काठमाण्डौ । नेपालको वाणिज्य बैंकको पहिलो महिला प्रमुख कार्यकारी अधिकृत(सीइओ)को इतिहास रच्ने पात्र हुन् अनुपमा खुञ्जेली । 

वाणिज्य बैंकको पहिलो महिला सीइओको इतिहास रच्दै गर्दा खुञ्जेली जति खुशी थिइन, त्यो भन्दा कैयौ गुणा उनकी ८० वर्षीया आमा ओपल राणा खुशी थिइन रे । 

एक दाजुकी एक मात्रै बहिनी अनुपमाको विवाहअघिको जिन्दगी आमासँगको सामीप्यतामै बित्यो । खुल्ला आकाशमा चरा उडे झै सीमाविहीन कैयन उडान उनले भरिन्, जसमा आमाको खुशी पनि मिसिन्थ्यो, साथै हुन्थ्यो । 

परिवारको कान्छो सन्तान भएकोले आमा र बुवाले नै अनुपमालाई ‘कान्छो’ भनेर मायाले बोलाउँथे । आमाकी प्यारो त्यही ‘कान्छो’ले इतिहास रचेकी क्षण समेत राणा परिवारका लागि निकै महत्वपूर्ण बनेको थियो। अनुपमा मेगा बैंक लिमीटेडको सीइओ भएको खुशियालीमा घरमा उत्सव नै गरिएको थियो । 

हरेक सुख दुःखमा आफूलाई साथ दिने आमासँगका विगत र आमाप्रतिको धारणा खुञ्जेलीले बिजशालासँग व्यक्त गरिन् । बाँकी उनकै शब्दमा:

मेरा मुवा ८० वर्षको भए पनि उहाँको स्वास्थ्य ठीकै छ । आमा भनेको हाम्रो संसार नै हो । हामी अहिले जे छौं, त्यो आमाकै देन हो । हामीलाई आमाले बच्चामा दिनुभएको संस्कारले हामीलाई आजको अवस्थामा पुर्याएको म ठान्छु । एउटा कुमालेले माटोलाई जसरी आकार दिन्छ, आमाले पनि हाम्रो जीवनलाई आकार दिनुभएको छ। आज हामी जे छौ, आमाकै देन हो ।

दुखद र सुखद क्षण
मुवाले मलाई पढ भन्नुहुन्थ्यो । म पढ्ने पनि, खेल्ने पनि, नाटकमा पनि भाग लिने टाइपकी थिएँ।  नेपालीको परीक्षा चलिरहेको थियो, मुवाले मलाई ‘मैले सुन्ने गरी पढ्नु’ भन्नुभएको थियो । मैले नेपाली पढ्नुपर्ने उल्टो किताब समाएर हिस्ट्रीको कुरा पो भनिरहेकी रहेछु । नजिकबाट आएर उहाँले हेरेर समातिबक्स्यो । यस्ता क्षण धेरै छन् । 

मेरो हरेक परीक्षाहरु मुवाकै परीक्षाजस्तो हुन्थ्यो । 

मुवासँगका रमाइला क्षण धेरै छन् । सबैभन्दा रमाइलो क्षण उहाँसँग बाल्यकालमा घुम्न जाँदा हुन्थ्यो । बुवा यमनमा हुनुहुन्थ्यो, मुवा र म बुवालाई भेट्न गएको कुरा पनि याद आउँछ । मुवासँग मिलेर घरका काम पनि सँगै गथ्र्यौ, धेरै रमाइला क्षणहरु छन् । मेरा हरेक खुशियालीमा मुवा साथमै हुनुहुन्छ । 
मुवासँगै बसेर रोएको धेरै क्षणहरु पनि छन् । मेरो दिज्यू हुनुहुन्थ्यो, २१ वर्षको उमेरमा बित्नुभयो, त्यो क्षण हामी धेरै रोएका थियौं ।

सीइओ हुँदा उत्सव
बैंकहरुको पहिलो लेडी सीइओ हुँदा मेरो मुवा औधी खुशी हुनुभयो । म सीइओ नहुञ्जेल उहाँलाई जस्तो पीर अरु कसैलाई पनि थिएन । मुवालाई पनि त्यो रहर र चाहना थियो । यो क्षणलाई एकदम खुशी भएर खुशियालीका साथ हामीले मनाएका छौ । 

