काठमाण्डौ । नेपालमा शुक्रबार बिहान थप ९ जनामा कोरोना पुष्टि भएको छ। 

काठमाण्डौको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र नेपालगन्जको भेरी अस्पतालमा गरिएको परीक्षणका क्रममा मकवानपुर र बाँकेका गरी थप ९ जनामा कोरोना पुष्टि भएको हो। 

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार काठमाण्डौमा गरिएको परीक्षणमा मकवानपुरका ३७ वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको छ। त्यस्तै नेपालगन्जमा गरिएको परीक्षणमा बाँकेको नैनापुर–१, ३ का ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। 

हालसम्म प्राप्त विवरणअनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ। 

योसँगै कोरोना संक्रमितको संख्या नेपालमा २५८ पुगेको छ। तीमध्ये ३५ जनाले स्वास्थ्यलाभ गरिसकेका छन्।