काठमाण्डौ । आयल निगमले तेल भण्डारणका लागि देशका विभिन्न क्षेत्रमा खरीद गरेको वा खरीद गर्न लागेको जग्गामा करोडौं भ्रष्टाचार भएको खबरहरु सार्वजनिक भएसँगै दवाबमा परेको अख्तियारको टोली निगमका प्रबन्ध निर्देशक गोपाल खड्काकालाई पक्राउ नगरी फर्किएको छ । 

अख्तियारस्थित स्रोतका अनुसार मंगलबार अपरान्ह बबरमहलस्थित आयल निगममा पुुगेको अख्तियार टोलीले प्रबन्ध निर्देशक खड्कालाई उनकै कार्यकक्षमा २ घण्टा सोधपुुछ गरेको थियो । 
त्यसपछि जग्गा खरीद सम्बन्धी आवश्यक सबै फाइल जफत गरी टोली फर्किएको बताइएको छ । 
खड्कालाई पक्राउ गर्न भन्दै पठाइएको टोली उनलाई भेटेपछि फाइल मात्र लिएर किन फर्कियो भन्ने बिषयमा अख्तियार स्रोतबाट केही कुरा पनि खुलाइएको छैन । 

विगत केही दिनदेखि आयल निगमले देशका ७ प्रदेशमा तेल भण्डारणका लागि जग्गा खरीदमा भूमाफियासँग मिली २० करोड भन्दा बढी भ्रष्टाचार गरेको भन्दै सो सम्बन्धी खुलासा भएको थियो । जग्गा खरीद प्रकरणमा दीपक मल्होत्रा, रामेश्वर थापाजस्ता प्रतिष्ठित व्यवसायीहरुको समेत संलग्नता रहेको आरोप लाग्दै आएको छ । उनीहरुले आफ्ना छोराहरुको नाममा जग्गा खरीद गरी निगमसँग सेटिङ मिलाएर करोडौं कमिसन लिएका आरोप लाग्ने गरेको हो । 

राज्य संयन्त्रसम्म पहुँच भएका ठूला व्यापारीसँगको मिलेमतोमा खड्काले करोडौं भ्रष्टाचार गरेका आरोप लगाइएसँगै अख्तियारमा रहेका उनका आफन्त कर्मचारीका कारण उनलाई कारबाही नहुने आशंका समेत व्यक्त हुने गरेको छ । सबैतिर सेटिङ मिलाउने समूहको संलग्नता रहेकोले यो प्रकरणलाई कुनै प्रायोजित मोड दिन मात्रै त अख्तियारको टोली निगम पुुगेको होइन भन्ने शंका समेत उब्जिएको छ ।