काठमाण्डौ । बंगलादेशी उत्पादन प्रान जुसका विभिन्न प्रडक्टहरु विगत लामो समयदेखि गैरकानूनी ढंगले नेपाल भित्र्याएर स्वदेशी जुस उद्योगहरुलाई धराशायी बनाइएको फेला परेको छ।

बंगलादेशको उत्पादन प्रानका विभिन्न जूस प्रडक्ट तथा अन्य प्रडक्ट समेत गैरकानूनी ढंगले नेपाल भित्र्याएर स्वदेशी उत्पादनलाई निरुत्साहित बनाउन खोजिएको छ भने उपभोक्ताको स्वास्थ्यमाथि प्रानले गम्भीर खेलवाड गर्दा समेत कसैले चासो दिएको छैन । 

पछिल्लो समय प्रानका अखाद्य जूसहरु बजारमा छ्पापछ्याप्ती भेटिन थालेको छ । भन्सार कर्मचारीको मिलेमतोमा न्यून बिजकीकरण गरी नेपाल भित्रिएका जूस सस्तोमै उपलब्ध हुन थालेपछि स्वदेशी उद्योगहरुलाई समस्या थपिएको छ । 

पछिल्लो समय प्रान ब्राण्डका लिच्ची जूस औधी चलेको छ । तर, यही जूसमा बिना एमआरपी नेपाल भित्र्याएर खुलेआम बिक्रीवितरण भइरहेको छ । एमआरपी बिनाका उत्पादन बजारमा पठाउनुु गैरकानूनी काम हो । अझ विदेशी उत्पादनले त यी बिषयमा विशेष ध्यान दिनुुपर्छ । तर, नेपालको बजार तथा बजारमा हुने गैरकानूनी गतिविधि नियन्त्रणको जिम्मेवारी पाएको निकाय समेत प्रानको फट्याईको बिषयमा मौन छ, जुन निकै रहस्यमय छ ।  

एमआरपीमा फट्याई
प्रानका लिच्ची लगायतका जूसहरुमा एमआरपी नलेखी नेपाल आयात भइरहेको छ । एमआरपी बिनाका सामान आयात गरिनुु गैरकानूनी काम हो । ‘एमआरपी नहुँदा प्रानले उपभोक्तालाई झुक्याउने काम गरिरहेको छ ।’ एक जानकारले भने–‘स्वदेशी प्रडक्टको एमआरपी नहुने हो भने खाद्य विभागले त्यस्ता सामानका उत्पादक(उद्योगी)हरुलाई सिधैं जेल हाल्छ, तर प्रानलाई किन छाडा छाडिएको छ ?’

एमआरपीबिना नेपाली बजारमा भित्रिने गरेको प्रानको लिच्ची जूसको बजारबाट संकलित एक नमूना । 

..............................................................................

बजारमा पठाइने प्रडक्टमा एमआरपी हुनुपर्छ, साथमा उत्पादन मिति, ब्याच नम्बर, एक्सपाइरी डेट लगायतका कुरा पनि स्पष्ट उल्लेख हुनुपर्छ । 

एमआरपी नलेखी जुस भित्र्याउने कम्पनीको नियत नै खराब रहेको र त्यसलाई नियामकले समेत समर्थन गरेकोमा स्वदेशी उद्योगीहरु समेत आश्चर्य चकित छन् । ‘एमआरपी नलेखेर प्रानका अधिकांश उत्पादन भन्सारबाट अण्डर भ्यालूूएसनमा आइरहेको छ ।’ एक उद्योगीले बिजशालासँग भने–‘खुल्ला अर्थतन्त्रमा विदेशी प्रडक्ट आउनुुपर्छ, तर त्यसको गुणस्तरीयता त हेर्नुपर्यो नि । पैसाको भरमा जे पायो त्यही गरेर देशलाई नै घाटा लगाउने, स्वदेशी उद्योग सिध्याउने र उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने काम बन्द होस् ।’ 

उद्योगीहरुले स्वदेशमै समेत टप क्लासका डिं«क्सहरु उत्पादन भइरहेका उल्लेख गर्दै विदेशी कम्पनीका जूस नेपालका लागि आवश्यक नरहेको समेत तर्क गरेका छन् । ‘रियल, फ्रुटी, रियोजस्ता उत्पादनले बजारमा राम्रो ठाउँ पाएका छन् ।’ अर्का एक उद्योगीले भने–‘हामीलाई गुणस्तरहीन बंगलादेशी प्रान जूस किन चाहियो ? उपभोक्ताको स्वास्थ्य र देशको हित हेर्नुपर्दैन ? बंगलादेशमा बहिस्कृत जूस खाने नेपालीहरु डम्पिङसाइट हुन् ?’

कम भ्यालुुएसनमा प्रानको जुस नेपाल भित्र्याउने काम मिलेमतोमा काकडभिट्टा भन्सार कार्यालयका कर्मचारीहरुले गरिरहेका उल्लेख गर्दै यस बिषयमा छानिबन हुनुपर्ने र प्रानका जूस सरकारले जफत गरी आम उपभोक्ताको स्वास्थ्य जोगाउनुुपर्ने केहीको सुुझाव छ । प्रानका गुणस्तरहीन जूस कम मूल्याङ्कनमा भन्सारबाट आइरहेकाले उनीहरुसँग स्वदेशी उत्पादनलाई प्रतिस्पर्धा गर्न निकै अप्ठ्यारो हुने समेत कतिपयको गुनासो छ । 