उहाँ त कुरेर बसिबक्सेको थियो । ज्वाई छोरीलाई टिका र माला लगाइदिएर, दक्षिणा दिने, सबै परिवारलाई बोलाएर जमघट गर्ने अवसर प्राप्त भएको थियो। उहाँको छोरी भएका कारण धेरैबाट उहाँले समेत बधाई खानुभयो ।

मेरी छोरी आएको बेला समेत नातिनी आई भनेर उहाँ औधी खुशी हुनु भएको थियो । हरेक खुशीको सानो ठूलो क्षण मुवासँग सेयर गर्न पाएको छु, यसमा म आफूलाई भाग्यमानी पनि ठान्छु । 

मुवाको सपना
मुवाले मलाई पढाई सकेर मात्र जागिर खानु भन्नुभएको थियो । आफ्नो खुट्टामा उभिनुपर्छ, तर पढाई सक्नुपर्छ भनेर जहिल्यै हौसला दिनुहुन्थ्यो । 

कुनै विशेष क्षेत्रमा छोरी जाओस् भन्ने थिएन । डाक्टर वा इञ्जिनियर बन्नैपर्छ भन्ने कुरामा कुनै दवाब थिएन । तर, पढाई चाहि मास्टर डिग्री गरेको हुनुपर्छ भन्ने सोंच थियो । बुबाले जागिर खानु भनेपछि म जागिर खान थालेँ, तर मुवाले भनेजस्तो मास्टर सक्नलाई मलाई जागिर खाइसकेपछि १७ वर्ष लाग्यो । २०१० मा मात्र मैले मास्टर्स सकेकी हुँ ।

आमालाई समय
मुवासँग दैनिक फोन हुन्छ । कार्यव्यस्तताले गर्दा दैनिक भेट्न पाउदिँन, तर मन त सधैं मुवातर्फ कुदिरहेको हुन्छ । फोनबाट कुरा हुन्छ । र, साताको एक दिन चाहि मुवा र बुवाको दर्शन गर्न जान्छु । 

प्रत्येक वर्ष म मातातीर्थ औंशीको दिन मुवाको विशेष दिनको रुपमा मनाउने गर्छु। घरबाटै मुवालाई मन पर्ने खाना तथा परिकार बनाएर लैजान्छु । साथमा सम्झनाका लागि सानो उपहार पनि हुन्छ। 

मेरो मुवालाई कुखुराको मासु औधी मन पर्छ। आलुको सबै परिकार मन पर्छ । 

पहिला पहिला चाहि खानै नखाई दर्शन गर्न जाने चलन थियो, अहिले चाहि त्यो चलन केही परिमार्जन हुँदै गएको छ। व्यस्तताले खाएरै जाने चलन बढेको देखिन्छ ।  

मुवाको दर्शन भइसकेपछि ठूलो मुवालाई पनि हेर्छु,उहाँको पनि मुख हेर्छु । 

मुवालाई दिन बाँकी.......
मुवासँग जति पनि मेरो कुरा हुन्छ, जीवनमा मुवा र बुवालाई दिने कुरामा कमी कहीँ पनि गराइँन भन्ने महसुस उहाँहरुले गराउनुभएको छ। मेरो प्रत्येक प्राप्तिमा, एक कक्षामा पास भएर सर्टिफिकेट ल्याएको दिनदेखि सीइओ हुँदासम्मको क्षणमा उहाँहरुलाई खुशी दिन सकेकी छु । उहाँहरु पनि मसँगै रमाउनु भएको मैले पाएकी छु ।

छोरी र आमा बन्दाको भिन्नता
छोरी हुँदाखेरिको रमाइलै अर्कै हुन्थ्यो । खासै जिम्मेवारी नहुने, आमाबुबा हुनुहुन्छ भनेर ढुक्कले अगाडि बढिन्थ्यो । सीमाविहीन उडानजस्तो जिन्दगी थियो । खुल्ला आकाशमा आनन्दले चंगा उडेर हिँडेजस्तो थियो जीवन । तर, कसैको मुवा भइसकेपछि दायीत्वहरु थपिँदो रहेछ । दायीत्वबोध हुन थालेपछि मानिस गम्भीर पनि हुँदै जाँदो रहेछ । 

