काठमाण्डौ । हिन्दू धर्म भन्छ–‘आमा जस्तो अरू कुनै तीर्थ छैन, उनको पूजा गर्नेको इहलोक र परलोक सुध्रन्छ ।’ हिन्दूहरूको नीतिशास्त्रले ‘१० उपाध्याय बराबर एक आचार्य, १०० आचार्य बराबर एक पिता र १००० पिता बराबर एक माता’ भनेको छ । जगतगुरु शंकराचार्यले ‘कुपुत्र हुनसक्छ, तर कुमाता कदापि हुन सक्दिनन्’ भनेका छन। हिन्दू र बुद्ध धर्म दुवै मान्ने मिश्रित नेवार समुदायमा प्रचलित आमाको मुख हेर्ने चाड त्यसै नेपालभर लोकप्रिय भएको हैन । हिन्दू धर्ममा मातातीर्थ, मातृऔंसी जस्ता मातृ दिवसहरू नै छन् । मातृ दिवस मनाउने परम्परा संसारका प्रायः सबै देशमा छ ।

सबै धर्मले आमालाई शान्ति, क्षमा, करुणा, वात्सल्य, दान र दयाको स्रोत मानेका छन् । आमाको पैंतालामुनि स्वर्ग हुन्छ भन्ने विश्वास गरिने इस्लाम धर्ममा आमाबाबुका सामु उँचो स्वर गर्न पाइन्न । 

इसाई मतअनुसार, आमाबाबुको सम्मान गर्ने सन्तान चिरायु हुन्छ । इसाई धर्मग्रन्थ बाईवलको १० आज्ञामा आमाबाबुको इज्जत गर्नेको आयु लामो र जीवन सुखी हुन्छ भनिएको छ । इसाईको क्याथोलिक सम्प्रदायले क्राइष्टलाई जन्म दिने मरियमको पूजा गर्छन् । आमाबुबालाई भगवान र पहिलो गुरु मान्ने बुद्ध धर्ममा उनीहरूको पूजा–सेवा गर्ने सन्तान कहिल्यै निन्दित नहुने विश्वास गरिन्छ । 

मानव जातिका लागि धर्तिले जति बोझ थामेकी हुन्छिन, सन्तान र परिवारका लागि आमाले पनि त्यत्तिकै कष्ट उठाउँछिन् भन्ने मान्यता छ । 

आमाले अनेक कष्ट व्यहोर्दै नौ महिना गर्भमा राखेर शिशुलाई अन्न, जल र श्वाससँगै ममता, स्नेह र संस्कारले सिञ्चन गर्छिन । कठोर प्रसव पीडा झेलेर सन्तानलाई पृथ्वीमा पदार्पण गराउँछिन । आफूले नखाई–नखाई सन्तानको भोको पेट भर्छिन । आफ्नो ज्यानको परवाह नगरी सन्तानको जीवन रक्षा गर्छिन र मानव संसारको जीवनचक्र चलाउँछिन् । यही कारण आमालाई ‘जगत जननी’ भनिन्छ । 

यिनै जगत जननीको खास दिन हो आमाको मुख हेर्ने दिन, अर्थात हिन्दूहरुले यसलाई माता तीर्थ औंशी पनि भन्छन् । यो विशेष दिनमा आमा भएकाहरुले आफ्नी आमालाई उपहार दिने, मीठो मीठो खुवाउने, अन्य बेला भन्दा बढी समय दिने गर्छन भने आमा नभएकाहरु दिवंगत आमालाई सम्झिएर भाव विह्वल हुन्छन्, आमाका न्यानो र ममतामयी स्पर्शहरुको सम्झना गर्छन । हामीले यहाँ आमा गुमाएका केही बैंकरहरुको आमासँग जोडिएका कारुणिक स्मृतिहरुलाई समेट्ने प्रयास गरेका छौं । 

आमाको याद पानामा पोखिन्छ

बैंकर, अनलराज भट्टराई


बैंकर अनलराज भट्टराईकी आमा बत्सलादेवी भट्टराई ७१ वर्षको उमेरमा ०७१ सालमा परलोक भइन् । क्यान्सर भएको पत्ता लागेपछि हतार–हतार उनले आमालाई दिल्ली पुर्याएका थिए । त्यहाँ चेकजाँचको क्रममा चिकित्सकले चौथो स्टेपको क्यान्सर भएको र बचाउन नसकिने जवाफसहित उनकी आमालाई घर पठाइदिएका थिए । आमासँगका अन्तिम क्षणहरु सम्झदै भट्टराईले बिजशालासँग भने–‘क्यान्सर पत्ता लागेको २४ दिनमै हामीले हाम्रो संसार गुमायौं, हाम्री मायाकी खानी, प्रेरणाकी स्रोत गुमायौं ।’ आमाले छाडेर जाँदा उनी धेरै रोए, कयौं दिन विक्षिप्त झै भए, तर विधिको बिधान यस्तै थियो ।

शाश्वत सत्य, कोही अमर हुँदैन भन्ने कुरा बुझेका उनले आमाका स्वर्णिम यादहरु, न्यानो स्पर्शहरुलाई सम्झनामा सँगालेर अगाडि बढिरहेका छन् । ०७१ सालपछिका हरेक मातातीर्थ औंशीहरुमा उनले आमाको नाममा कविता लेख्ने गर्छन, मनका उकुसमुकुस भावहरु पोखिदिन्छन् खालि पानाहरुमा । आमाको सम्झनामा केही शब्द खर्च गरेर भावनामा डूब्दै उनी आमाको फोटोलाई पूजा गर्छन, विशेष रुपमा सम्झन्छन । दिवगंत आमाको आत्मा(पितृ)लाई खुशी बनाएको अनुभूत भएपछि उनी आफ्नो जीवन संगीनीसँगै घरदेखि ५० मिटरको दूरीमा अवस्थित ससूराली गएर सासू आमालाई ढोग्छन् र आमाको मुख हेर्ने दिनलाई सार्थक बनाउँछन ।

जन्म दिने आमाले छाडेका ममतामयी यादहरुलाई साँचेर यथार्थमा सासू आमा ७० वर्षीया मिथिला बास्कोटाबाट समेत औधी माया पाएकोमा भट्टराई आफूलाई भाग्यमानी ठान्छन् । ‘एक आमाको याद सम्झनामा छ, यथार्थमा मैले अर्की आमा पनि पाएको छु ।’ उनले भने–‘तर आफूलाई जन्म दिने आमा गुमाउनु सर्वश्व गुमाउनु रहेछ, संसार नै फिक्का हुनु रहेछ ।’ उनले जिवित छँदा आमाहरुलाई औधी माया दिन, समय दिन र खुशी पार्न तमाम सन्तानहरुलाई आग्रह गरेका छन् । आमाप्रति श्रद्धाभाव, माया र आत्मीयता उनले १८ अप्रिल २०१५ मा एक कविता लेखेरै पोष्ट गरेका छन् फेसबुक वालमा । उनको आमाप्रति समर्पित कविता यस्तो छ :
म सानो छँदा 
भन न आमा कसरी बितायौं ? 
दर्द र पीड़ा सहेर तिमी 
कसरी रमायौं 
त्यो सूर्यचन्द्र देखायौ तिम्ले 
यो धर्ती आकाश 
अनेकौं पीड़ा सहेर तिमी 
भइनौं उदास 
यी सन्तान बड्लान, अनेकौं गर्लान्
मलाई हँसाउलान् 
दुनियाभरि जगमग गरी 
अवश्य उदाउलान् 
कल्पना कयौं गरेर मनमा 
आफूलाई सुतायौं 
म सानों छँदा 
भन न आमा कसरी बितायौ ?
भन न आमा के गर्यौ तिम्ले 
मनमा कल्पेर 
जाँगर जोस बढायौ तिम्ले 
आफू नै भूलेर, आमा आफू नै भूलेर ।

 

माता तीर्थ औंशीकै दिन आमाको श्राद्ध

किरणकुमार श्रेष्ठ, सीइओ-राष्ट्रिय वाणिज्य बैंक


राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको जीवनमा आमाको मुख हेर्ने दिन अर्थात आमावश्या औंशीको दिन ठूलो बज्रपात पर्यो, १० वर्षअघि । ०६३ सालको आमाको मुख हेर्ने दिन श्रेष्ठकी आमा दिलकुमारीले यो संसारबाट विदा लिइन्, ११ जना सन्तानलाई मातृविहीन बनाएर, तर यो विधिको विधान थियो, स्वीकार्नै पर्ने शाश्वत सत्य । सो बेला आमाको मुख हेर्ने तयारी भइरहँदा श्रेष्ठले आफ्ना सन्तानलाई सधैंका लागि छाडेकी थिइन् । यसकारण समेत हरेक वर्षको आमाको मुख हेर्ने दिन सीइओ श्रेष्ठलाई आमाको यादले बढी पिरोल्छ, चिमोट्छ । ‘म भावुक हुन्छु, आमाको सम्झनाले मनभित्रको भँडास आँसुको रुपमा खस्न थाल्छ ।’ आमाको श्राद्ध गर्नका लागि एकछाकीमा बसेका श्रेष्ठले बिहीबार बिजशालासँग भने–‘श्राद्ध नै परेपछि विशेष रुपमा आफ्नी आमालाई सम्झन्छु, उहाँको न्यानो काख, न्यानो माया र ममतामयी स्पर्श सम्झन्छु ।’

उनका अनुसार आमाका ११ सन्तानमध्ये ८ जना विदेशमै छन् । आमा बितेपछिका हरेक वर्ष आमाको मुख हेर्ने दिन काठमाण्डौमा उपलब्ध सन्तान र नातागोता भेला हुने, श्राद्ध गर्ने र आमालाई विशेष रुपमा सम्झने काम हुने गर्छ । उनले जन्मदिने आमा भन्दा ठूलो नाता र सम्बन्ध अरु हुनैनसक्ने स्पष्ट पार्दै भने–‘आमा गएपछि उहाँको अभाव बढी अनुभूत हुँदो रहेछ । उहाँलाई बढी मिस गरिँदो रहेछ । आमा जाँदा संसार नै अन्धकार भएजस्तो, एक्लो भएजस्तो, साहाराविहीन भएजस्तो हुँदो रहेछ ।’ सीइओ श्रेष्ठ संसारका हरेक सन्तानहरुले आफ्ना आमाबुबालाई माया गर्नुपर्ने, उहाँहरुको चाहनाको ख्याल गर्नुपर्नेमा जोड दिन्छन् ।

आमाबुबालाई विशेष रुपमा सम्झन सामाजिक काममा समेत समर्पित हुनुपर्ने उनले सुझाएका छन् । श्रेष्ठ परिवारले आमा दिलकुमारीलाई भौतिक रुपमा गुमाएपछि पुख्र्यौली थलो संखुवासभाको चैनपुरमा आमाको नाममा ‘दिलकुमारी स्मृति सभा भवन’ निर्माण गरिदिएको छ । ३ सय मानिस अट्नसक्ने सभाभवन ०६३ सालमा १५ लाखको लागतमा निर्माण गरिएको श्रेष्ठले बताए । ‘जन्मदिने आमाबाटै हामीले संस्कार सिक्यौं, जीवन बुझ्यौं, टुकुर टुकुर हिँड्नेदेखि आजको यो अवस्थासम्म आइपुग्यौं ।’ श्रेष्ठले भने–‘त्यसैले मेरा लागि आमा जीवन ज्योति हुन्, आमाबिनाको जीवन खालि जस्तो छ, फिक्का फिक्का छ ।’ 

'मैले भूल गरेँ, तपाईं नगर्नुस्'

कृष्णराज लामिछाने, सीइओ कैलाश विकास बैंक


६९ वर्षकी मात्र थिइन् भगवती लामिछानेले संसारबाट विदा लिंदा, उनको अनन्त यात्रासँगै कैलाश विकास बैंकको सीइओ कृष्णराज लामिछाने र परिवार टुहुरो बनेको थियो । लामिछानेले तीन दिनको फरकमा आमा र बुबा दुवै गुमाउन पुगे । लगभग सँगैजस्तो दुवै अभिभावक गुमाउँदा सन्तानको मनमा पुग्ने चोट कस्तो होला ? लामिछानेलाई मात्र थाहा छ ।

डायबिटिज, मुटुको समस्या लगायतका स्वास्थ्य समस्याबाट पीडित कृष्णराजकी आमा भगवतीले ४ वर्षअघि संसार छाड्दा उनी आमाको उपचारमा काठमाण्डौमै दौडधूप गरिरहेका थिए । आमाको उपचारको क्रममा रहेकै बेला ९० वर्षका वृद्ध बुबाले फोन गरेर उनलाई ‘मेरो पनि जाने बेला भयो, तँसँग कुरा गर्नुछ, आइज’ भनेका थिए । व्यस्त कृष्णराजले बुबाको कुरा पत्याएनन्, ‘आमालाई ठीक पारेर मात्र आउँछु’ भन्ने जवाफ दिए । आमालाई निको पार्ने प्रयासमा रहेका उनले आमा गुमाए । पोखरास्थित घरमा आमाको काजकिरिया सुरु भयो । बुबा यदुराज लामिछानेसँग घरमै पुगे पनि भेट भएको थिएन, कुरा हुन पाएको थिएन । किरियापुत्री भएको बेला किन भेट्नु, बुबालाई एक्लै छाडिदिऊ भन्ने सन्तानको सल्लाह भएरै यदुराजलाई घरको चौथो तल्लामा बस्ने व्यवस्था मिलाइएको थियो । आमाको काम सकेर बुबासँग गफिने योजना थियो कृष्णराजको । तर उनलाई के थाहा बुबाले फोनमा भनेका कुराहरु यथार्थतमा परिणत हुँदैछन् भन्ने कुरा ।

आमाको किरियामा बसेको ३ दिनमै उनका बुबा यदुराजले पनि संसार छाडे । ‘मेरो जीवनको सबैभन्दा ठूलो भूल नै यही भएको जस्तो लाग्छ मलाई हिजोआज ।’ उनले दुवै अभिभावक गुमाएको पीडादायक क्षण सम्झिदै बिजशालासँग भने–‘सायद मैले बुबाले भनेको बेला उहाँलाई भेट्न जानुपथ्र्यो, उहाँको कुरा सुनिदिनुपथ्र्यो ।’ 

आमा जिवित हुञ्जेल लामिछानेले माता तीर्थ औंशीको दिन आफ्नी आमालाई कहिल्यै खालि हात पारेनन् । भ्याएसम्म आफैँ पोखरा पुग्थे र आमालाई भेट्थे । भ्याउँदै नभ्याउने अवस्थामा समेत कुनै कर्मचारीलाई अह्राएर पछ्यौरा, साडी वा आवश्यक वस्तु उपहारको रुपमा पठाइदिन्थे । मीठा मीठा खानेकुरा, आमालाई मनपर्ने मिष्ठान्न समेत पठाइदिन्थे । ‘आमाबुबाको महत्व जिवित हुँदा भन्दा स्वर्गीय भइसकेपछि बढी महसुस हुँदो रहेछ ।’ मातातीर्थ औंशीको दिन आमाको यादहरुमा डूब्दै गफिएका उनले भने–‘आमा र बुबा भन्दा महत्वपूर्ण चिज तथा सम्बन्ध यो संसारमा अरु केही होइन रहेछ, मलाई अनुभूत हुन्छ हिजोआज ।’ उनले अहिलेको व्यस्त दुनियाँमा काम, व्यवसाय वा पैसा कमाउने नाममा सन्तानले आमाबुबालाई समय दिन नसकेका र यसले आमाबुबाको चित्त दुख्ने गरेको बताए । ‘आमाबुबाले सन्तानबाट सम्पत्ति वा अन्य सुखसुविधा होइन, समय र सामीप्यता खोज्नु हुँदो रहेछ ।’ रुञ्चे स्वरमा कृष्णराजले भने–‘म सबै छोराछोरीलाई बिन्ती गर्छु, आमाबुबालाई सक्दो समय दिनुस् । मलाई बेलैमा कसैले यो शिक्षा दिएन र आज पछुताइरहेको छु ।’ 

आफू ०५२ सालदेखि नै जागिरको सिलसिलामा घरबाहिरै रहने गरेको र आमाबुबासँग निकै कम भेट हुने गरेकामा अहिले ग्लानी हुन्छ कृष्णराजलाई । ‘राम्रै छोराछोरी पनि खान दिएकै छु, लाउन दिएकै छु, बिरामी पर्दा हेरेकै छु भनेर आमाबुबालाई समय दिंदैनन् ।’ उनले थपे–‘तर आमा बुबाले बूढेसकालमा सन्तानको सामीप्यता चाहनुहुँदो रहेछ, कम्तीमा दैनिक एकघण्टा मात्रै भए पनि उहाँहरुसँग बसेर गफ गरिदिनुपर्ने रहेछ, उहाँहरुको कुरा सुनिदिने र आफ्नो कुरा पनि खुलस्त भन्नुपर्ने रहेछ ।’ 

लामिछानेले आमाबुबा नै गुमाएपछिका वर्षहरुमा आउने आमाको मुख हेर्ने दिन मात्र होइन, हरेक दिन बिहान उठेर सुरुमा आमाबुबाको फोटोको पूजा गर्छन र हरेक दिन पितृको नाममा तर्पण दिने गरेका छन् । ‘माता तीर्थको औंशीको दिन कहीँ जाँन्न ।’ उनले थपे–‘बिहानै पितृलाई तर्पण दिएर आमालाई बढी मिस गर्छु, उहाँसँगको स्वर्णिम र स्वर्गीय पलहरु सम्झन्छु र आफ्नो नियमित काममा लाग्छु ।’ 

