काठमाण्डौ । सेयर ब्रोकर र नेप्सेको मिलोमतोमा नियोजित रुपमा दैनिक रुपमा बजार घटाउने काम भएपछि बजार सुधारका केही एजेण्डासहित सेयर लगानीकर्ताहरुले आन्दोलनको घोषणा गरेका छन् । 

सेयर लगानीकर्ता संघको सोमबार बसेको बैठकले पुस १३ गतेदेखि आन्दोलनमा उत्रने निर्णय गरेको हो । 

सो दिन सिंहदरबार प्लाजास्थित नेपाल स्टक एक्सचेञ्जको प्रांगणमा लगानीकर्ताहरुको शान्तिपूर्ण भेला तथा प्रदर्शन हुने बताइएको छ । 

सेयर लगानीकर्ता संघले आफ्ना ६ बुँदे माग प्रस्तुत गर्दै त्यसलाई पूरा गराउन आन्दोलनको बाटो रोज्नु परेको स्पष्ट बनाएको छ ।

संघले बैंकलाई यथाशीघ्र ब्रोकर लाइसेन्स दिनुपर्ने, ब्रोकरहरुलाई यथाशीघ्र शाखा बिस्तार गर्न दिनुपर्ने, कारोबारमा यथाशीघ्र अनलाइन प्रणालीको सुरुवात हुनुपर्ने, बोनस, हकप्रद, मर्जर र सूचिकृतको नीति नियम स्पष्ट हुनुपर्ने, बजार निर्माता ल्याउन पहल हुनुपर्ने र गैरआवासीय नेपालीलाई पनि पूँजीबजारमा ल्याउने प्रयासलाई यथाशीघ्र सार्थक बनाउनुपर्ने माग राखेको छ । 

आफ्ना माग पूरा नभएसम्म संघर्षलाई जारी राख्ने र सेयर लगानीकर्ताको हितका लागि जस्तोसुकै कदम उठाउन समेत आफूहरु तयार रहेको संघका अध्यक्ष उत्तम अर्यालले बताए ।