काठमाण्डौ । चारपटक अर्थमन्त्रालयको बागडोर सम्हालेका नेपालको कम्युनिष्ट आन्दोलनको पहिलो पुस्ताका नेता भरतमोहन अधिकारीको ८३ वर्षको उमेरमा शनिवार राति निधन भएको छ । 

धुम्बाराहीस्थित ह्याम्स अस्पतालका चिकित्सकले राति पत्रकार सम्मेलनको आयोजना गरी पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधनको घोषणा गरेका हुन् । 

ह्याम्स अस्पतालले शनिवार दिउँसो पत्रकार सम्मेलन गरी पूर्व अर्थमन्त्री अधिकारीको स्वास्थ्य अवस्था निकै नाजुक रहेको बताउँदै उनका महत्वपूर्ण अंगले काम गर्न छाडेका र परिवारको अनुरोधमा अस्थायी श्वासप्रश्वासका लागि भेन्टिलेटरमा राखिएको बताएको थियो । 

अस्पतालले अवस्था निकै क्रिटिकल रहेको जानकारी गराएको केही घण्टासम्म पूर्व अर्थमन्त्री अधिकारीको जिवितै थिए । उनी जिवितै रहेको अवस्थामा सामाजिक सञ्जालमा भने उनको मृत्युको खबर भाइरल भएको थियो । 

कतिपय नेताहरुले समेत सामाजिक सञ्जालको हल्लाको पछि लागेर उनलाई श्रद्धाञ्जली दिन भ्याइसकेका थिए । कतिपय मिडियाहरुले समेत चिकित्सकहरुबाट प्रमाणित नभई उनको निधनको खबर लेखिसकेका थिए । 

यी घटनाक्रमको केही घण्टापछि नेता अधिकारीको निधन भएको हो । 

नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले अधिकारीको निधनको औपचारिक पुष्टि अस्पतालले गरिसकेको बताएका छन् । उनका अनुसार अधिकारीको शव अन्तिम श्रद्धाञ्जलीका लागि आइतबार बिहान ९ देखि १२ बजेसम्म नेकपाको पार्टी कार्याल्य धुम्बाराहीमा राखिनेछ ।

अधिकारी विगत लामो समयदेखि फोक्सो र मुटु सम्बन्धी समस्याबाट प्रताडित थिए । केही साताअघि उनको राजधानीको मेडिसिटी अस्पतालमा उपचार गरिए पनि त्यहाँ लापरबाही भएपछि ह्याम्समा सारिएको थियो । ह्याम्समा भने तीन सातादेखि उपचार जारी थियो । 

अधिकारीका एक पत्नी र छोरी छन् । 

 जन्मिएका अधिकारी २०६४ सालअघि मोरङको निर्वाचन क्षेत्र नम्बर २ बाट उनी दुई पटक निर्वाचित भएका थिए।

१९९३ साल वैशाख २२ गते महोत्तरीको भ्रमरपूरामा जन्मिएका अधिकारीले मोरंगको निर्वाचन क्षेत्रनम्बर २ बाट २ पटक प्रतिनिधिसभा निर्वाचनमा जित हासिल गरेका थिए । संविधानसभा निर्वाचनमा उनी समानुपातिक तर्फबाट निर्वाचित सभासद थिए । 

मोरंगको विराटनगर १० का स्थायीबासी अधिकारी हाल ललितपुरको सानेपामा बस्दै आएका थिए । 

उनकी पत्नी ओमकुमारी अधिकारी हुन् भने उनले अर्थशास्त्रमा स्नातकोत्तर र कानूनमा बीएलसम्मको अध्ययन गरेका थिए । 

वि.सं. २००८ सालदेखि राजनीति दलमा आबद्ध अधिकारीले ४ वर्ष भूमिगत जीवन बिताएका थिए । यस्तै, राजनीतिक गरेकै कारण ३ वर्ष निर्वासनमा बिताएका थिए भने ३ वर्ष बन्दी जीवन बिताएका थिए । 

नेपालमा कम्युनिष्ट पार्टीको पहिलो निर्वाचित सरकार २०५१ मा अधिकारी अर्थमन्त्री बनेका थिए। 

मनमोहन अधिकारीको ९ महिने शासनकालमा उनले दुई पटक बजेट ल्याए। उनके पालामा ुआफ्नो गाउँ आफैं बनाऔँु भन्ने कार्यक्रम आएको थियो, जुन अझै लोकप्रिय छ । यस्तै, २०५२  असार २७ गते पनि उनले अर्को बजेट ल्याए। उक्त बजेटमा जेष्ठ नागरिकलाई भत्ता कार्यक्रम ल्याए, यो कार्यक्रमकै दममा तत्कालीन एमाले र माओवादीको गठबन्धनले यसपटकको चुनावबाट दुईतिहाई मत प्राप्त गरेका थिए । 

अधिकारी अर्थमन्त्री भएकै बेलादेखि स्थानीय निकायलाई सोझै अनुदानको व्यवस्था गरिएको थियो । 

२०५६ ,२०६१ मा पनि अधिकारी अर्थमन्त्री भए, जुन बेला उनले २०५१ ल्याएका नवीन र लोकप्रिय कार्यक्रमलाई निरन्तरता दिने मौका पाए। २०६७ सालमा उनी उपप्रधान तथा अर्थमन्त्री बने। उनी २०५३ मा  भौतिक पूर्वाधार तथा यातायातमन्त्री समेत भएका थिए ।

उनलाई निजी क्षेत्रले निकै सहज र सरल अर्थमन्त्रीको रुपमा बुझ्ने गर्छ । 

पछिल्लो पटक तत्कालीन एमाले नेताहरुको कार्यशैलीको उनी कटु आलोचक समेत थिए । 

अधिकारीले नेपालमा औद्योगीकरणका समस्या र मेरो जीवनयात्रा  लगायत ३ पुस्तक लेखेका थिए ।