काठमाण्डौ । देशका मुख्य एयरलाइन्स कम्पनीका संचालक र सरकारका अधिकारीबीच आगामी असार १७ गतेदेखि आन्तरिक उडान सुचारु गर्ने सहमति भएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार आइतबार मुख्य एयरलाइन्स कम्पनीका संचालकसँग भएको छलफलको क्रममा यस्तो सहमति बनेको हो । 

यो सहमतिको विषयमा आजै कोरोना रोकथाम उच्चस्तरीय समितिलाई रिपोर्टिङ गरिसकिएको छ । उच्चस्तरीय समितिले यो विषयमा सिफारिस गरेपछि मन्त्रीपरिषद बैठकले आन्तरिक उडान सुचारु गर्ने विषयमा आवश्यक निर्णय गर्नेछ । 

प्राधिकरणले आइतबार बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत, श्री एयरलायन्सका प्रबन्ध निर्देशक सुधीर मित्तल र यति एयरलायन्सका सीइओ उमेश राईलाई छलफलका लागि बोलाएको थियो । सो क्रममा हवाई सेवा प्रदायक कम्पनी र प्राधिकरणबीच असार १७ गतेदेखि आन्तरिक उडान थाल्ने सहमति बनेको हो । 

कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले चैत ९ गतेदेखि सबै अन्तराष्ट्रिय व्यवसायिक उडान तथा चैत ११ गतेदेखि आन्तरिक उडान बन्द गरेको थियो । 

लकडाउनको १०० दिनपछि आन्तरिक उडान सुचारु गर्ने सहमति बनेको हो । 

प्राधिकरणस्थित स्रोतले पहिलो चरणमा हिमाली र पहाडी रुटका उडान सुचारु हुनेछन् । देशभरको आन्तरिक हवाई सेवा(उडान) भने साउन पहिलो सातादेखि मात्र सुचारु गरिनेछ । तर, कोरोना संक्रमण प्रकोपको रुपमा फैलिएर उच्च जोखिममा पर्ने जिल्लाहरुमा भने अवस्था सामान्य नभएसम्म उडान हुने छैन । 

आन्तरिक हवाई उडान पूर्ण रुपमा सुचारु भएपछि साउनभित्रै अन्तराष्ट्रिय उडान समेत सुचारु गर्न सकिने विषयमा समेत छलफल भएको छ । 

अन्तराष्ट्रिय उडान समेत एकैपटक सबैतिर खुल्ला गरिनेछैन । कोरोना संक्रमणको जोखिम कम रहेका र कम प्रकोप फलिएका गन्तव्य सुरुवातको प्राथमिकतमा पर्नेछन् । 

सरकारका अधिकारीबीच असार १७ गतेदेखि आन्तरिक उडान सुरु गर्ने सहमति बनेसँगै एयरलाइन्स कम्पनीहरुले टिकटको अग्रिम बुकिङ खोल्ने तयारी गरेका छन् । पहिलो चरणमा पहाडी क्षेत्रको उडान मात्र खुल्ने भएको ती गन्तव्यमा आधारित उडान तालिका सार्वजनिक गर्दै त्यसको टिकट बुकिङ खुल्ला गर्न लागिएको बताइएको छ ।