‘आमालाई खोजेँ, भेटिँन अनि बेस्सरी रोएँ’

किशोर महर्जन, सीइओ सिभिल बैंक लिमीटेड


यसपटकको मातातीर्थ औंशी सबैभन्दा खल्लो कसैलाई भयो भने त्यो पात्र किशोर महर्जन हुनसक्छन । सिभिल बैंकका कार्यकारी अधिकृत महर्जनले आमा गुमाएको, ममताको खानी गुमाएको १० महिना मात्र हुँदैछ । उनकी आमा ७६ वर्षीया धनलक्ष्मी महर्जन क्यान्सरका कारण दिवंगत भएकी थिइन् १० महिनाअघि । ३ दाजुभाई र १ दिदीबहिनीले आमालाई बचाउने धेरै प्रयास गरेका थिए । क्यान्सरको पहिलो र दोश्रो स्टेज निको पारिएको थियो । तर धनलक्ष्मीका लागि तेश्रो स्टेज अभिसाप साबित भयो र तेश्रो स्टेजको पीडा सहन नसकेर उनले संसारबाट विदा लिइन । ‘भूकम्पका कारण समेत भनेजस्तो उपचार गर्न सकिएन, डिस्टर्ब भयो ।’ महर्जन सम्झन्छन्–‘हामीलाई संसार देखाउने देवता, हाम्री आमा विदा हुनुभयो ।’ 
सीइओ महर्जनका अनुसार यो वर्षको मातातीर्थ औंशी निकै पीडादायी बनेको छ । ‘मैले कुनै पनि माता तीर्थ औंशी छुटाइँन, हरेक पटक म जहाँ भए पनि आमाका लागि उपस्थित हुन्थेँ ।’ ताजा विगत सम्झदै भक्कानिएको स्वरमा महर्जनले बिजशालासँग भने–‘आमालाई उपहार लगिदिन्थेँ, मीठो मीठो खानेकुरा लगिदिन्थेँ, अब त सबै सकिएछ, संसार नै डूबेछ जस्तो लागेको छ ।’ शुक्रबार बिहानै उठेर उनले विगत सम्झिए, पीडा भयो, आमालाई सम्झिए, उहाँसँग बिताएका यसअघिका हरेक मातातीर्थ औंशी र आमाको मुहारमा छल्कने खुशी समेत सम्झिए उनले । ‘आमा बित्नु जस्तो ठूलो चोट सन्तानलाई अरु केही नहुँदो रहेछ ।’ उनले भने–‘बिहान उठ्ने बित्तिकै आमालाई भेट्ने र ढोग्ने चलन थियो, यसपटक रोएरै बित्यो बिहानी, आमाको सम्झनामा ।’ 
तीन छोरामध्ये महर्जनका २ भाई अमेरिकामा छन् । आमा धनलक्ष्मी उनैसँग बस्थिन् । मातातीर्थ औंशीको दिन बिहान सामान्य नै भए पनि बेलुका चेलीबेटी, नातागोतालाई घरमै बोलाएर सामूहिक रुपमा मीठो मसिनो खाने, रमाइलो गर्ने, आमालाई रमाइलो गराउने चलन थियो । ‘अब त यी सारा कुराहरु पीडादायी विगत बनिसकेछन् ।’ तन्द्राबाट बिउझिए झै महर्जनले भने–‘मलाई त अझै पत्यार लाग्दैन आमाले हामीलाई छाड्नु भएको कुरा । होइन जस्तो लाग्छ, आमाको कोठामा पुग्छु, देख्दिँन अनि झसंग हुन्छु र सम्झन्छु हाम्री जीवनको ज्योति सायद माथिबाट हामीलाई आशिर्वाद दिइरहेकी होलिन् ।’ 
उनले देशका तमाम सन्तानहरुलाई आमाप्रतिको भक्तिभाव बढाइराख्न, आमाप्रतिको श्रद्धा जोगाइराख्न र आमालाई खुशी बनाउन आग्रह गरे । ‘अरुबेला कहिले कहाँ भइएला, व्यस्त भइएला, यो दिन कम्तीमा आमालाई समय दिनुहोस् ।’ उनले भने–‘आमाजस्तो महत्वपूर्ण सम्बन्ध अरु केही नहुँदो रहेछ, एकपटक गुमेपछि मात्र धेरै अनुभूत हुँदो रहेछ आमाको महत्व ।’