काठमाण्डौ । कोेभिड १९ को प्रकोप नियन्त्रण तथा रोकथामका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन जारी गरेको छ । 

लकडाउन जेठ ३२ गतेसम्म जारी रहने सरकारको पछिल्लो निर्णय छ। 

लकडाउनको अवधिमा आन्तरिक र बाह्य हवाई उडान समेत ठप्प छन् । तर, यहीबेला अन्तराष्ट्रिय चार्टर उडानमाथि भने रोक थिएन । यही छुटको मौकामा चौका हान्दै लकडाउनकै अवधिमा समेत एयरलाइन्स कम्पनी र ट्राभल एजेन्सीहरुले कुस्त कमाए । संकटको बेला समस्यामा परेका यात्रुहरुबाट साबिकको भाडादरभन्दा बढी रकम असूल्ने क्रम लकडाउनभरि जारी रह्यो । 

यो विषयमा धेरै पहिलादेखि नै पर्यटन मन्त्रालयदेखि नेपाल नागरिक उड्डयन प्राधिकरणसम्मै गुनासो पुगेको थियो । तर, सरकारको यी आधिकारिक निकायले यो विषयमा ध्यान दिएनन् । अब लकडाउन केही खुकुलो हुने अवस्था आउन लागेपछि भने अन्तराष्ट्रिय चार्टर उडानहरुको नाममा मनपरी भाडा असूली हुन थालेको भन्दै कुटनीतिक माध्यमबाट हुने बाहेकका सबै चार्टर उडानमाथि रोक लगाउने निर्णय गरेको छ । 

प्राधिकरणको एयर ट्रान्सपोर्ट डिभिजनका प्रमुख सचितभक्त पोखरेलले शनिबार साँझ एक सूचना जारी गर्दै एयरलाइन्स कम्पनी र ट्राभल एजेन्सीहरुले सरकारलाई झुक्याएर चार्टर उडान गरिरहेकाले रोक लगाइएको प्रष्ट पारेका हुन् । 

नेपाल सरकारले चैत ९ गतेदेखि अन्तर्राष्ट्रिय र ११ देखि आन्तरिक व्यवसायिक उडानमा रोक लगाएको थियो । जुन अझैसम्म पनि जारी छ । तर, सरकारसँग अनुमति नलिई एयरलाइन्स कम्पनी र ट्राभल एजेन्सीहरुको मिलेमतोमा टिकट बिक्री गर्दै यात्रु चार्टर भइरहेको विषय पहिलादेखि नै जानकारीमा आए पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रायलले ढिलोगरी प्राधिकरणलाई यो लूट नियन्त्रणका लागि निर्देशन दिएपछि कुटनीतिकबाहेकका चार्टर उडानमाथि रोक लगाउने निर्देशन आएको हो । 

उड्डयन प्राधिकरणले शनिवार साँझ सबै अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरुलाई चार्टर उडानमाथि लागेको रोकसम्बन्धी सूचना पठाएको छ । 

प्राधिकरणले नेपालका लागि र नेपालबाट यात्रु चार्टर उडान गर्न धमाधम बुकिङ भइरहेको उल्लेख गर्दै त्यस्तो काम रोक्न भनेको छ । 

कुनै देशबाट नेपालका लागि वा नेपालबाट कुनै देशका लागि मानवीय उद्धारको उद्देश्यले चार्टर उडान गर्नुपर्ने भए अब कुटनीतिक च्यानलबाट आउनुपर्नेछ । एजेन्ट र एयरलाइन्सको मिलेमतोमा मनपरी भाडा असूल्दै चार्टर उडान भर्न पाइने छैन । 

लकडाउनको अवधिमा नेपालबाट र नेपालका लागि ११० वटा यस्ता अन्तर्राष्ट्रिय चार्टर उडान भएका प्राधिकरण स्रोतले जनाएको छ । एयरलाइन्स कम्पनी र एजेन्टहरुले यी उडानबाट करोडौं कमाएपछि मात्र सरकारको होस खुलेको देखिएको छ ।