आमाबाट प्राप्त जीवनमन्त्र
छोरा होस् या छोरी होस्, आफ्नो इलममा लागेको हुनुपर्छ । आफ्नो खुट्टामा उभिएको हुनुपर्छ । आफ्नो प्रतिष्ठामा कसैले औंला उठाउन नसकोस् भन्ने जस्ता थुप्रै जीवनमन्त्र सिकेको छु ।

बच्चाका लागि समय व्यवस्थापन
सानैदेखि नै मैले बुवामुवालाई जागिरमा गएको देखेर हुर्किएको बच्चा हुँ । त्यो देखेको हुनाले आज छोरीसँग कुरा गर्दा उनले पनि आफ्नो खुट्टामा म पनि उभिन्छु भन्छिन् । आफ्नी मुवा बिहानदेखि बेलुकासम्म खटिएको देखेकी छिन्। पढ्छु, आफैं कमाउँछु भन्ने हौसला समेत उनमा छ । घरमै बसेर स्याहारसुसार गरेको भए नाता फरक हुन्थ्यो होला । समय दिन नसकेको महसुस हुन्छ । तर, विदाको समय म सतप्रतिशत छोरीलाई दिने गर्छु । 
धेरै समय दिन नपाए पनि हामी क्लोज छौ । उनले पनि बाउआमाले गरेको दुःख देखेकी छिन्, बुझेकी छिन् ।

आमा
आमा भनेको संसार हो सन्तानका लागि । हाम्रो जीवन उहाँहरुको वरिपरि घुम्छ, घुमाउनुपर्छ। हाम्रा हरेक खुशी दुःखमा साथमा उभिएर दुःख झेल्नसक्ने क्षमता दिलाउने नै आमा हो । 

आमाबिनाको जीवन......!
सोच्न पनि नपरोस् जस्तो लाग्छ आमाबिनाको जिन्दगी । एउटा बानी बसिसकेको छ । अफिसमा ढिलो भए पनि फोन आउँछ मुवाको । बिहानपख फोन गरेर अफिस राम्रोसँग जानु भन्नुहुन्छ । डेली रुटिन जस्तो भइसकेको छ । अरु चिज त कल्पना गर्दा पनि भयावह महसुस हुन्छ मलाई। 

आमा र समाज
अहिलेको समाजमा एकल परिवारतर्फ मानिस गइरहेका छन् । आमाबुबाको महत्व कम गर्दै जानेजस्तो अवस्था देखिएको छ । समाज कता जाँदैछ ? समीक्षा आवश्यक भइसकेको छ । 

म चाहि बच्चादेखि नै बुवाको घरमा पनि सँगोलमा हुर्किएको हुँ । मुवाकोमा पनि सँगोल परिवार नै थियो । आमाको मुख हेर्ने, बुवाको मुख हेर्ने जस्ता चलनलाई नजिकबाट हेरेर हुर्किएका बच्चाहरु हौ हामी । न्यूक्लियर परिवार भएपछि केही फरक चाहि हुँदो रहेछ । किनभने त्यही खालको सद्भाव भेट्न मुश्किल छ हिजोआज । आफ्नो निम्ति मात्र केन्द्रीत हुने अवस्था आएको देखिन्छ । हाम्रो संस्कार र चलनमा परिवर्तन आइरहेको देख्छु । 

सबैजना छोराछोरीलाई मेरो आग्रह छ, हाम्रो मुवालाई पाउनु र आमाको मुख हेर्ने दिनमा गएर समय दिनु वा जे गर्न सकिन्छ, यो हाम्रो अहोभाग्य हो।

चलन यसै बनेको होइन, परापूर्वकालदेखि आएको चलन हो, उहाँहरुलाई स्पेशल फिल गराउन यो पर्व बनाइएको हो । यसलाई महान चाँडकै रुपमै लिएर आफ्नी आमालाई सक्दो खुशी दिनुहोस् । केही चिज लगेर मात्र खुशी बनाउन सकिन्छ भन्ने मात्र होइन, समय मात्रै दिएर समेत आमाहरुलाई खुशी बनाउनसक्छौ । 

(कुराकानीमा आधारित)