काठमाण्डौ । नेपालको परिवेशमा अझै पनि व्यवस्थित बसोबासको व्यवस्था भइसकेको छैन । अझ विशेषगरी काठमाडौँ उपत्यकामा अन्य सबै जिल्लाबाट शिक्षासँगै विभिन्न अवसरको खोजीमा आउने हुँदा मानिसको चाप अत्याधिक छ । 

पछिल्लो दुई दशकयता व्यवस्थित बसोबासका लागि जग्गा प्लालिङ गर्ने क्रम बढेको थियो । 
विभिन्न कम्पनी तथा व्यक्तिहरुले जग्गा प्लानिङसँगै अपार्टमेन्ट र घरहरु पनि तयार गरी सुरक्षित र व्यवस्थित बसोबासको योजना अगाडि बढाइरहेका छन् । तर पनि पर्याप्त छैन । 

विशेषगरी सहरी इलाकाहरुमा भाडामा बस्नेहरुको चाप अत्यधिक छ । भाडामा बस्नेहरु अधिकांश उच्च शिक्षा, अवसर खोज्न आउनेहरु र रोजगारको सिलसिलामा आउनेहरु छन् । उपत्यकामा कहिलेकाहीँ भाडा महँगो लिएको र घरबेटीले भाडामा बस्नेहरुलाई भाडा रकमसँगै फोहोर, ढल, पानी, भाडा करजस्ता कुरामा अनावश्यक आर्थिक भार थोपरेर दुःख दिएकाजस्ता घटनाहरु पनि सार्वजनिक भइरहेका छन् । 

त्यसो त घरमालिकहरु भाडामा बस्नेहरुले आफ्नो घरमा बसेर निकै आरामदायी जीवन बिताइरहेको सोच्छन् । अर्कोतर्फ भाडामा बस्नेहरु घरमालिकले आफूहरुले तिर्नैनपर्ने शुल्क तिर्न लगाएर शोषण गरिरहेको आरोप पनि लगाइरहेका हुन्छन् । 

आजकल राम्रो रोजगारीसँगै आम्दानी भएकाहरुलाई घर किन्न र बनाउन विभिन्न बैंकहरुले धेरै योजनाहरु अगाडि ल्याइरहेका छन् । तर बैंकमार्फत घर किन्दा मासिक ईएमआईले आर्थिक भार बढ्ने र घरखर्च टार्न धौधौ हुनेजस्ता सोचका कारण कतिपय मानिस भाडाकै घरमा बस्न रुचाउने गरेका छन् । तर उचित घरायसी बजेट योजना बनाएर बचत रकमको सदुपयोग गर्न सकियो भने आफ्नो घर बनाउने योजना सफल नहोला भन्न सकिन्न । 

आफ्नो सपना पूरा गर्न यी कुरामा ध्यान दिउँ 

भाडा बढ्दै जान्छ, ईएमआई बढ्दैन : यदि तपाइँ होम लोन लिएर घर किन्दै हुनुहुन्छ भने सुरुआती वर्षमा केही आर्थिक तनाव हुन सक्छ । किनकि सुरुआतमा तपाइँले तिरेको भाडाभन्दा होम लोनको ईएमआई बढी हुन सक्छ । तर केही वर्षपछि तपाइँले तिर्नुपर्ने ईएमआईको रकमभन्दा घर भाडा बढी हुन सक्छ । किनकि ईएमआईको रकम बढ्दैन तर घर भाडा बर्सेनि बढ्दै जान्छ । यसबीच तपाइँ कतै रोजगार हुनुहुन्छ भने तपाइँको तलब पनि बढ्दै गएको हुन्छ । यस्तो अवस्थामा तपाइँ सजिलै होम लोनको ईएमआई तिर्न सक्नुहुन्छ ।

घर किन्नु भनेको सम्पत्ति बढाउनु हो : तपाइँ जति वर्ष भाडामा बसे पनि तपाइँले तिर्ने भाडा रकम बढ्दै जान्छ तर तपाइँको सम्पत्ति वृद्धि हुँदैन । तर यदि तपाइँले राम्रो योजना बनाएर बेलैमा घर किन्नुभयो भने पछि त्यसको मूल्य बढ्दै जान्छ । यसले तपाइँ सम्पत्तिमा वृद्धि गर्छ । 

कर छुट लाभ : यदि तपाइँले होम लोन लिएर घर बनाउनुभयो वा किन्नुभयो भने तपाइँले कर छुटको लाभ पाउन सक्नुहुन्छ । होम लोन लिएर घर किन्दा वा बनाउन आयकरको नियमबमोजिम ईएमआईमा कर छुटको माग गर्न सकिन्छ । तर तपाइँ भाडामै बस्नुहुन्छ भने तपाइँले कुनै किसिमको कर छुटको लाभ पाउनुहुन्न । 

वित्तीय प्लानिङ अत्यावश्यक : यदि तपाइँले होम लोन लिएर घर किन्ने वा बनाउने सोच बनाउनुभएको छ भने तपाइँले पहिले वित्तीय प्लानिङ गर्न अति आवश्यक छ । किनकि होम लोन लिने क्रममा तपाइँले किन्न लागेको घरको मूल्य कम्तीको पनि २० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्छ, जग्गाको रजिस्ट्रेसन शुल्क र हरेक महिना ईएमआई तिर्नुपर्ने हुन्छ । यदि तपाइँले यी सबै प्रक्रिया पूरा गर्न सक्छु भन्ने लाग्छ भनेमात्र होम लोनमार्फत घर किन्नुहोस् । 

आफ्नो घरमा भावनात्मक पक्ष : यदि तपाइँ भाडामा बस्नुहुन्छ भने तपाइँलाई मर्मतसम्भार, सरसफाइ, रङरोगनजस्ता कुरामा खासै ध्यान दिनुहुन्छ, यी कुरालाई तपाइँ आफ्नो दायित्व नै सम्झिनुहुन्न । तर यदि तपाइँले घर किन्नुभयो वा बनाउनुभयो भने यी कुरामा विशेष चासो दिनुहुन्छ। किनकि आफ्नो घर सफासुग्घरमा ध्यान दिँदा यसले तपाइँको इज्जत पनि बढाउँछ । त्यसैले यदि तपाइँसँग घर किन्ने वा बनाउने राम्रो वित्तीय योजना छ भने भाडामा बस्नुभन्दा घर किन्नु नै सही फैसला हुन सक्छ।