काठमाण्डौ । सरकारले बजेटमार्फत आयकर तथा मूल्य अभिवृद्धि कर नबुझाउने, विवरण नबुझाउनेहरुका लागि समेत बम्पर प्याकेज सार्वजनिक गरेको छ । 

सरकारले केही वर्षअघिदेखि आयकर नबुझाउनेलाई बुझाउन आएमा शुल्क तथा ब्याज मिनाहा, स्थायी लेखा नम्बर लिएर विवरण नबुझाउने, विवरण अनुसार आयकर नबुझाउने तथा त्यसमा लाग्ने थप दस्तुर, शुल्क, ब्याज र जरीवाना मिनाहाको बम्पर प्याकेज ल्याएको हो। 

आर्थिक विधेयकमार्फत सरकारले कुनै पनि व्यक्तिले विगतमा कर लाग्ने आय आर्जन गरेको, तर त्यसरी आर्जित आयमा कर नबुझाएको भए त्यस्तो व्यक्तिले स्थायी लेखा नम्बर लिई आर्थिक वर्ष २०७४/७५  र २०७५/७६ को बुझाउनुपर्ने आय विवरण र सोमा लाग्ने कर सम्वत २०७७ साल फागुन मसान्तसम्म बुझाएमा सो बापत लाग्ने शुल्क तथा ब्याज मिनाहा हुने प्रष्ट्याएको छ । 

यसरी आय विवरण र कर बुझाएमा सोभन्दा अघिका वर्षहरुको आय विवरण र सोमा लाग्ने कर, शुल्क तथा ब्याज समेत बुझाउनु पर्नेछैन । 

यस्तै, स्थायी लेखानम्बर लिई आय विवरण पेश नगर्ने वार्षिक पचास लाख रुपैयाँसम्मको कारोबार गर्ने प्राकृतिक व्यक्तिले आर्थिक वर्ष २०७३/७४, २०७४/७५ र २०७५/७६ को आय विवरण, सो आय विवरण अनुसारको आयकर र सोमा लाग्ने ब्याजको पच्चीस प्रतिशतले हुने रकम सम्वत २०७७ साल फागुन मसान्तसम्म बुझाएमा सोभन्दा अघिका वर्षहरुको आय विवरण पेश गर्नुपर्ने छैन । र, त्यस्तो आयमा लाग्ने कर, शुल्क तथा बाँकी ब्याज समेत मिनाहा हुने अर्थ मन्त्रालयले जनाएको छ। 

यस्तै, स्थायी लेखा नम्बर लिई आर्थिक वर्ष २०७३/७४  वा सोभन्दा अघिको आय विवरण पेश नगर्ने वार्षिक ५० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्ने प्राकृतिक व्यक्ति वा निकायले आय विवरण, सो आय विवरण अनुसारको आयकर र सोमा लाग्ने ब्याजको २५ प्रतिशतले हुने रकम सम्वत् २०७७ साल फागुन मसान्तसम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा बाँकी ब्याज समेत मिनाहा हुने बताइएको छ । 

यस्तै, २०७५ साल असार मसान्तसम्मको मूल्य अभिवृद्धि कर विवरण पेश नगर्ने मूल्य अभिवृद्धि करमा दर्ता भएका कुनै पनि करदाताले आफूले बुझाउनुपर्ने कर विवरण, सो कर विवरण अनुसारको मूल्य अभिवृद्धि कर र सोमा लाग्ने ब्याजको  ५० प्रतिशतले हुने रकम २०७७ साल फागुन मसान्तभित्र बुझाएमा सोमा लाग्ने जरीवाना, थप दस्तुर तथा बाँकी ब्याज समेत मिनाहा हुने स्किम सार्वजनिक गरिएको छ । 

यसरी आगामी फागुन मसान्तभित्र मूल्य अभिवृद्धि कर विवरण पेश नगर्ने करदातामध्ये २०७३ साल असारसम्मको कर विवरण पेश नगर्ने करदाताको दर्ता स्वतः  खारेज गरिने प्रष्ट्याइएको छ । 

अन्य खालका कर छुट तथा ब्याज मिनाहाको व्यवस्था हेुर्नहोस्: