काठमाण्डौ । संचार जगत र नागरिक समाजको खबरदारीपछि बंगलादेशी बजारमा पठाउने पेय पदार्थको गुणस्तरमा सुधार गरेको प्रानले नेपालमा पठाउने पेय पदार्थमा भने ज्यानैसम्म जाने खालका अखाद्य वस्तु मिसाएर पठाइरहेको छ । प्रानले सबैभन्दा ठूलो फट्याई र मिसावट उसको लिच्ची जूसमा गरिरहेको छ । 

पछिल्लो समय बंगलादेशी ब्राण्ड प्रानले आफ्नै देशमा संचार जगत र नागरिक समाजको चर्को आलोचना र बहिस्कार व्यहोर्नु परेपछि उसका उत्पादनमा केही सुधार गरेको बंगलादेशस्थित इटीभीका एक वरिष्ठ संवादाताले जनाएका छन् । बंगलादेशका नागरिकले प्रानबाट उत्पादित जूस तथा अन्य प्रडक्टहरु बहिस्कार नै गरेपछि त्यहाँ केही सुधार भए पनि पूर्ण रुपमा प्रानका उत्पादन खान लायक नरहेका ती पत्रकारले बिजशालाले बताए । 

बंगलादेशका नागरिकको स्वास्थ्यप्रति केही सचेत जस्तो देखिए पनि प्रान ब्राण्डका उद्योगीहरु नेपालीहरुको स्वास्थ्यप्रति बेमतलबी देखिएका छन् । यहीकारण उनीहरुले नेपालमा पठाउने पेय पदार्थमा स्वास्थ्यमा गम्भीर असर गर्ने केमिकल हालेर पठाउने गरेका पाइएको छ । बंगलादेशमा जूसको नाममा उत्पादन भइरहेको प्रानरुपी बिषलाई नेपालत्रमा न्यून बिजकीकरण गरी भित्र्याउने धन्दामा केही नेपाली लागेका छन् । उनीहरुले पैसा र नाफा मात्रै हेर्दा विदेशीहरुको बिषसरह उत्पादनले जनस्वास्थ्यमाथि गम्भीर असर गरिरहेको छ।(प्रानले जूसको नाममा गरिरहेको बिषको व्यापारमा नेपालतर्फ को–को साझेदार छन्, यो सम्बन्धी विशेष रिपोर्ट केही दिनपछि प्रकाशित गरिनेछ।)

केटाकेटीमा लोकप्रिय प्रानको लिच्ची जूस त खानै नहुने केही समयअघि गरिएको परीक्षणको क्रममा पुष्टि भइसकेको छ । यसले बालबच्चामा टन्सिल हुने, इन्फेक्सन भई खोकी लाग्ने, ज्वरो आउने तथा निमोनिया भएर ज्यानै जानेसम्मको खतरा रहेको भन्दै विज्ञहरुले प्रानको लिच्ची जूस आफ्ना बालबच्चालाई नदिन यसअघि नै सचेत गराइसकेका छन् ।

प्रान ब्राण्डले लिच्ची जूसमै बढी फट्याई गरी नेपाल पठाएको छ । बंगलादेशको बजारमा उसले पठाउने लिच्ची जूसमा नन् फ्रूट ड्रिङ्स भन्ने कुरा लेवलमै प्रष्ट लेखेको छ । तर, नेपाल पठाउने त्यही जूसमा हानिकारक पदार्थ मिसाएर १० प्रतिशत पल्प रहेको दाबीसहित पठाउने गरेको छ । जाँचको क्रममा प्रानको लिच्ची जूसमा पल्प पनि नरहेको र खान लायक नै नरहेको भेटिएको हो । फेरि आफ्ना देशका नागरिकलाई नन् फ्रूट ड्रिङ्स भनी स्पष्ट जानकारी दिएर बजारमा जूस पठाउने गरेको प्रानले नेपालमा भने त्यसो नगर्नुले समेत उसको नियत प्रष्ट हुन्छ । 

त्यसो त केही समयअघि प्रानले नेपालमा लिच्ची जूस भनेर पठाउने गरेको पेय पदार्थ खानै नहुने भएपछि र त्यसमा पल्पको मात्रा नदेखिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रष्टीकरण सोधेको थियो । पल्प नहालिएको पेय पदार्थलाई लिच्ची जूस भन्न नसकिने सरकारी प्राविधिकहरुले भनेपछि प्रानले त्यसपछिदेखि नै नेपालमा पठाइने लिच्ची जूसको बोतलमा १० प्रतिशत पल्पको मात्रा रहेको लेख्न थालेको हो । तर, बोतलमा यो कुरा लेखिए पनि जूसमा भने उसले कुनै परिवर्तन गरेन् । बरु, पानी चिनी मिसाएर हानिकारिक र सस्तो फ्लेभर हालेर लिच्ची जूस भन्दै पठाउने काम गरियो । नेपालीहरुले समेत त्यसैलाई मीठो मान्दै खाए र बच्चालाई समेत खुवाए । 

प्रानको लिच्ची लगायतका जूसहरुमा भएको गम्भीर मिसावट र त्यसमा जनस्वास्थ्यमाथि नै हानी पुग्ने  पदार्थ रहेको खुलासापछि  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले छानबिन थालिएको त बताएको छ, तर उसको छानबिनले निश्कर्ष पाउला भन्ने संभावना छैन । कारण, प्रानका उद्योगीले नेपालतर्फका पार्टनरको सहयोगमा सम्बद्ध निकायको मुख थुन्ने काम थालेका स्रोतहरुले बताएका छन् । 

बंगलादेशको बजारमा पठाउने गरिएको लिच्ची जूसको बोतल । जसमा नन्फ्रूट ड्रिंक्स लेखिएको छ ।                                                      Photo Courtsey : ETV

................................................................

प्रानका लिच्ची मात्र नभई अन्य फ्लेभरका जूसहरुमा समेत मिसावट, खानै नहुने  लेदो पदार्थको अवस्था समेत उस्तै छ । प्रानका जूस मात्र होइन, अन्य प्रडक्टमा समेत उस्तै मनपरी हुने गरेको बजार अनुगमनको क्रममा फेला परेको छ ।

(प्रानका अन्य प्रडक्टमा भएको फट्याई र छली सम्बन्धी रिपोर्ट भोलिको अंकमा ।)

प्रानका अन्य कर्तुत सम्बन्धी थप समाचार यस्ता छन्: