काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ दिनदिनै रेकर्ड ब्रेक गरिरहेको छ।

यो साता कारोबारको अन्तिम दिन शुक्रबार पनि रेकर्ड ब्रेक गर्दै सुनको भाउ नेपालकै इतिहासमा हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आज सुनको भाउ तोलामै १ हजार रुपैयाँ बढेको छ ।यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

यो साताभरि सुनको भाउ बढ्यो। यो साता कारोबारको पहिलो दिन आइतबार तोलामा ३०० रुपैयाँले बढेको सुनको भाउ सोमबार स्थिर रहँदै मंगलबार २०० रुपैयाँ, बुधबार १ हजार ६०० रुपैयाँ, बिहीबार १ हजार १ रुपैयाँ र शुक्रबार १ हजार रुपैयाँ बढेको छ। 

समग्रमा यो साता सुनको भाउ तोलामै ४.२१ प्रतिशतले वृद्धि भएको छ। अर्थात् यो साताभरि सुनको भाउ तोलामै ४ हजार २०० रुपैयाँ बढेको छ। गत साता पनि सुनको भाउ तोलामै ३ हजार ५०० रुपैयाँ बढेको थियो।

यो हिसाबले पनि पछिल्लो दुई सातामा सुनको भाउ तोलामै ७ हजार ७०० रुपैयाँ वृद्धि भइसकेको छ। 

आज चाँदीको भाउ पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ। तोलामै ६० रुपैयाँ बढ्दै शुक्रबार चाँदीको भाउ १ हजार ४०५ रुपैयाँ कायम भएको छ। 

हिजो बिहीबार तोलामै ५० रुपैयाँ बढ्दै चाँदीको भाउ १ हजार ३४५ रुपैयाँ कायम भएको थियो।

यो साताभरि चाँदीको भाउ पनि तोलामै २०५ रुपैयाँ वृद्धि भएको छ।