काठमाण्डौ । लामो समय सेयरधनीलाई अलमलमा पारेर सर्वत्र आलोचना व्यहोरेको देवः विकास बैंक लिमीटेडले आगामी असार २७ गते आफ्नो ११ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । 

बैंकले असार २७ गते बुधबार काठमाण्डौको खुसीबुंस्थित नेपा बैंक्वेटमा साधारणसभा आह्वान गरेको हो । 

देवः विकास बैंकको असार ५ गते सम्पन्न २३९ औं बोर्ड बैठकले साधारणसभाको मिति तय गरेको हो । 

साधारणसभाले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट २०७४ कात्तिक २२ गतेसम्म कायम बैंकका सेयरधनीहरुलाई वितरण गरिने गरी तत्कालीन चुक्तापूँजी १ अर्ब ४४ करोड ४९ लाखको १७.१ प्रतिशतले हुन आउने रकम बराबरको बोनस सेयर प्रदान गर्न स्वीकृति प्रदान गर्नेछ । यस्तै, बोनस सेयरको कर प्रयोजनका लागि वितरण गरिने ०.९० प्रतिशतले हुन आउने १ करोड ३० लाख ४ हजार बराबरको नगद लाभांशलाई समेत स्वीकृति प्रदान गर्ने अजेण्डा साधारणसभामा राखिनेछ । 

बैंकले साधारणसभा प्रयोजनका लागि असार १५ गतेदेखि २७ गतेसम्म बुक क्लोज राख्ने समेत निर्णय गरेको छ । यसको अर्थ असार १४ गतेसम्म यो बैंकको सेयरधनी बनेकाहरु साधारणसभामा सहभागी हुन तथा घोषित लाभांश पाउन योग्य हुनेछन् ।

यसअघि देवः विकास बैंकले २०७४ कात्तिक २३ देखि २९ गतेसम्म बुक क्लोजको मिति तोके पनि साधारणसभा भने गर्न सकेको थिएन । पूँजीवृद्धिको प्रक्रियालाई बाहाना बनाउँदै यो बैंकले आर्थिक वर्षको पहिलो ६ महिनाभित्रमा साधारणसभा गरिसक्नुपर्ने केन्द्रीय बैंकको नीतिगत व्यवस्थाको समेत धज्जी उडाएको भन्दै सर्वत्र आलोचना भएको थियो । लामो समयसम्म साधारणसभा नगर्दा यो बैंकले हजारौं लगानीकर्ताको लगानीमाथि खेलवाड गरेको समेत आरोप लाग्दै आएको छ । 

बैंक व्यवस्थापन समयमै साधारणसभा गर्न चुक्दा अन्यौल सिर्जना भएको थियो । यसबाट कम्पनीमा संस्थागत अनुशासन कमजोर भएको र कम्पनी लगानीकर्ताको हितप्रति गम्भीर नरहेको पुष्टि गर्ने विश्लेषक बताउँछन् ।