काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले आफ्नो ३३ औँ वार्षिक साधारणसभा आज सोमबार गर्दैछ ।

काठमाण्डौको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बैंकले वार्षिक साधारणसभा डाकेको छ ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको लाभांश र मर्जर प्रक्रियामा जाने मुख्य अजेन्डाहरु प्रवेश पाउने छन् ।

सभामा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको कुल १९ प्रतिशत लाभांश पारित हुनेछ । जसमा १०.५ प्रतिशत बोनस सेयर र ८.५ प्रतिशत नगद लाभांश (लाभांश करसहित) रहेको छ ।

त्यस्तै सभामा बैंकले अन्य कुनै बैंक वा वित्तीय संस्था प्राप्ति गर्ने वा आपसमा गाभिने प्रयोजनका लागि उपयुक्त बैंक वा वित्तीय संस्थाको पहिचान र छनोट गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने, सोका आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष निवेदन दिने, आवश्यकताअनुसार सम्पत्ति तथा दायित्वहरुको मूल्यांकन गर्न परामर्शदाता, मूल्यांकनकर्ता तोक्ने तथा प्राप्ति वा आपसमा गाभिने प्रक्रियामा अपनाउनुपर्ने तथा गर्नुपर्ने सम्पूर्ण कार्य गर्न गराउन अख्तियारी सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि बैंकले गत पुस १४ गतेदेखि बुक क्लोज गरेको छ । यसको अर्थ पुस १३ गतेसम्म कायम सेयरधनीहरुमाध साधारणसभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुनेछन् ।