काठमाण्डौ । आफूलाई जन्म दिने बुबाआमाको विषयमा हत्तपत्त जो कोहीले झुठो बोल्दैनन् । त्यही बुबाआमालाई ढाल बनाएर झुटा विवरण पेश गरी फाइदा लिने मानिस पनि समाजमा नभएका होइनन् । यस्तै एउटा घटना ललितपुरमा भएको छ । आमा मृत्यु भएको बहाना बनाएर लकडाउनको पास लिई गाडीमा यात्रु ओसारेको फेला परेको छ । 

लकडाउनको समयमा झुठो विवरण पेश गरी सवारी पास बनाएर प्रयोग गरेको पाइएपछि ललितपुरबाट तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा घर भई ललितपुर महानगरपालिका–३ पुल्चोक बस्ने ४५ वर्षीय शुभनारायण चौधरी, सोही नगरपालिका घर भएका ३० वर्षीय जितेन्द्रप्रसाद चौधरी र सोही नगरपालिका–५ का ४६ वर्षीय नरेश चौधरी रहेका छन् ।

शुभ नारायणले आफ्नो आमाको मृत्यु भएकाले काजक्रिया गर्न जान भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरमा झुठो विवरण पेश गरी सवारी पास लिएको खुलेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनले चैत २४ र २५ गतेका लागि ३–०८–००५ ख ९१९८ नम्बरको बसको पास लिएर ३० जना यात्रु बोकी सप्तरीतर्फ जान लागेको अवस्थामा फेला पारी महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

सरकारले कोभिड–१९ को सङ्क्रमण रोक्न यही चैत ११ गतेदेखि अत्याश्यक काम बाहेक बाहिर ननिस्किन जारी गरेको आदेश आजदेखि तेस्रो हप्तामा प्रवेश गरेको छ । यो अवधिमा मानिसको आवतजातलाई रोक्दै अत्यावश्यक कामका लागि मात्र जिल्ला प्रशासन कार्यालय र सम्बन्धित मन्त्रालयबाट पासको व्यवस्था मिलाइएको थियो । महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले विभिन्न बहाना तथा नक्कली विवरण बनाएर पास लिने तथा नक्कली पास नै बनाएर हिँड्ने गरेको पाइएको र त्यसलाई आजदेखि थप कडाइका साथ अनुगमन थालेको जानकारी दिनुभयो । 

उपत्यकामा नौ हजार ५०० प्रहरी परिचालन गरिएको जानकारी दिँदै उहाँले लकडाउन उल्लङ्घन गर्ने दुईदेखि तीन हजारलाई दैनिक कारवाही गरिरहेको समेत बताउनुभयो । प्रहरीले उपत्यकामा आजमात्रै लकडाउन उल्लङ्घन गर्ने एक हजार ६०० लाई कारवाही गरिसकेको छ । आजसम्म २५ हजार बढीलाई कारवाही गरिएको पोखरेलले बताउनुभयो ।