काठमाण्डौ । सेयर लगानीकर्ताहरुले गरेको प्रदर्शनको क्रममा आफूमाथि आक्रमण गर्नेविरुद्ध सेयर बजारका विश्लेषण विष्णु बस्यालले प्रहरीमा उजुरी दर्ता गराउने भएका छन् । 

घटना भएको दुई दिनपछि बुधबार उनले प्रहरीमा ज्यान मार्ने उद्योग अन्तर्गत उजुरी दर्ता गराउने भएका हुन् । 

‘म प्रहरीमा उजुरी दर्ता गराउने क्रममा छु । केहीबेरपछि दर्ता हुनेछ ।’ बिजशालासँग विश्लेषक बस्यालले भने–‘ममाथि कुटपिट र आक्रमण गर्ने जमातको बिषयमा छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै उजुरी दर्ता गराउन लागेको हुँ ।’ 

बस्यालमाथि सेयर बजार परिसूचक ९०० मा झर्छ भनी विश्लेषण गरेकै आधारमा लगानीकर्तामध्येका केहीले सोमबार नेप्से परिसरमा गालामा थप्पड हान्दै थप कुटपिट गरेका थिए । उनलाई प्रहरीले बेलैमा सुरक्षा दिएर त्यहाँबाट उद्धार गरेका कारण थप अप्रिय घटना हुन पाएको थिएन । 

त्यहाँबाट प्रहरीको सहयोगमा निस्किएका बस्याल समेत सो दिन लगानीकर्ताको आन्दोलनलाई समर्थन गर्न त्यहाँ पुगेका थिए । नेप्सेको हलभित्र अनलाइनको मिति तोक्ने बिषयमा उनले मञ्चमा गएर पर्याप्त तयारीबिना मिति तोकेर मात्र हुँदैन भन्दै लगानीकर्तालाई सम्झाउन खोजेका थिए । सोही बाहानामा उनले बोल्दै गरेको माइक खोसी एउटा समूह जाइलागेको थियो । त्यहाँबाट केही लगानीकर्ताको सल्लाहमा हलबाहिर निस्किएका उनलाई पछ्याउँदै पुगेको समूहले नेप्से परिसरमै कुटपिट र आक्रमण गरेको थियो । 

घटनाको बिषयमा प्रदर्शनको नेतृत्व गर्नेमध्ये तीनवटा लगानीकर्ताका संगठनले विज्ञप्ति निकालेर भत्र्सना गरिसकेका छन् । तर, सेयर लगानीकर्ता संघको तर्फबाट भने सो घटनाको बिषयमा कुनै पनि प्रतिक्रिया लिखित रुपमा बाहिर आएको छैन । 

बस्याल स्वयम्ले समेत बिजशालासँग कुरा गर्दै आफूमाथि आक्रामण गर्न अराजक समूहलाई उकास्न सेयर लगानीकर्ता संघका एक नेता सक्रिय देखिएका आरोप लगाएका छन् । ‘मलाई आक्रमण गर्न उकास्नु र घटनाको बिषयमा चूँसम्म नबोल्नुले पनि धेरै कुरा प्रष्ट पार्छ ।’ उनले भने–‘ममाथि कुटपिट गर्नेहरुलाई व्यक्तिगत रुपमा चिन्दिँन । बिजशालाले प्रकाशित गरेको भिडियोको आधारमा छानबिन र ती मान्छेको पहिचान गरी दोषीलाई कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिन लागेको हुँ ।’ 

बस्यालले आफूमाथि आक्रामण अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण भएको उल्लेख गर्दै आक्रमणकारीहरुको पहिचान र उनीहरुमाथि कारबाहीका लागि लगानीकर्ताका संघ संगठनले समेत सहयोग गर्नुपर्नेमा जोड दिए । 

उनीमाथि कसरी भएको थियो आक्रमण ? यो भिडियो हेर्नुहोस्: