काठमाण्डौ । देशका  तीन  वाणिज्य बैंकले आ आफ्नो वार्षिक साधारणसभा आज(पुस २८ गते) आयोजना गर्दैछन् ।

एभरेष्ट बैंक, हिमालयन बैंक र जनता बैंक नेपालले साधारणसभा आयोजना गरी विभिन्न प्रस्ताव पारित गर्नेछन् ।

एभरेष्ट बैंकले लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा आफ्नो २३ औं वार्षिक साधारणसभा आयोजना गर्दैछ । ११  बजेदेखि सुरु हुने साधारणसभामा ३३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक १.७४ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित हुनेछ । 

यस्तै, बैंक संचालकको निर्वाचनसँगै उनीहरुको भत्ता र सुविधा वृद्धिको प्रस्ताव समेत पेश गरिनेछ । साधारणसभाले आर्थिक वर्ष २०७३ ७४ को वित्तीय विवरण समेत पारित गर्नेछ । एजीएमका लागि पुस १३ गतेलाई बुक क्लोजको मिति तोकिएको थियो । यसको अर्थ पुस १२ गतेसम्म एभरेष्ट बैंकको सेयर खरीद गर्नेहरु मात्र आजको वार्षिक साधारणसभामा सहभागी हुन पाउनेछन् । यो बैंकको हाल चुक्तापूँजी ६ अर्ब ११ करोड रुपैयाँ रहेको छ । ३३ प्रतिशत बोनस पारित भएपछि ८ अर्ब १३ करोडको उचाईमा पुग्नेछ ।

यसैगरी, हिमालयन बैंकको बहुप्रतिक्षित २५ औं वार्षिक साधारणसभा समेत आजै आयोजना हुँदैछ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा यसको साधारणसभा हुनेछ । 

यो बैंकको यो साधारणसभा यसकारण पनि महत्वपूर्ण छ कि, यहाँ पेश हुने प्रस्तावले संचालक समितिबीचको विवाद र केही संचालकमाथि परेको अन्यायको समूल नष्ट गर्ने अपेक्षा गरिएको छ । अदालतले विवाद मिलाउने जिम्मा बैंकलाई नै दिएको सन्दर्भमा साधारणसभाले त्यसका लागि परिणामुखी भूमिका निर्वाह  गर्ला वा विवादको आगोमा घिउ थप्ला भन्ने कुराको निक्र्यौल समेत आजै हुँदैछ । 

हिमालयन बैंकको साधारणसभामा २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक १.३१५८ प्रतिशत नगद लाभांशको प्रस्ताव समेत पारित गर्नेछ । यो बैंकले साधारणसभा प्रयोजनका लागि पुस ११ गते बुक क्लोजको मिति तोकेको थियो । यसको अर्थ पुस १० गतेसम्म कायम बैंकका सेयरधनी मात्र साधारणसभामा सहभागी हुन पाउनेछन् ।

यो बैंकको हालको चुक्तापूँजी ६ अर्ब ४९  करोड रुपैयाँ रहेको छ । २५ प्रतिशत  बोनस सेयरपछि चुक्तापुँजी बढेर ८ अर्ब ११ करोडको उचाईमा पुग्नेछ ।

उता, दुई राष्ट्रिय स्तरका विकास बैंकलाई गाभेर मजबुत बनेको जनता बैंक नेपाल लिमीटेडले समेत आजै आठौ वार्षिक साधारणसभा आयोजना गर्दैछ । कालिकास्थानको अमृतभोग पार्टी प्यालेसमा हुने साधारणसभामा १४.४० प्रतिशत बोनस सेयर, बोर्ड सदस्यहरुको निर्वाचन, जारी र चुक्तापूँजी वृद्धि, संचालक समितिको संरचना परिवर्तन लगायतका महत्वपूर्ण एजेण्डामाथि निर्णय हुने बताइएको छ । यो बैंकले समेत साधारणसभा प्रयोजनका लागि पुस ११ गतेलाई बुक क्लोजको मिति तोकेको थियो । यसको अर्थ पुस १० गतेसम्म कायम सेयरधनीले मात्र वार्षिक साधारणसभा तथा संचालकको निर्वाचनमा सहभागी हुन, बोनस सेयर पाउन योग्य हुनेछन् । बोनसपछि यो बैंकको पनि चुक्तापूँजी ८ अर्ब माथि पुग्नेछ ।