सुर्खेत र धनगढीमा पनि हुँदै आएको छ। रुपन्देहीको बुटवलमा पनि परीक्षण सुरु गर्न प्रयोगशाला बनाउने काम भइरहेको छ।