उद्योगीहरुले कुनै पनि सामान भन्सारबाट आयात हुँदा कन्ट्रोल भ्यालूूएसन ड्यूटी लिइने गरिएको र प्रानको एमआरपी नहुँदा यस्तो भन्सार राजश्व कति असूलियो भन्ने यकिन तथ्यांक नराखिएकोले निकै ठूलो चलखेल भएको दाबी गरेका छन् ।

लिच्ची जूसमा यस्तो फट्याई !
प्रानको लिच्ची जूसले केही वर्षदेखि नेपाली बजार तताइरहेको छ । तर, उसले नेपाल पठाउने लिच्ची जूसमा निकै ठूलो फट्याई भएको स्रोतले दाबी गरेको छ । लिच्ची जुसमा उसले १० प्रतिशत पल्प रहेको छ भनेको छ, तर यो बिषयमा नेपालका कुनै पनि निकायबाट चेकजाँच र छानबिन भएको छैन । ‘१० प्रतिशत पल्प छ कि छैन भन्ने कुरा अहिलेसम्म खाद्य विभागले हेरेको छैन ।’ स्रोत भन्छ–‘स्वदेशी उत्पादनको सबै गुणस्तर जाँच गरेर मात्र बजारमा आउन दिइन्छ, तर प्रानको गुणस्तर जाँच नै नगरी मनपरी गर्न दिइएको छ । यसैको फाइदा प्रानले समेत उठाइरहेको छ ।’ जानकारहरुका अनुसार प्रानको लिच्ची जूसमा १० प्रतिशत पल्प छैन, उसले उपभोक्ता झुक्याउन मात्र आफ्नो उत्पादनमा यस्तो कुरा लेखेको हो । 

एण्टी डम्पिङ ड्यूटी लगाऊ
नेपालका जूस उद्योगीहरुले बिजशालासँगको कुराकानीमा प्रान र यस्तै विदेशी कम्पनीका जूसहरुलाई नेपाल सरकारले एण्टी डम्पिङ ड्यूटी लगाउनुपर्ने माग गरेका छन् । ‘भारतले आफ्ना जुट उद्योगहरुलाई बचाउन तथा उनीहरुको भविष्य सुरक्षित गर्न हालै नेपालबाट उत्पादित जूटमा एन्टी डम्पिङ ड्यूटी लगाएको छ ।’ एक जूस उद्योगीले भने–‘नेपालले पनि स्वदेशी जूस उद्योगलाई बचाउनका लागि प्रान लगायतका विदेशी उत्पादनमाथि एण्टी डम्पिङ ड्यूटी लगाउन अबेर भइसक्यो ।’ 

स्वदेशी उद्योगहरुले सरकारलाई राजश्वमा ठूलो योगदान गरेका, रोजगारीको अवसर सिर्जना गरेका तथ्यलाई समेत ख्याल गरी प्रानको गैरकानूनी कारोबार बन्द गर्नुपर्ने र स्वदेशी उद्योगहरुलाई संरक्षण गर्ने वातावरण तयार हुनुपर्ने उनीहरुको माग छ । 

‘प्रान जूसको गुणस्तरीयता तथा उसको आयातको प्रक्रिया कानूनसम्मत हुन्छ भने त्यसमा हाम्रो आपत्ति भएन ।’ अर्का एक उद्योगीले भने–‘तर प्रानलाई मनपरी गर्न दिनुुभएन । स्वदेशी उत्पादनलाई विदेशीसँग प्रतिस्पर्धा गर्नसक्ने वातावरण राज्यले बनाइदिनुपर्छ ।’ 

उद्योगीहरुले नेपाललाई आवश्यक गुणस्तरीय जुस स्वदेशी उद्योगले नै उपलब्ध गराउनसक्ने क्षमताको विकास भइसकेकोले विदेशी जूसको आवश्यकता नरहेको समेत सरकारलाई सुुझाव दिएका छन् । 

आफ्नै देशमा बहिस्कृत प्रान जूस !
नेपालका भन्सार अधिकारीलाई मोटो रकम खुवाएर गैरकानूनी ढंगले बिक्रीवितरण भइरहेको प्रान जूस बंगलादेशमै भने बहिस्कार भएको पाइएको छ । त्यहाँको टेलिभिजन इटीभीले केही महिनाअघि प्रानका जूसहरुको गुणस्तरीयतामाथि प्रश्न उठाउँदै करिब ५ मिनेटको रिपोर्ट नै प्रसारण गरेको थियो । जूसको नाममा गुणस्तरहीन लेदो प्रयोग गर्ने गरिएको र यसले उपभोक्ताको स्वास्थ्यमाथि नै गम्भीर खेलवाड भएको त्यहाँको सो टेलिभिजन रिपोर्टमा उल्लेख छ । त्यसपछि प्रानका उत्पादनहरुको बिक्री बंगलादेशमै ह्वात्तै घटेको छ ।

प्रानको फट्याईले बंगलादेशमा बिक्री कम हुन थालेपछि र उद्योग संकटमा परेपछि नेपालका भ्रष्ट अधिकारीहरुसँगको मिलेमतोमा त्यहाँ बहिस्कृत जूस नेपाल भित्र्याइएको समेत देखिएको छ । बंगलादेशी मिडियाहरुले ‘स्वास्थ्यका लागि अत्यन्त जोखिम’ भनिएका प्रानका जूसहरु नै नेपालमा चाहि एमआरपी बिना खुलेआम बिक्रीवितरण भइरहेको छ, जुन निकै ठूलो आश्चर्यको बिषय हो । 

बंगलादेशी टिभीले प्रसारण गरेको भिडियो रिपोर्ट हेर्नुहोस्: