काठमाडौँ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्म साइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफामा कमी आएको छ । बैंकले मंगलबार प्रकाशन गरेको तेस्रो त्रैमासिक अवधिसम्मको वित्तीय विवरण अनुसार खुद नाफा ११ दशमलव २८ प्रतिशतले कम भएको हो । समीक्षा अवधिमा बैंकले २३ करोड ७२ लाख खुद नाफा आर्जन गरेको छ ।  यो गत वर्षको भन्दा ३ करोड १८ लाख ५ हजार रुपैयाँल कम हो । गत वर्षको यसै अवधिमा बैंकले २६ करोड ९० लाख रुपैयाँ खुद आम्दानी गर्न सफल भएको थियो ।
 
समीक्षा अवधिमा बैंकको ब्याज आम्दानीका साथै सञ्चालन आम्दानीमा समेत कमी आएकाले नाफा कम हुन पुगेको हो । यस अवधिमा बैंकले ४६ करोड ९७ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत वर्षको यही अवधिसम्ममा बैंकले ५० करोड १० लाख रुपैयाँ व्याज आम्दानी गरेको थियो ।
 
यसैगरी बैंकको सञ्चालन मुनाफामा समेत व्यापक कमी आएको छ । समीक्षा अवधिमा बैंकले ३५ करोड १ लाख सञ्चालन आम्दानी गरेको छ । गत वर्ष बैंकले ४१ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । 
 
बैंकमा खराब कर्जा अनुपात भने क्रमश सुुधारोन्मुख देखिएको छ । गत वर्ष कूल कर्जाको शून्य दशमलव २६ प्रतिशत रहेको खराब कर्जा यस वर्ष शून्य दशमलव १६ प्रतिशतमा कायम भएको छ । यसैगरी वार्षिकीकृत प्रतिशेयर आम्दानी २२ दशमलव ९४ रुपैयाँ कायम भएको छ । 
 
बैंकको चुक्ता पूँजी १ अर्ब ३७ करोड ८६ लाख ३५ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ५० करोड ६३ लाख ९७ हजार रुपैयाँ रहेको छ । १२ अर्ब ८५ करोड निक्षेप रेहेको बैंकले ११ अर्ब ४६ करोड कर्जा प्रवाह गरेको वित्तीय विवरणले देखाएको छ । बैंकले आन्तरिक खर्च व्यवस्थापन गर्न नसकेका कारण खुद नाफा कम भएको देखिएको छ ।